८ असोज, काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । दुई पटक मन्त्रिपरिषद् विस्तार भएको छ, जेनजीलाई प्रतिनिधित्व गराउने विषयमा समेत छलफल भइरहेको छ ।
जेनजी आन्दोलनमा सहभागी एक अगुवा युवा धिरज जोशीका अनुसार, सरकारबाहिर रहे पनि जेनजीले सडकबाट सरकारलाई खबरदारी गरिरहन्छन् । ‘हामीले यो कुरा प्रधानमन्त्रीज्यूलाई भेटेर समेत भनेका थियौं,’ उनी भन्छन् ।
जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएको परिस्थितिमा नेपाली सेनाको सहजीकरणमा जंगीअड्डामा भएको छलफलमा समेत जोशी सहभागी थिए । जोशीसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले मन्त्रिपरिषद् विस्तार, जेनजीका माग र योजनाबारे कुराकानी गरेका छन् ।
प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः
मन्त्रिपरिषद् विस्तारकै प्रसंगबाट कुराकानी सुरुवात् गरौं, धेरैले जेनजीको आन्दोलनबाट बनेको सरकारमा पुरानै पुस्ताका मानिसहरु सहभागी भए भनिरहेका छन् नि ?
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीज्यूलाई हामीले पहिल्यै भेटेर ६ महिनाभित्र चुनाव गराउने म्यान्डेट पूरा गर्न सहज महसुस हुने किसिमको मन्त्रिमण्डल बनाउनुस्, हामी सहयोग गर्छौं भनेका थियौं । त्यसबेलै हामीले प्रतिशत माग्ने वा अरु केही गर्दैनौं भनेका थियौं ।
आन्दोलनका हिसाबले हामी सडकमा रहन्छौँ, खबरदारीमै रहन्छौं भनेका थियौं । प्रधानमन्त्रीज्यूलाई आफ्नो क्याबिनेट छानेर सडकको म्यान्डेट पूरा गराउने पूर्ण अधिकार रहेको भनेका थियौं । त्यसपछि दुईपटक मन्त्रिपरिषद् विस्तार समेत भइसकेको छ ।
युवाको प्रतिनिधित्वको सवालमा उहाँ आफू पनि सजक हुनुहुन्छ । यद्यपि, हाम्रोतर्फबाट त्यस्तो कुनै पनि प्रेसर छैन । किनकि, तपाईं नै छान्नुस् भनेर दिइसक्यौं । युवाबाट छानेपनि तपाईं नै छान्नुस् । अनुभवी व्यक्ति र पहिला कुनै क्षेत्र विशेषमा काम गरेको अनुभवको आधारमा कोही व्यक्ति योग्य लाग्छ भने क्याबिनेटमा ल्याएर काम गराउन सक्नु हुन्छ भनेका थियौं ।
तर जेनजीले राखेका कतिपय विषयहरु फेरि पुरानै पुस्ताका व्यक्तिहरु भएको सरकारबाट कसरी पूरा होला भन्ने प्रश्न पनि छ नि ?
प्रतिनिधिमुलक रुपमा नेतृत्व गर्ने कुराको एउटा पक्ष भनेको ‘ब्युटिफिकेसन अफ क्याबिनेट’ पनि हो । यदी प्रधानमन्त्रीज्यूले चाहनु हुन्छ भने त्यो गर्ने नै सल्लाह दिन्छु । तर, त्यो दौडमा म चाहिँ अहिले छैन ।
प्रधानमन्त्री नै हामीले छानेको हो, उहाँलाई क्याबिनेट बनाउन भनेर पनि म्यान्डेट नै हामीले दिएपछि हाम्रो प्रतिनिधित्व भनेकै उहाँ हो ।
त्यसो भए पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै चाहिँ तपाईंहरुले प्रतिनिधि किन छान्नुभयो ?
पहिलो कुरा त्यो अवस्थामा देशलाई ठिक ढंगले अगाडि बढाउन सक्ने मान्छे चाहिएको थियो । त्यो को हुनसक्छ भनेर विभिन्न समूह, सामाजिक सञ्जाल प्लेटफर्ममा हामीले कुराकानी गर्यौं, छलफल गर्यौं । त्यसबेला अरु नामहरु पनि बाहिर आएका थिए । तर, बीचमा उहाँको नाम चाहिँ पूर्वप्रधानन्यायाधीशका हिसाबले राष्ट्रियदेखि अन्तराष्ट्रिय स्तरमा ख्याति पाएको व्यक्तिलाई अघि सार्दा ठिक हुन्छ भन्ने हिसाबले आएको हो ।
संकट व्यवस्थापनका लागि उहाँ जतिको विश्वासिलो मान्छे चाहिएको हो भन्ने हाम्रो निष्कर्ष थियो । उहाँ जत्तिको ओझ भएको र पहिलेदेखि नै भ्रष्टाचारविरोधी अभियानकै सदस्य हुनु भएकाले अहिले सडकको म्यान्डेटसँग उहाँको कुराका मेल खान गयो र प्रस्ताव गरिएको हो ।
अर्को कुरा प्रधानमन्त्रीज्यूको जुन स्वभाव पनि जेनजी फ्रेन्डली पनि छ । जेनजीलाई जस्तो चाहिने हो, त्यस्तो प्रधानमन्त्री उहाँ हो भन्ने भएपछि नाम टुंगो लागेको थियो ।
यो सरकारले जेनजीको चाहना अनुसार काम गर्छ त ?
यो सरकारसँग ६ महिनाको समय छ, अझ चाडपर्व, शनिबार, सार्वजनिक विदासमेत हटाएर हेर्ने हो भने समय कम छ । १२० दिनमा निर्वाचन आचारसंहिता लागिहाल्छ । त्यसैले यो मन्त्रिपरिषद्ले पूर्णरुपमा शक्ति अभ्यास गर्नसक्ने समय भनेको एक महिनाको रहन्छ ।
यो स्थितिमा देश फेरि अशान्त हुने, पुरानै गिरोह सल्बलाउने स्थिति बन्ने किसिमको निर्णय गरिहाल्नु भएको छैन । भलै त्यो पपुलर नदेखिन सक्छ । संयमतापूर्वक शालीन ढंगले देशलाई निर्वाचन सम्म डोर्याउनु पर्नेछ ।
यो बीचमा कुनै समूहले भन्यो भन्दैमा कसैलाई पक्राउ गरिहाल्ने स्थिति पनि छैन । भोलि त्यो अदालतमा पुष्टि गराउनुपर्ने स्थिति छ । त्यो भएन भने परिस्थिति झन् विग्रिन्छ । त्यसैले अहिले नयाँ प्रणाली बनाउनलाई फरक ढंगले काम गर्नुपर्ने छ ।

अहिले लोकप्रिय हुने किमिसका मात्र काम गर्दा तत्काललाई वाहवाही होला, तर त्यसो गरेर देशलाई फेरि अस्थितरताको चंगुलमा फसाउने काम गर्नु भएको छैन । सबैलाई विश्वासमा लिएर म्यान्टेड अनुसार यो सरकारले पहिले चुनाव गराउनुपर्छ भन्ने मलाई लाग्छ । सरकारको नैतिक जिम्मेवारी पनि त्यही हो ।
सबैलाई विश्वासमा लिएर चुनावमा जाने र अहिलेको म्यान्डेटलाई चुनावबाट सदर गराउने यो सरकारको नैतिक जिम्मेवारी पनि हो । अब यो ठिक थियो कि बेठिक भन्ने कुरा पनि निर्वाचनको ब्यालेटबक्सले भन्ने हो ।
यो सरकारको म्यान्डेट ६ महिनामा चुनाव गराउने हो भन्नुभयो, तपाईंको चाहिँ तयारी के छ ? नयाँ विकल्प कसरी दिनु हुन्छ ?
पहिले जनताको मतलाई विचौलियाको बाक्साभित्र राखेर सत्ता कब्जा भएको थियो । अहिले त्यो बाक्सा फुटेको छ । नेपाली जनताको मनमा पनि ठूलो घन्टी बजेको छ । उहाँहरुको मनमा परेकैले कारणले यो आन्दोलन सम्भव भएको हो ।
जतिसुकै घनघोर निद्रामा भएपनि, जतिसुकै सत्ता लिप्साको मोजमा भएपनि सबैले एकचोटि ब्यूझिनु पनि पर्छ । आफ्नो भावी सन्ततीको भविष्य देशमा हेर्ने, आफ्नो मातृभूमिलाई सम्झिने हो भने त्यो एकमतमा देशको भविष्य अडिएको छ भन्ने बुझ्नुपर्छ ।
यो कुराले जनता राजनीतिक रुपमा शिक्षित हुनुपर्छ । यही आन्दोलनको रुपले पनि धेरै जनतामा सजगता आएको मैले महसुस गरेको छु । यो आन्दोलनपछि त्यो शक्ति सांगठनिक रुपमा बढ्छ अथवा स्वस्फूर्त रुपमा फेरि जसरी आन्दोलनका लागि एकजुट भएका थियौं, त्यही हिसाबले एक हुन्छौं ।
पार्टी खोल्नु हुन्छ ?
पुरानाबाट नभएको अवस्थामा संगठनका रुपमा नयाँ विकल्प दिन्छौं । नभए हरेक तह तप्कामा पुगेर जो नयाँ विकल्प रुपमा आफूलाई स्थापित गर्न चाहनुहुन्छ वा त्यस्तो कुनै विश्वासिलो शक्तिको उदय भयो भने उहाँहरुलाई समर्थन गर्छौं ।
नेपाली समाजमा घटनाक्रमहरुलाई चाँडै विर्सिइने गरिन्छ, तपाईंहरु चाहिँ ६ महिनामा कस्तो काम गर्नुहुन्छ, जसले जनतामा जेनजीप्रति विश्वास जगाइरहन्छ ?
यो सरकारले मुख्यतः सुशासनका निम्ति काम गर्ने हो । सरकारले सुशासनका निम्ति काम गर्ने बित्तिकै जनतालाई मेरो चाहिँ सम्पत्तिको साँचो चोरको हातमा छैन भन्ने अनुभूति हुन्छ ।
राष्ट्रको थप क्षयीकरण भएको छैन भन्ने विश्वास जनतामा हुन्छ । दोस्रो कुरा सरकारलाई जुन म्यान्डेट छ, त्यसलाई निष्पक्ष रुपमा पूरा गर्न सरकार लागि पर्छ ।
लामो समयदेखि सडकमा एउटा अभियान रह्यो, त्यसअनुसार अहिले कम्तिमा विदेशमा रहेका नेपालीले पहिलो पटक समानुपातिकमै भएपनि भोट हाल्न पाउने प्रणाली विकास गरौं भन्ने सोचिएको छ । ढोका खोलौं भन्ने सोचिएको छ । त्यो सरकारलाई कसरी विचौलियाको स्वार्थपूर्ति गर्ने भन्ने छैन । त्यही कारण जनता जेनजीको प्रस्तावमा बनेको सरकारसँग निराश बन्नुपर्ने स्थिति छ भन्ने लाग्दैन ।
जेनजी आन्दोलनमा प्रहरीले व्यापक दमन गरेको आमबुझाइ छ, छानबिन गर्न आयोग समेत बनेको छ । कतिपयले तत्कालीन सरकार प्रमुखसहितलाई कारबाही हुनुपर्यो समेत भनेका छन् । तपाईंहरुले चाहिँ के सोच्नु भएको छ ?
बिल्कुल उनीहरुलाई कारबाही हुनुपर्छ । लापरबाहीको पनि कारबाही हुनुपर्छ । जसले निहीत उद्देश्य राखेर हानी नोक्सानी पुर्याउने काम गरेको छ, उसलाई पनि कारबाही हुनुपर्छ । त्यसमा कुनै शंका छैन ।
तर यो कारबाही तात्तातो गरिहालौं भन्ने स्थितिमा छैनौं । किनभने, त्यो कारबाही प्रक्रिया अघि बढेपछि भोलि अदालतमा पनि स्थापित हुनुपर्छ । अहिले कारबाही गर्ने अनि भोलि अदालतमा स्थापित भएन भने त्यो पनि विधिको शासन भएन । हामीले पनि कुरा मात्र सुनेर पहिल्यै ल्याएर थुन्यौं भने उनीहरु र हामीमा फरक पनि रहेन ।
सार्वजनिक उपस्थिति जनाउन उहाँहरुलाई कुनै रोकटोक हुने कुरा भएन । त्यसको मतलब देशमा एक तहको शान्ति कायम भयो भन्ने हो । नत्र उहाँहरु माथि फेरि असुरक्षा हुन्थ्यो होला, त्यसेले यसलाई देशमा शान्ति कायम भयो भनेर बुझ्नुपर्छ । अरु छानबिन समितिले काम गरिरहेकै छ ।
अहिले कतिपय जेनजीले आफूहरुलाई असुरक्षा भयो भनिरहेका छन् नि !
कतिपयबाट त्यो कुरा आएको छ । र, त्यसका लागि गृह मन्त्रालयले ७७ जिल्लामा भिडियो कन्फ्रेन्समार्फत २३ र २४ गतेको प्रदर्शनमा सहभागी भएकै आधारमा धरपकड नगर्न भनेको छ ।
जेनजीहरुको विशेष सुरक्षाका निम्ति चाहिँ समेत भनिसकिएको अवस्था छ । त्यो अनुसार जतिपनि गुनासा आइरहेका थिए, ती सम्बोधन हुँदै गएका छन् । मैले पनि प्रत्यक्ष रुपमा गृहमन्त्रीज्यूलाई भेटेर यो कुरा राखिसकेको छु ।
जेनजीको नामले, कसैले देशकै झन्डा ओडेर, कसैलाई सुनियोजित रुपमा रिसिबीका आधारमा हानी पुर्याएको छ भने चाहिँ उनीहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने छ ।
तर अहिले पुरानो सत्ताविरुद्ध भएको आन्दोलनमा सहभागी भएको विषयलाई लिएर समग्र पुस्तालाई चाहिँ त्रसित हुने गरेर कसैमाथि धरपकड चाहिँ नगर्ने कुरा भएको छ ।
जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबीच सबै राजनीतिक दल र त्यसका नेताहरुलाई लक्षित गरेर घटनाहरु भए, खासमा तपाईंहरुको पुरानो दलप्रति असन्तुष्टि चाहिँ के थियो ?
पुरानो दलहरु प्रति असन्तुष्टि भए पनि उनीहरुको घर जलाउने, भौतिक रुपमा आक्रमण गर्ने, क्षति गर्ने आन्दोलनको उद्देश्य होइन । आन्दोलन शान्तिपूर्ण रुपमा माइती घरबाट अगाडि बढेको थियो । मैले स्वयं आफ्नै छातीमा टासेर राखेका पम्प्लेटहरुको नारा के पनि शान्तिपूर्ण आन्दोलन हो भन्ने थियो । मैले लेखेको नारामा, ‘जनताले तिर्ने, नेताले हसुर्ने ?’ भन्ने लेखिएको थियो ।
हामीले भन्नलाई तिमी चोर हौं, तिमी लुटेरा हौं, राष्ट्रघाती हौं भन्यौं । तर, जुन किमिसको आक्रमण भयो, त्यो हाम्रो उद्देश्य थिएन ।
जहाँसम्म सार्वजनिक सम्पत्ति आक्रमणको कुरा छ, तपाईंलाई के लाग्छ जेन्जी पुस्तामा त्यस्तो कोही अपराधी छ जसले आफ्नो अदालतमा गएर फाइल जलाउनु पर्ने छ ? पक्कै पनि छैन । त्यो सबै राज्यले संरक्षण गरेका अपराधीहरुले जेलबाट छुटेर गरेको काम हो भन्ने मेरो विश्लेषण छ । त्यो नभए तपाईंलाई कसरी थाहा हुन्छ कि महत्वपूर्ण फाइलहरु कहाँ छन् भन्ने ?
जेनजीलाई के मतलब कसको फाइल कुन ढड्डामा छ ? कुन चाही कोठा भित्र के छ भन्ने उनीहरुलाई के थाहा ? अनि, अदालत जलाउनु पर्ने जेन्जीको के बाध्यता छ र ? त्यसैले यो अरुकै काम हो ।
तपाईं तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछिको परिस्थितिमा नेपाली सेनासँग भएको छलफलमा पनि सहभागी हुनुहुन्थ्यो, त्यहाँ चाहिँ तपाईंहरुले के माग राख्नु भएको थियो ?
सेनालाई त हामीले सुरुमा एकसुत्रीय माग राखेका थियौं, देशमा शान्ति सुरक्षा वहाल गर्न तुरुन्त परिचालित भइदिनुपर्यो भन्ने । समाजमा शान्ति सुरक्षाको भयावह स्थिति छ । कम्तिमा जनता आज आनन्दले सुत्न पाउनुपर्यो, देश राज्यविहीन जस्तो भयो भनेका थियौं ।
पहिलो दिन राति चाहिँ हामीले संविधान के गर्ने हो, त्यसको धारा के गर्ने हो उपधारा के गर्ने हो ? भन्ने पछि गरौंला तर अहिले जनताको ज्यान जोगाउनु पर्छ भनेका थियौं । दोस्रो दिनको बैठकमा कतिपय प्रक्रियागत कुराहरु आए । परिस्थितिलाई कसरी शान्तिपूर्वक सटल गर्ने, देशलाई कसरी थप संकटमा जान नदिने भन्ने विषयमा छलफल भए । त्यसपछिको पस्थितिमा हामी आजको स्थितिमा आइपुगेका छौं ।
कतिपयले नेपाली सेनाको भूमिकालाई लिएर समेत टिप्पणी गरिरहेका छन्, वार्तामा पनि बस्नु भएकाले तपाईंलाई चाहिँ जंगीअड्डाको भूमिका कस्तो लाग्यो ?
सेनालाई अहिले आएर हामीले दोष दिन मिल्दैन भन्छु म । सुरुमा अलि बढी नै जस्तो लागेको थियो, तर हुनसक्छ सेना आफू शान्तिका विभिन्न फ्याक्टरहरुलाई आन्दोलनका स्टेक हुन् भनेर कतिपयलाई स्थान दिएको विश्लेषण भयो ।
तर सेनाको जुन हिसाबको बुझाइ रह्यो आन्दोलनलाई लिएर सुरुमा उसले आन्दोलनलाई बुझ्ने समय पाएन जस्तो मलाई लाग्छ । जब सेनाले यो आन्दोलनलाई बुझ्यो सेनाले आन्दोलनको मर्मलाई बुझेर तुरुन्त जोसँग जे स्थितिको वार्ता गराउनु पर्थ्यो , त्यसका लागि सेना अगाडि बढ्यो र यसलाई सफलतापूर्वक टुंग्यायो । त्यसका लागि नेपाली सेना चाहिँ धन्यवादको पात्र हो जस्तो लाग्छ मलाई । यसलाई सेफ ल्यान्डिङ गराउने कुरामा चाहिँ सकारात्मक भूमिका रह्यो ।
अहिले दुई साता भइसकेको छ, फर्किएर हेर्दा आन्दोलनको मुख्य उपलब्धी के भयो जस्तो लाग्छ ?
सबैभन्दा महत्वपूर्ण उपलब्धि भनेको जनतालाई यो आन्दोलनले बुझाएको छ । र, पुरानो भ्रष्ट सत्ताको म्युजिकल चेयरको जुन गेम थियो, त्यसलाई बाइपास गरिदिएको छ । र, फेरि एउटा संकेत जनतालाई के दिएको छ भने अहिले देशबाट विचौलियाबाजीले सिंहदरबार चल्ने कुरा समाप्त भएको छ, तर यो कुरा जनताले भोटबाट स्थापित गर्नुपर्छ, गर्छन् ।
तस्वीर/भिडियोः कमल प्रसाईं/अनलाइनखबर
प्रतिक्रिया 4