+
+
Shares

पहिरो पन्छाएपछि दुईतर्फी नै खुल्यो मुग्लिन-नारायणगढ सडक

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २३:०५

९ असोज, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा-५ मा पर्ने तुइन खोलामा ठूलो पहिरो खसेपछि अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार राति १०:३५ बजेदेखि सडक दुईतर्फी नै सुचारु भएको हो ।

यही असोज ७ गते मंगलबार करिब साढे ४ बजेदेखि सो सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको थियो । बिहीबार राति साढे १० बजे पहिरो पन्छाउने काम सकिएलगत्तै सडक दुईतर्फी नै सुचारु भएको हो ।

पहिरो पन्छाउने काम बुधबार (हिजो) बिहानबाट मात्र थालिएको थियो । बिहीबार साँझ अबेरसम्म पनि पहिरो पन्छाउने काम नसकिएपछि फ्लडलाइट बालेर काम गरिएको थियो ।

यसबीचमा १६० मिटर लामो पहिरो पन्छाउन ५ वटा बढी डोजर प्रयोग गरिएको थियो । यो सडकखण्डमा भएको निरन्तरको अवरोधले यात्रुहरू समस्यामा पर्दै आएका छन् ।

सडकमा सवारी साधनहरूको लामो जाम लागेकाले सहज रूपमा यात्रा गर्न भने केही समय लाग्ने छ ।

काठमाडाैं जोड्ने मुख्य लाइफलाइनका रूपमा रहेको यो राजमार्ग पहिरोका कारण अवरुद्ध हुँदा यात्रुले निकै सास्ती बेहाेरे । अझ नेपालीहरूको महान चाड दशैंका बेला सडक अवरुद्ध हुँदा गन्तब्यतर्फ प्रस्थान गरेका यात्रु सडकमै अलपत्र भए ।

तर, अब पुन: पहिरो नखसे आवागमन सहज हुनेछ । तुइन खोला नजिक यसअघि पनि पटकपटक पहिरो खसेर राजमार्ग अवरुद्ध हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?