Comments Add Comment

कोरोना प्रभावित देशको उडान किन रोकेन सरकारले ?

२४ फागुन, काठमाडौं । सरकार तत्कालै कोरोना प्रभावित देशसँगको हवाई सम्पर्क बन्द नगर्ने निश्कर्षमा पुगेको छ । कतिपयले यसलाई सरकारको जोखिम बढाउने निर्णय भनेका छन् । जोखिमको अवस्था हेरेर यस्तो उडान बन्द गर्नु लाभप्रद हुने उनीहरुको मत छ ।

तर, सरकारले भने यो निर्णय किन गरियो भनेर अझै सार्वजनिकरुपमा स्पष्ट गरेको छैन । छोटो समयको अध्ययनपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबार त्यस्ता प्रभावित देशसँग हवाई उडान रोकिहाल्नुपर्ने अवस्था नरहेको निश्कर्ष निकाल्दै सरकारलाई प्रतिवेदन बुझाएको थियो ।

त्यसअघि उच्च सरकारीस्तरमै प्रभावित देशहरुमा नेपालबाट सीधा उडान रोक्न प्रारम्भिकरुपमा छलफल भएको थियो । तर, अध्ययनपछि मात्रै यस्तो निर्णय गर्नुपर्ने भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्राधिकरणसँग सुझाव मागेको थियो । सिफारिस भने सरकारको तयारीभन्दा फरक आएपछि सरकार अहिले नै प्रभावित मुलुकमा आवागमन बन्द गर्ने योजना तत्कालका लागि टरेको छ ।

दुईदिनमै प्रतिवेदन बुझाएको प्राधिकरणले अन्तर्राष्ट्रिय अभ्यास, अवस्था र नियमहरुको अध्ययन गरेर निश्कर्ष निकालेको बताएको छ । जसमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डभित्र रहेर आवश्यकता अनुसार निर्णय लिनुपर्ने उल्लेख छ ।

नेपाल र सम्बन्धित मुलुकको स्वास्थ्य सतर्कता र संवेदनशीलता हेरेर यो निर्णय लिन सकिने प्राधिकरणको प्रतिवेदनमा उल्लेख छ । प्राधिकरणले प्रतिवेदनमा मुलुकभित्र कोरोनाको संक्रमित बिरामी पुष्टि नभएका कारण तत्कालै उडान-अवतरण रोक्नपर्ने अवस्था नरहेको सझुाव दिएको छ ।

यो सिफारिसपछि सरकारलाई भ्रमण वर्ष २०२० पनि स्थगित गर्ने कि नगर्ने भन्ने टुंगोमा पुग्न कठीन भएको छ ।

किन नरोक्ने उडान ?

प्राधिकरणका एक अधिकारी नेपाल प्रभावित भइनसकेको अवस्थामा यसरी उडान रोक्नु अन्तर्राष्ट्रिय मान्यता विपरित हुने बताउँछन् । ती अधिकारीका अनुसार सकेसम्म वैदेशिक भ्रमण र यात्राहरुलाई निरुत्साहित गर्ने, विमानस्थलमा स्वास्थ्य चेकजाँचलाई प्रभावकारी बनाउने र प्रभावित देश भएर फर्किएकाहरुलाई पनि निगरानीमा राख्ने विषयमा ध्यान दिँदा पर्याप्त हुन्छ ।
विश्व स्वास्थ्य संगठनले नै अन्तर्राष्ट्रिय आवागमन रोक्दा त्यसले झनै समस्या ल्याउने औल्याएको तर्क प्राधिकरणको प्रतिवेदनमा छ ।

‘उडान रोक्दा यात्रुले झन अवैध र जोखिमपूर्ण मार्ग प्रयोग गर्ने खतरा हुन्छ,’ ती अधिकारीले भने,’वैधानिक बाटोबाटै आउन दिएर यात्रुमाथि कडा जाँच गर्नुपर्छ भन्ने डब्लुएचओको सिद्धान्तलाई हेरेर हामीले उडान नरोक्न भनेका हौं ।’
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उच्च स्वास्थ्य सतर्कता अपानाइएकाले उडान नै बन्द गरेर थप जोखिम निम्त्याउन नहुने निश्कर्षमा प्राधिकरण पुगेको हो ।

नेपालमा कोरोना अतिप्रभावित ५ देशका पर्यटकलाई आगामी १० तारिकबाट ‘अनएराइभल भिसा’ बन्द गरिँदैछ । चीन, जापान, कोरिया, इटाली, दक्षिण कोरिया र इरानबाट आउने पर्यटकले अब निरोगिताको प्रमाणपत्र पेश गरेपछि मात्रै सम्बन्धित देशको नेपाली दूतावासबाट भिसा पाउनेछन् ।

अहिले त्रिभुवन विमानस्थलमा आउने र जाने दुबै कक्षमा यात्रुको स्वास्थ्य चेक जाँच गरिँदैछ । साथै सरकारले अत्यावश्यक नपरेसम्म विदेश भ्रमणमा नजान आह्वान गरेको छ ।

विज्ञको सहमति

यस्तो अवस्थामा कुनै देशसँग उडान बन्द नै गर्दा त्यसले थप क्षति र जोखिम निम्त्याउने विज्ञहरु बताउँछन् ।

प्राधिकरणका अुसार हप्तामा ५० वटाभन्दा बढी भइरहेको चीनसँगको उडान हाल हप्तामा ८ वटामा झरेको छ । जोखिम बढ्दै गए यात्रु आफैं यात्राबाट निरुत्साहित हुने भएकाले सरकारले सीधै जबरजस्ती उडान बन्द गर्ने निर्णय लिन नहुने तर्क विज्ञको पनि छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गाैतम प्राधिकरणले गरेको सिफारिस अहिलेको अवस्थामा सान्र्दभिक रहेको बताउँछन् । ‘उड्डयन क्षेत्रले यस्तो महामारी फैलिने जोखिमको समयमा डब्ल्युएचओलाई नै पछ्याउने हो,’ उनी भन्छन्, ‘विमानस्थलमा सतर्कता बढाउने हो, प्रभावित देशबाट आएका यात्रुलाई निगरानी गर्ने हो, आवागमन बन्द गरेर समस्या समाधान हुँदैन ।’

विभिन्न देशहरुले प्रभावित देशबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखेर मात्रै बाहिर जान दिएको उदाहरण दिँदै गाैतमले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । ‘हिजो मार्स र इबोला फैलिँदा पनि हामीले विमानस्थलमा सतकता बढाएका थियौं,’ उनले भने,’उड्डयनमा डब्ल्युएचओले तोकेका मापदण्डहरु पूरा गरेका थियांै, अहिले पनि हामी त्यही बाटोमा जानुपर्छ ।’

अन्तर्राष्ट्रिय यात्रुका लागि के भनेको छ डब्ल्युएचओले ?

अन्तर्राष्ट्रिय आवागमनका लागि सिफारिसहरू

· सामान्यतया स्वास्थ्य सङ्कटका बेला मानिस तथा मालसामानको स्थानान्तरणमा रोक लगाउनु प्रभावकारी नहुने र तिनको नकारात्मक सामाजिक तथा आर्थिक प्रभाव देखा पर्ने पुष्टि भए पनि कतिपय अवस्थामा अस्थायीरूपमा यस्ता रोकावटहरू उपयोगी हुन सक्छ ।

· महामारीको सुरुवातमा सम्बन्धित देशहरूलाई तयारीको समय उपलब्ध गराउन मात्र यात्रा सम्बन्धी यस्ता उपायहरूको औचित्य पुष्टि हुनेÙ सचेत जोखिम मूल्याङ्कनपछि मात्र छोटो समयका लागि यस्तो रोकावट लागू गर्न सकिन्छ ।

· सङ्क्रमित व्यक्ति सुरुवाती चरणमा रहेको हुन सक्ने, सुरुमा रोगका लक्षण नदेखिन पनि सक्ने वा अन्य कारणले ज्वरो देखिन सक्ने भएकाले प्रस्थान तथा आगमन विन्दुमा तापक्रम नाप्नु मात्र रोगको अन्तर्राष्ट्रिय फैलावटका लागि प्रभावकारी हुँदैन ।

अन्तर्राष्ट्रिय यात्रुहरूका लागि सिफारिसहरू

· अस्वस्थ, वृद्धावस्थाका वा दीर्घरोगी यात्रुले प्रभावित क्षेत्रमा यात्रा नगर्ने वा स्थगित गर्ने ।

· व्यक्तिगत सफाइमा ध्यान दिने एवं लक्षण देखिएका व्यक्तिबाट कम्तिमा एक मिटर टाढा रहने ।

· साबुनपानी वा अल्कोहलमा आधारित हात पुछ्ने, कागजले हात सफा गर्ने ।

· खोक्दा वा हाछ्युँ गर्दा नाक मुख छोप्ने, छोप्न प्रयोग गरिएको कागज फालिहाल्ने र हात धुने ।

· हातले मुख तथा नाक नछुने ।

· लक्षण नदेखिएको अवस्थामा मेडिकल मास्क नभए पनि हुने, कुनै प्रकारको मास्कले पनि बिरामी नभएको व्यक्तिलाई बचाउँछ भन्ने प्रमाण छैन । कतिपय संस्कृतिमा मास्क लगाउने चलन छ भने सही तरिकाले लगाउने, हटाउने तथा फाल्ने ।

· खाद्य सफाइमा ध्यान दिने ।

· प्रभावित क्षेत्रबाट फर्किएका यात्रुले १४ दिनसम्म आफ्नो निगरानी गर्ने, सम्बन्धित देशको राष्ट्रिय कानुन मान्ने । लक्षण देखिएमा स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने र आफ्ना लक्षण एवं विगतमा गरिएको यात्राको जानकारी दिने ।

· यससँग सम्बन्धित अन्य नियम तथा सुझावहरूको पालना गर्ने ।
सबै देशहरूलाई सामान्य सिफारिस

· ज्वरो र निमोनियाजस्ता लक्षण देखिने रोगहरू अनौठो तरिकाले फैलिए भने निगरानी राख्ने, कोभिड-१९ बारे जनचेतना बढाउने, रोगलाई घृणा वा विभेदको आधार बन्नबाट रोक्ने ।

· अन्तर्राष्ट्रिय आवागमन तथा व्यापारमा अनावश्यक हस्तक्षेप नगरीकन अन्तर्राष्ट्रिय स्वास्थ्य नियमहरूको पालना गर्ने ।

· अवलम्बन गरिएका उपायहरूबारे डब्ल्युएचओलाई खबर गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment