Comments Add Comment
संगीत सम्वाद :

‘संगीतको भाषा हुँदैन, अमेरिकीहरू पानको पातमा नाच्छन्’

२४ फागुन, अमेरिका । नेपाली लोक गायनका हस्ती प्रेमराजा महत तनहुँमा जन्मे, काठमाडौंमा केही दशक आफ्नो गायकीलाई शिखरमा पुर्‍याए अनि अमेरिका पसे । अहिले उनले बाल्टिमोरलाई आफ्नो कर्मथलो बनाएका छन् । बाल्टिमोरलाई अमेरिकामा रहने नेपाली कलाकारहरुको राजधानी नै बनाएका छन् ।

साहित्य, कला, संगीत सबै क्षेत्रका प्रतिभाहरु नेपाल छाडेर विदेशमा बस्न थालेपछि आफ्नो करियरलाई निरन्तरता दिने कमै छन् । ती कममध्येका एक प्रतिभा हुन् लोक गायक प्रेमराजा महत ।

सन् २००३ नोभेम्वरमा अमेरिकाको प्रतिष्ठित रेडियो एनपीआर अर्थात् नेशनल पब्लिक रेडियोका स्टिभ ईन्सकिपले महतलाई काठमाडौंका बब डिलन तथा हिमालयका एल्भिस भन्ने उपनाम दिएका थिए ।

महत अमेरिकाको मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका लागि नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत पनि हुन् । उनले केही बर्षदेखि बाल्टिमोर मेरिल्याण्डमा नेपाल हाउस नामक नेपाली रेष्टुराँ पनि चलाइरहेका छन् ।

प्रस्तुत छ, लोक गायक महतसँग अनलाइनखबरका लागि गोविन्द गिरी प्रेरणाले गरेको कुराकानी–

पहिलो गीत कति वर्षको उमेरमा गाउनुभएको थियो, याद छ ?

सात वर्षको हुँदा गाएको । गाउँको स्कुलमा, ठाउँठाउँमा गीत गाउने गर्थें ।

रेडियोमा चाहिँ पहिलोपल्ट कहिले गाउनुभयो ?

२०३६ सालमा ।

पहिलो गीत कुन थियो, सम्झना छ ?

‘तारा खसेको

हाई माया कसरी बिर्सुं

सँगै बसेको ।’

यो लोकगीत त्यसबेला धेरै चल्यो ।

पहिलो रेकर्डिङ ?

पहिलो रेकर्डिङ पनि त्यही ०३६/३७ मै भयो । त्यतिखेर चौतारी सौतारीमा गाइन्थ्यो । रेकर्डिङको सिलसिला पनि त्यतिबेलैदेखि शुरु भयो ।

०३६ सालदेखि अहिलेसम्म कति एल्बम प्रकाशित भए होला ?

५९ वटा प्रकाशित भए । यी एल्बमहरु कुनै सिंगल छन्, कुनै दोहोरी छन् त कुनै सामूहिक छन् । यीमध्ये ३० वटा जति एकल होलान् । अब आउने एल्बमचाहिँ ६० औं हो । अहिले म त्यसैमा लागिपरेको छु ।

गीत गाउने सिलसिलामा नेपाल बाहिर कहिले निस्कनुभयो ?

गीतै गाउन विदेश यात्रा गरेको भने सन् १९८९ मा बेलायतमा हो । बेलायतमा बस्ने नेपाली समुदायले कार्यक्रमका लागि निम्ता गरेकाले म गएको थिएँ । त्यहाँ नेपालीहरुको एउटा कार्यक्रम रहेछ, उनीहरुले बोलाए । यसरी सन् १९८९ देखि गीत गाउन विदेश हिँड्न थालें ।

कतिवटा देश पुग्नुभयो ?

गीत नै गाउनका लागि त २० वटा जति देश गएँ हुँला । घुम्न त धेरै देश घुमें । तर, गीत गाउन निम्तो पाएर गएका देशहरु भने बेलायत, बेल्जियम, जर्मनी, जापान, अष्ट्रेलिया, मकाउ, आयरल्याण्ड, स्कटल्याण्ड आदि प्रमुख देशहरु हुन् ।

यसरी विदेशमा गाउनकै लागि जाँदाका कुनै अविस्मरणीय घटना पनि छन् ?

बाहिर जाँदा जहिले पनि घटना त स्मरणीय नै हुने भयो नि । कहिले भव्य सोचेर गएको ठाउँमा ठिकै भएका पनि छन् । कति ठाउँमा सामान्य ठानेर गएका बेला भव्य भएका पनि छन् ।

तर, जहाँ–जहाँ पुगें, ती सबै नै मलाई अविस्मरणीय लाग्छन् । बेलायतमा चाहिँ मैले गाएको गीतमा तत्कालीन युवराज दीपेन्द्र रातभरि नाचेको, गाएको अविस्मरणीय लाग्छ । एउटा आर्मीको कार्यक्रममा मैले गीत गाएको थिएँ । दीपेन्द्र नाच्नुभयो । पानको पात गीत मसँगसँगै गाउनुभयो । त्यो चाहिँ मेरा लागि अविस्मरणीय घटना भएको छ ।

नेपालमै बसेर देश विदेशमा गीत गाउने मान्छे, विदेशै बस्छु भन्ने सोच कसरी आयो ?

मेरो सोच नै थिएन । गाउने सिलसिलामा अनेक संघर्ष गरियो । शुरुमा रेडियो नेपालमा गीत गाउनु नै एउटा सपना थियो । कलाकार भएपछि रेडियो नेपाल जानुपर्छ, त्यहाँ नाम आउनुपर्छ भन्ने लाग्थ्यो । ६ महिना, बर्ष दिनमा एउटा गीत गाउन पाइन्थ्यो ।

बाहिर रेकर्डिङहरु थिएनन् । त्यसकारण रेडियोको ठूलो महत्व थियो । ‘अब सुन्नुहोस् प्रेमराजा महतको स्वर’ भनेपछि करोडौंले सुनेकै हुन्थे । पछि म त्यही रेडियो नेपालमै गीत–संगीतको प्रबन्धक हुन पुगें । पाँचवटै क्षेत्रको लोकगीतको प्रमुख भएर बसें ।

बाहिर गाउनका लागि निम्ताहरु आइरहन्थे । निम्ताको सिलसिलामै हिँड्दाहिँड्दै अमेरिकामा पनि मेरो एउटा शो थियो, त्यो शोमा आउँदा अमेरिकाका धेरै ठाउँबाट मेरो गीत सुन्नका लागि माग भयो । सन् १९९६ मा त्यतिबेला नेपाली कलाकारहरु खासै आइसकेका थिएनन् । म त्यसबेला ३०/४० वटा स्टेटमा घुमें । त्यही सिलसिलामा साथीभाइले छोराछोरीको पढाइका लागि यहीँ बस्नु राम्रो हुन्छ भन्ने सल्लाह दिए । त्यसपछि यहाँ बस्ने र ग्रिनकार्ड लिने सिलसिला शुरु भयो ।

खासमा बस्ने भनेर आएको थिइनँ । तर, बस्ने वातावरण भएपछि मैले फेरि सोचें, संसार विश्वग्राम, ग्लोवल भिलेज हो । अब नेपालमा पनि गर्ने, यहाँ पनि गर्ने ।

नेपाल छाडेर यता बस्दा आफ्नो गायन अघि नबढेको, नेपालमा भए धेरै गर्न सक्ने थिएँ भनेर नेपाललाई मिस भएन ?

भएन वास्तवमा । हुन त नेपालमा मलाई यहाँ बस्नुभएको भए कति गर्नुहुन्थ्यो भन्ने साथीहरु पनि छन् । तर, म यहाँ अमेरिका आइसकेपछि १०/१२ भोल्युम एल्बम निकालिसकें । ती राम्रा भए र हिट पनि भए ।

यो मेरो सिर्जना जहाँ गए पनि मर्दैन । गाडीमा गुडिरहँदा पनि म सिर्जना गरिरहेको हुन्छु । सारंगी, मादल र हार्माेनियम मेरो कोठामा २४ सै घण्टा स्ट्याण्डबाई हुन्छ । खाली भयो कि बजाइहाल्ने हो । कला संगीतलाई अघि बढाउने हो । अहिले पछिल्लो समय त अमेरिकनहरुले पनि माग गर्न थाले ।

अमेरिकनहरुले के कस्तो माग गर्छन् ?

जस्तो– यहाँको रेडियोले, यहाँको एनपीआर अर्थात् नेशनल पब्लिक रेडियोले, यहाँ बाल्टिमोरका लोकल रेडियोहरुले एकदम प्रमोशन गर्न थाले मेरो ।

अमेरिकनहरुले पनि बोलाउन थालेपछि म लगभग यहाँ पनि व्यस्त नै छु । हरेक महिनाजस्तो मुख्य–मुख्य एक–दुईटा शो हुन्छ । म गीत संगीतबाट बाहिर कहिल्यै पनि बसेको छैन ।

एनपीआरले ‘बब डिलन अफ काठमाण्डौं’ भन्दा कस्तो लाग्यो ?

मेरा गीतहरुको खोजी गरेर, मेरा गीतहरु सुनेर, हेरेर नेशनल पब्लिक रेडियोले मेरो नेपालदेखिको सर्च गरेछ ।

एसोसियट प्रेस एपीले मेरो गाउँमा समेत सिडिओ लगायत गाउँका आधिकारिक मान्छेहरुसँग बुझेर, अध्ययन गरेर मैले गाउँमा जो गन्धर्बहरुसँग गीत गाउन सिकें, त्यहाँबाट समेत जानकारी लिएर विश्वब्यापी बनायो । अनि उनीहरुले नै मलाई ‘एल्भिस अफ हिमालायज’ र ‘बब डिलन अफ काठमाण्डू’ भन्ने टाइटल दिएका हुन् ।

एनपीआरको स्टुडियोको वालमा अहिले पनि लेखेर राखेको छ । त्यो रोचक कुरा छ । म पनि त्यो सब देखेर छक्क परेको थिएँ ।

तपाईसँग यो अन्तरवार्ता लिइरहँदा एकजना नेपाली प्रतिभा विदेशी अमेरिकन आइडलमा हलिउडका लागि छानिएका छन् । यता तपाईं आफ्नो लोकगीतमै रमाउनुभएको छ, अमेरिकी वा अंग्रेजी गीततर्फ किन लाग्नुभएन ?

म त नेपाली नै हुँ नि । फेरि, संगीत त संसारमा सबैले बुझिहाल्छन् । संगीतको देश र भाषा हुँदैन । अमेरिकनहरु यति संगीतप्रेमी छन् कि मेरो पानको पात गीतमै त्यही भाकामा गाउँदा पनि खुशी भएर नाचिदिन्छन् । कत्ति रोचक कुरा छ ।

६ महिनाअघि ५० राज्यबाट ८० जना लोक संगीत विषयका अध्यक्षहरु मलाई भेट्न आए । त्यो मेरा लागि ठूलो सम्मान हो मैले जीवनमा पाएको ।

वाशिंटन डिसीमा रहेछ उनीहरुको सम्मेलन । एकदिनको सम्मेलन नेपाल हाउसमा आएर गरे । नेपाली गायकलाई भेट्ने भनेर कार्यक्रम राखे । रातभरि बसे । मेरा गीतहरु सुने । अनि मेरो रेष्टुँरालाई दसौं हजारको ब्यापार पनि दिएर गए ।

भनौं, कसै न कसै गरी म नेपाली गीत–संगीतसँगै जोडिएको छु र यसमै रमाएको छु । संसारमा संगीतका लागि भाषा चाहिँदैन । फेरि, म जहाँसुकै गाउन जाँदा पनि सबभन्दा पहिले पाँच मिनेट नेपाल र नेपाली झण्डाको विषयमा बोलेकै हुन्छु ।

तपाईलाई आफ्नो गायन यात्रामा कोही प्रतिस्पर्धी छ जस्तो अनुभव भयो कि भएन ?

मलाई भएन । हाम्रो पालामा त्यस्तो प्रतिस्पर्धी भन्ने नै हुँदैनथ्यो । लोकगीतमा हामी आउँदा धर्मराज थापा बुबाका पछाडिको पिँढी कुमार बस्नेत दाइहरु हुनुहुन्थ्यो । कुमार बस्नेत दाईहरु पछाडिका हामी राम थापा, म, बमबहादुर कार्की आदि धेरै छन् ।

हामीले जुन गायो, त्यही लोकप्रिय हुन्थ्यो । गाउने मान्छेहरु पनि धेरै थिएनन् । एल्बमहरु पनि धेरै निस्कँदैनथे । त्यसैले प्रतिस्पर्धीको अनुभव भएन । १०–२० बर्ष हिट नै भइयो । १० बर्ष त ननस्टप नम्वर वानमै रह्यौं जुन क्यासेट निकाले पनि ।

अनि नयाँ पुस्ताका भाइहरु आए, उनीहरुले गर्दै गए । त्यसमा चाहिँ हामी खुशी भयौं ।

शुरुमा गाउँदा म फलानोजस्तो गायक हुन्छु भन्ने सपना थियो ?

त्यो त हुन्थ्यो । बच्चा बेलामा धर्मराज थापा, कुमार बस्नेतजस्तो हुन मन लाग्थ्यो । कुमार बस्नेतका गीत सुनेर मान्छेहरुले हाई हाई गरेको देख्दा कुमार बस्नेतजस्तो हुन मन लाग्थ्यो ।

मेरो प्रेरणाका स्रोत त जनकविकेशरी धर्मराज थापा नै हुनुहुन्छ । मेरा बुवाका साथी । उहाँ हाम्रो घरमा आइरहने । उहाँ आउँदा घरमा सारा मान्छे जम्मा हुन्थे । उहाँको प्रभाव थियो ।

मेरो घरमा गाउने मान्छे कोही नभए पनि मेरा बुवा गाउँका महाजिम्मावाल, घरमा दुईटा गन्धर्वचाहिँ सूर्याेदयदेखि सूर्यास्तसम्म सारंगी बजाइरहन्थे । बुवाले न्याय निसाफ गर्ने, २०/५० जना मान्छे घरमा आउने–जाने भैरहने । सारंगी बजिरहने । त्यही सारंगीको धूनले नै मलाई कलाकार बन्ने प्रेरणा दिएको हो ।

तपाईंले नेशनल जिओेग्राफीमा अमेरिकनहरुसँग वाशिंटन डिसीमा सारंगी बजाएको अनि अरु कार्यक्रममा पनि बजाएको हामीलाई हेक्का छ, अहिले कस्तो छ उनीहरुसँग ?

उनीहरुसँग अहिले पनि निरन्तरता छ । बाल्टिमोरमा लोक संगीतको ठूलो कार्यक्रम भएको थियो । त्यो कार्यक्रममा पूरै अमेरिकाका १३ सय लोक कलाकार आएका थिए ।

त्यसमा मलाई आधा घण्टा गाउनका लागि बिशेष समय दिएका थिए । ठूलो महत्व दिएका थिए । त्यसमा आधा अमेरिकन आधा नेपाली भएको मेरो जुन टिम छ, हामीले ठेट नेपाली, ठेट अमेरिकन र मिश्रित गीतहरु प्रस्तुत गरेका थियौं । सुपर हिट भएको थियो त्यो अक्टोबर १६ मा ।

फेरि गत अक्टोवरमै २७ तारिखमा भर्जिनियाको फ्रेडरिक्सबर्गमा अवस्थित मेरी वाशिंटन विश्व विद्यालयमा पनि बेजोडको प्रस्तुति दिएका थियौं । अमेरिकनहरुले रुचि लिएका छन् । बोलाउने गरेका छन् ।

बाल्टिमोरमा तपाईको अहिले ‘नेपाल हाउस’ रेष्टुराँ व्यवसाय छ । पेन्सिलभेनिया तथा मेरिल्याण्डका लागि अवैतनिक महाबाणिज्यदूत पनि हुनुहुन्छ । यता गायन पनि छ । समयको व्यवस्थापन गर्न त साह्रो हुन्छ होला नि ?

यो त सब मनको कुरा हो । म नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत भए पनि संस्कृतिकै प्रवद्र्धनमा लागेको छु । नेपालको पर्यटन व्यवसायलाई सघाउ पुग्ने कुरामा मैले ध्यान पुर्‍याएको छु । नेपालको संस्कृतिलाई संसारभर पुर्‍याउन तथा पर्यटनमा सघाउ पुर्‍याउन काम गरिराखेको छु ।

मलाई यी दुबै कुरा मैले गर्ने महत्वपूर्ण काम हुन् भन्ने लागेर यसलाई बढी फोकस गरेको छु । नेपाल हाउस मेरो निजी व्यवसाय भए पनि त्यसैसँग सम्वन्धित छ । यसबाट पनि मैले नेपालको परिचय दिन खोजेको हो ।

पैसा कमाउने कुरा एकातिर छ, नेपाल हाउसमा पसेपछि नेपालै पसेजस्तो होस्, नेपालका दृश्यहरु देखुन् र अमेरिकाबाट नेपालमा मान्छेहरु जाउन् भन्ने मेरो इच्छा हो । यही नेपाल हाउसको कारणले ८०/८५ जना मान्छे मैले नेपाल लगिसकें । यहाँ नेपालको दृश्य देखेका कारणले ।

 

भिजिट नेपाल २०२० का लागि पनि २० जनाले नेपाल जानका लागि बुक गरिसकेका छन् । कलाकारिताका लागि ठाउँठाउँमा गाउन हिँडिरहन्छु । यी सबै गतिविधि एक–अर्कामा परिपूरक छन् ।

सबैले सधैं विदेशमा बस्ने नेपालीलाई सोध्ने प्रश्न गर्छन्, जीवनको बुढ्यौली समय अमेरिकामै बिताउनु हुन्छ कि नेपालमा ?

अहिलेसम्मको अवस्था हेर्दा ७०/८० प्रतिशत समय नेपालमा बिताउने र २०/३० प्रतिशत समय यता छोराछोरीसँग आएर बिताउने योजना छ । तर, त्यति हुँदाहुँदै पनि ५०/५० प्रतिशत हुने चाहिँ पक्कापक्की नै छ । अहिले पनि बर्षको ३/४ चोटि नेपालमा हुन्छु भनेदेखि त्यो सम्भव होला ।

फेरि, म पुनः पूर्णरुपमा १० बर्षजति संगीतमै फर्कने पनि ईच्छा छ । यता छोराछोरीहरु हुर्केर आ–आफ्नो खुट्टामा उभिने भइसकेका छन् । एक किसिमले अवकाश लिए पनि हुनेजस्तो भैसक्या छु । नेपाल हाउसका कारणले अलि बाँधिएको देखिएको हुँ ।

अन्त्यमा सोधौं, गीत संगीतको क्षेत्रमा लागेर पाएको उपलब्धि के हो भन्ने लाग्छ ?

पहिलो उपलब्धि भनेको आत्मसन्तुष्टि । योभन्दा ठूलो उपलब्धि अरु केही हुन सक्ने कुरै भएन । विश्वभरका नेपालीहरुले र अरुले पनि कलाकारका रुपमा चिन्छन्, यो पहिचान पनि उपलब्धि हो । यसमा खुशी लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment