
२५ फागुन, काठमाडौं । गर्मी मौसम आउन लाग्दा बजारमा पठाउने सर्जिकल मास्कको स्टक सकिँदै थियो ।
त्यसैले सुन्दरीजलमा त्रिन्हुस उद्योग चलाइरहेका शैलेस श्रेष्ठ मास्क बनाउन चाहिने कच्चा पदार्थ चीनबाट अलि धेरै मगाउने तयारीमा थिए । उनको सामान मगाउन नपाउँदै चीनमा कोरोना भाइरसको संक्रमण फैलियो ।
त्यसपछि त रातारात परिस्थिति यसरी बदलियो कि चीनबाट न कच्चा पदार्थ आयो न तयारी मास्क । नेपाली बजारमा सर्जिकल मात्र होइन, सामान्य मास्कको पनि अभाव चर्कियो । मास्कको मूल्य ४०० प्रतिशतसम्म बढ्यो ।
यस्तो अवस्थामा श्रेष्ठले मास्क उद्योग बन्द गरेर बस्नु परेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनमा नै मास्कको अभाव भएको छ भने भारतले तयारी मास्क निर्यातमा प्रतिबन्ध लगाएको छ । त्यसैले नेपालमा आवश्यक मास्कका लागि स्वदेशी उत्पादनमा भर पर्नुपर्ने अवस्था आएको छ ।
विभागले १० करोड रुपैयाँ भन्दा कम पूँजीमा खुलेका उद्योगको तथ्यांक नराख्ने हुनाले नेपालमा कति मास्क उत्पादक छन् भन्ने तथ्यांक उद्योग विभागमा छैन ।
घरेलु तथा साना उद्योग विभागमा समेत यकीन तथ्यांक छैन । व्यवसायीहरुको भनाइमा सर्जिकल मास्क उत्पादन गर्ने उद्योग तीन वटा छन्, जसको दैनिक उत्पादन क्षमता प्रतिदिन १५ देखि २० हजारसम्म छ । जबकी काठमाडौंमा मात्र दैनिक माग ४०/५० हजार छ । भएका सबै उद्योगले चाहिए जति कच्चा पदार्थ पाए र पूर्ण क्षमतामा सञ्चालन भए अहिलेको माग धान्न सक्ने श्रेष्ठको आँकलन छ ।
तर चीनबाट कच्चा पदार्थ नआएपछि नेपाल, भारतलगायतका मास्क उत्पादक उद्योग बन्द गरेर बसेका छन् ।
सुन्दरीजलस्थित वीपी संग्रहालय पछाडि रहेको श्रेष्ठको मास्क उद्योग एक सातादेखि पुरै बन्द छ ।
कर्मचारी फुर्सदिला बनेका छन् । श्रेष्ठ कच्चा पदार्थ पाइहालिन्छ कि भनेर कहिले चीनतर्फ त कहिले भारततिर सोधिखोजी गर्छन् तर हात लाग्यो शून्य भइरहेको छ । पहिले कारोबार गरेका चिनियाँ व्यापारीहरु सरकारी नीतिका कारण सामान दिन नसक्ने बताउँछन् भने भारतीयहरु १०० प्रतिशत एड्भान्स माग्छन् ।
श्रेष्ठ भन्छन्, ‘१०० प्रतिशत एड्भान्स दिए पनि सामान आउँछ भनेर ढुक्क हुन सकिने अवस्था छैन ।’
भारतमा २० गुणा महंगो
उद्योग सञ्चालक श्रेष्ठका अनुसार सर्जिकल मास्क बनाउन निलो वा सेतो फेब्रिक, फिल्टर, इलास्टिक इयर लुप र नोज वायर गरी चार प्रकारका कच्चा पदार्थ चाहिन्छ ।
अरु धेरथोर बाँकी रहे पनि फेब्रिकको अभाव भएको छ । ‘चीनले कच्चा पदार्थ दिँदैन, त्यही चिज भारतबाट ल्याउँदा १५–२० गुणा महंगो पर्न आउँछ’, उनले अनलाइनखबरसँग भने, ‘त्यही मूल्यमा भारतबाट ल्याउँ भन्दा पनि प्रक्रिया थालेको एक महिनामा पनि सामान पाइने टुंगो लागेको छैन ।’
हेर्नुहोस् भिडियो
तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर
प्रतिक्रिया 4