Comments Add Comment

नेतालाई जुत्ता र झापड : राजनीतिक निराशा कि अनुशासनहीनता ?

प्रचण्डका लागि आफ्नै विगत थ्रेट, पूर्णतः निषेध असम्भव– प्रहरी

प्रचण्डलाई जुत्ता प्रहार गर्ने रतन तिरुवालाई पक्राउ गर्दै प्रहरी ।

१९ फागुन, काठमाडौं । ‘रेडियो, टेलिभिजनमा नेताको नाम सुन्ने र देख्ने वित्तिकै मलाई एकदमै रिस उठेर आउँछ, नेतालाई भेटेँ भने खुट्टा नै भाँचिदिन्छु होला । अन्तरवार्ता हेर्दाहेर्दै दुईवटा टेलिभिजन पनि फुटाइसकेँ ।’

सुदूरपश्चिमबाट मनोपरामर्श लिन आएका एक व्यक्तिको कुरा सुनेर मनोचिकित्सक गोपाल ढकाल अचम्मित भए । ढकालकै शब्दमा भन्दा दुई वर्षअघिको यो घटना उनलाई ‘अचम्म लागेका केश’ मध्येका एक थियो ।

तर, ती व्यक्तिको समस्या कुनै ‘मनोरोग’ मात्र नभइ, राजनीतिप्रति सर्वसाधारणमा बढ्दो वितृष्णा देखाउने दृष्टान्त पनि हो । राष्ट्रिय सभागृहमा आइतबार आयोजित भरतमोहन अधिकारीको स्मृतिसभामा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको घटना पनि यसैको उपज भएको ढकाल बताउँछन् ।

‘मैले अध्ययन गरेका घटनाहरुले राजनीतिका कारण युवामा डिप्रेसन, निराशा र कुण्ठा बढेको देखिन्छ’, ढकालले अनलाइनखबरसँग भने, ‘अहिलको राजनीतिक परिवेश, नेताले गरेका विश्वासघात, उनीहरुका विलासिता र परिवर्तित जीवनशैलीका कारण यो स्थिति आएको हो ।’

जुत्ता प्रहार गरेको अभियोगमा पक्राउ परेका रतन तिरुवाले पनि प्रचण्डले भाषणमा व्यक्त गरेका वर्ग संघर्ष सम्बन्धी कुरामा आफू सहमत हुन नसकेको बताएका छन् । ‘बोली र व्यवहारमा समानता पाइनँ । सुन्दा सुन्दै आवेशमा आएँ’, प्रहरीलाई बयान दिँदै उनले भनेका छन् ।

प्रचण्डका लागि आफ्नै विगत थ्रेट

सुरक्षा निकायको विश्लेषणमा नेपालमा सबैभन्दा बढी सुरक्षा थ्रेटको विश्लेषण गरिएका व्यक्ति प्रचण्ड नै हुन् ।

नेपाल प्रहरीका एक उच्च अधिकृतका अनुसार अहिले दाहालको सुरक्षामा नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा दुई समूह गरी ५९ जना सुरक्षाकर्मी खटिन्छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौति विश्लेषण गरेर प्रचण्डलाई यो सुविधा दिइएको हो ।

नेपाल प्रहरीका एक उच्च अधिकृत प्रचण्डको थ्रेट आफ्नै विगत भएको बताउँछन् । दश वर्षे सशस्त्र द्वन्द्वका अयोग्य र अहिलेको परिवर्तनबाट असन्तुष्टि लडाकू प्रचण्डका लागि चुनौति हुन् । द्वन्द्वबाट पीडित परिवार पनि प्रचण्डबाट मुख्य चुनौति रहेको सुरक्षा संयन्त्रको विश्लेषण छ ।

 

निराशाको लेभल बढेर घृणाको तहसम्म पुगेको छ कि भन्ने देखिन्छ – राजनीतिक विश्लेषक, श्याम श्रेष्ठ

त्यस्तै, पार्टीबाट अलग्गिएर बनेका विभिन्न समूहबाट पनि उनी सधै निशानामा रहन सक्ने सुरक्षा विश्लेषण छ ।

प्रचण्डलाई जुत्ता प्रहार गरेका तिरुवाले पनि आफ्नो बुबा पूर्वमाओवादी भएको र द्वन्द्व कालमा ज्यान गुमाएको दाबी गरेका छन् । यद्यपि, नेकपा जुम्लाले विज्ञप्ति जारी गर्दै रतनका बुबा शहीद परिवारको सदस्य नभएको जनाएको छ ।

सिंजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले उनका बुबा मनु भारत गएका वेला उतै बेपत्ता भएको बताएका छन् । यद्यपि, रतनले शहीद भनेर राज्यबाट लाभ लिइरहेको उनको दाबी छ ।

त्यसो त तिरुवा शहीद परिवारको सदस्य नभए पनि तत्कालीन माओवादी निकट परिवारमै हुर्किएका व्यक्ति चाहिँ पक्कै हुन् । प्रहरी रेकर्ड अनुसार उनका कान्छा हजुरबुबा चन्द्रबहादुर तिरुवा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका जुम्ला इञ्चार्ज हुन् । त्यसअघि उनी माओवादीमा थिए ।

चन्द्रबहादुर वसुन्धराबाट हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा चलाइएको व्यक्ति भएको काठमाडौं प्रहरी परिसर, टेकुका एक अधिकृतले अनलाइनखबरलाई बताए । यो कसूरमा उनी धरौटी बुझाएर अदालतबाट छुटेका थिए ।

सुर्खेतबाट अमिनको पढाइ सकेका तिरुवा पनि विप्लव समूहमा संलग्न हुनसक्ने आशंका गरिएको छ । यद्यपि, उनले स्वीकारेका छैनन् । विप्लव निकट विद्यार्थी संगठनमा उनी आबद्ध हुनसक्ने तर्फ प्रहरीले अनुसन्धान अघि बढाएको एक सुरक्षा अधिकृत बताउँछन् ।

उनीमाथि सोमबार अभद्र व्यवहार सम्बन्धी कसूरमा म्याद थपेर अनुसन्धान थाल्ने तयारी भइरहेको छ । साथै, प्रहरीले छानविनका लागि महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रमुख एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा छुट्टै छानविन समिति पनि बनाएको छ ।

आक्रमणको श्रृंखला

प्रचण्डमाथि कार्यकर्ताबाट आक्रमणको प्रयास भएको यो पहिलो पटक होइन । भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागी भएका वेला १ मंसिर २०६९ मा उनलाई बाग्लुङका २५ वर्षीय पदम कुँवरले थप्पड हानेका थिए । कुँवर वैद्य माओवादीका सदस्य थिए ।

संविधान निर्माणका लागि मस्यौदा सुझाव संकलन गर्ने क्रममा सिराहामा २ साउन २०७२ मा पनि प्रचण्डमाथि ढुंगा र बोतल प्रहार भएको थियो । प्रचण्डमाथि भौतिक क्षति पुर्‍याउने आशयले पनि आक्रमण भएका छन् ।

PADAM KUNWAR
पदम कुँवर

कञ्चनपुरको ढक्कापुरमा २७ कात्तिक २०७० मा उनलाई लक्षित गरेर शक्तिशाली विष्फोट गराइएको थियो । सडकको पाँचदेखि ७ मिटर छेऊमा विष्फोटनका लागि ४ सय मिटर तार जोडिएको पाइएको त्यसवेला सुरक्षा निकायले निष्कर्ष निकालेको थियो । यद्यपि, घटनामा कुनै क्षति भएन ।

प्रचण्डका पूर्वसहकर्मी डा. बाबुराम भट्टराईमाथि पनि २३ मंसिर २०७३ मा जुत्ता प्रहार भएको थियो । पोखराको पृथ्वीनारायण क्याम्पसमा नयाँ शक्ति विद्यार्थी युनियनले आयोजना गरेको कार्यक्रममा कालो झण्डा देखाउँदै कैलालीका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता हानेका थिए ।

तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित सभासद् झक्कु सुवेदीलाई पनि १९ वैशाख २०६८ प्रेमराज देवकोटाले तीनकुनेमा झापड हानेका थिए ।

नेकपा नेता एवं नेकपा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई पनि ६ माघ २०६७ मा कार्यकर्ताले झापड हानेका थिए । सुनसरीको भरौल–१ मा आफ्नै कार्यकर्ता देवीप्रसाद रेग्मीको निशानामा उनी परेका थिए ।

नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला पनि १३ असोज २०६९ मा कार्यकर्ताबाट कुर्सी आक्रमणमा परे । कपनमा आयोजित कार्यक्रममा नेविसंघका प्रवेश बस्नेतले कुर्सी प्रहार गर्दा उनी सामान्य घाइते भएका थिए ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ नेतामाथि आक्रमणका घटनाले नेतृत्वप्रति आमकार्यकर्तामा निराशा पैदा भएको देखाएको बताउँछन् । ‘निराशाको लेभल बढेर घृणाको तहसम्म पुगेको छ कि भन्ने देखिन्छ’, उनले अनलाइनखबरसँग भने, ‘अर्को कुरा चाहिँ नेतृत्व तहमा अनुशासनहिनता देखिनाले कार्यकर्ता पनि अनुशासनविहीन भएको स्थिति छ ।’

सुरक्षार्थ खटाइएका अधिकृतलाई भीआईपीको माला, खादा लगायत समात्ने र छाता ओढाउने व्यक्तिका रुपमा सीमित गरिएको सुरक्षा सम्बद्ध अधिकृतहरूको गुनासो छ

हरेक घटनामा कार्यकर्ताले नेतृत्वलाई झक्झक्याउने प्रयत्न गरे पनि नेतृत्वले बोध गरेको नदेखिने उनी बताउँछन् । ‘उनीहरु माथि छन्, कार्यकर्तासँग सम्बन्ध विच्छेद छ । तल के भइरहेको छ भन्ने महसुस नै हुँदैन’, श्रेष्ठले सुनाए ।

पूर्णतः निषेध असम्भव– प्रहरी

विज्ञका अनुसार कुनै पनि व्यक्तिमाथि दुई प्रकारका सुरक्षा चुनौति हुनसक्छन् । पहिलो, भौतिक जसमा ज्यान नै जोखिममा पर्न सक्छ भने दोस्रो चाहिँ इज्जतसँग सम्बन्धित हुन्छन् ।

सर्वसाधारणको बीचमा रहने राजनीतिक दलका नेतृत्वप्रति दोस्रो प्रकारको चुनौति बढी हुने अधिकृतहरु बताउँछन् । यसमा कालो झण्डा देखाउने, कालो मोसो दल्ने जस्ता विषय पर्छन् ।

प्रहरीका एक वहालवाला वरिष्ठ अधिकृतका अनुसार यो प्रकारको चुनौतिलाई पूर्णतः निषेध गर्न सकिँदैन । बरु न्यूनीकरण गर्न भने सकिन्छ ।

यसका लागि सम्बन्धित व्यक्तिलाई ‘थ्रोइङ डिस्टेन्स’भन्दा टाढा राख्नुपर्ने उनको भनाइ छ । हलमा हुने कार्यक्रममा भने यो केही हदसम्म गाह्रो हुने उनी बताउँछन् । यही दूरी राखिएकै कारण आइतबार प्रचण्डसम्म जुत्ता आइपुग्न सकेन ।

भीआईपीको सुरक्षामा नदेखिने खाल्का सुरक्षा लेयरहरु पनि राख्नु पर्ने हुनसक्ने उनी बताउँछन् । कार्यक्रम हलमा बस्ने पहिलो, दोस्रो, तेस्रो र चौथो तहसम्मका व्यक्तिको स्क्रिनिङ गर्नु पनि आवश्यक हुने उनी बताउँछन् ।

तर, नेपालमा भीआईपी सुरक्षालाई नाम मात्रको बनाइएको सुरक्षा अधिकृतहरु गुनासो गर्छन् । सुरक्षार्थ खटाइएका अधिकृतलाई भीआईपीको माला, खादा लगायत समात्ने र छाता ओढाउने व्यक्तिका रुपमा सीमित गरिएको उनीहरुको गुनासो छ ।

आवश्यकता र व्यक्तिको दक्षताका आधारमा नभई निकटका आधारमा भीआईपीले निजी सुरक्षा अधिकृतहरु छान्ने गरेकाले पनि समस्या हुने गरेको विज्ञ बताउँछन् । ‘सुरक्षार्थ खटिएका व्यक्तिका कुरा अधिकांश समय सुनिँदैन’, ती अधिकृत भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment