Comments Add Comment

सीमा नाकामा फितलो सतर्कता, हेल्प डेस्क झारा टार्न मात्र

सरकार भन्छ : आत्तिनुपर्ने अवस्था छैन

२५ फागुन, बुटवल । चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि देखिएपछि नेपालमा त्रास बढेको छ । तर स्थलमार्गबाट धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहियालगायत सीमा नाकामा चेकजाँच सन्तोषजनक छैन ।

भारतसँग सीमा जोडिएका बेलहिया, कृष्णनगर, कोइलाबास, रुपैडिया, ठुटीबारी लगायतका प्रदेशभित्र पर्ने ६ वटै तराईका जिल्लाका नाकामा हेल्प डेस्क स्थापना गरिएको र स्वास्थ्यकर्मी खटाएर नेपाल भित्रिने तेस्रो मुलुकका नागरिकको चेकजाँच थालिएको प्रदेश सरकारले बताएको छ । प्रदेश सरकारले कोरोना नेपालमा भित्रि नसकेकाले आत्तिनु नपर्ने भन्दै आश्वस्त गराउन खोजे पनि स्वास्थ्यकर्मीहरुले नै तयारी कमजोर भएको स्वीकार गरेका छन् ।

तर हेल्थ डेक्समा जनशक्ति र उपकरण नभएको तथा असुरक्षित रुपमा काम गर्नुपरेको गुनासो सुनिएको छ । ‘हेल्प डेक्स स्थापना भएपनि जनशक्ति र उपकरण अभावले प्रभावकारी हुन सकेको छैन,’ जनस्वास्थ्य कार्यालय दाङका प्रमुख डा. सुनिता पौडेलले प्रश्न गरिन्, ‘स्वास्थ्यकर्मीले सुरक्षा उपकरण बिना काम गर्नुपरेको छ । जोखिम न्युनिकरणका उपाय सरकारले कहिले थाल्ने हो ?’

चिकित्सक तथा स्थानीयबासीले सीमा नाकामा भइरहेको चेकजाँच ‘झारा टराई’ मात्र भएको टिप्पणी गर्छन् ।

अध्यागमन कार्यालयले हेल्प डेस्कमा जान सिफारिस गरेका यात्रुको मात्रै ज्वरो नाप्ने गरिएको छ ।

चीन, कोरिया, इरान, इटाली र जापानका नागरिकको मात्रै चेकजाँच गर्ने गरिएको छ । भारतीय नागरिकलाई चेकजाँच गरिएको छैन । ‘चेकजाँच नाम मात्रको र झारा टराई भएको छ’– बेलहियाका स्थानीय रामबहादुर बस्नेतले भने ।

खुला नाकामा त न चेकजाँच हुन्छ र आवत जावतमा रोक लगाइएको छ । ‘रुपन्देहीकै कक्रहवा, धकधईलगायतका नाकामा न हेल्प डेस्क छ, न चेकजाँच,’ सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले भने, ‘यस्ता खुला नाका अरु जिल्लामा पनि छन्, त्यहाँबाट पनि भारतीय र अरु विदेशी नेपाल प्रवेश गर्न सक्छन् । यसको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।’

उनका अनुसार हेल्प डेस्कमा सिद्धार्थनगर नगरपालिकाले बिहान ७ बजेदेखि राति १० बजेसम्म खटिने गरी दिनमा २ जनाका दरले ६ जना कर्मचारी व्यवस्थापन गरेको छ । र, कोरोनाको लक्षणको शंका लागेमा भीम अस्पतालमा रिफर गर्न भनिएको छ । तर अहिलेसम्म कोही पनि रिफर भएर आएका छैनन् ।

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले पनि अहिलेसम्म कोरोना भाइरस संक्रमित नभेटिएको बताए । कोरोनाको त्रासकै कारण मार्च १० तारिखदेखि भने अन अराइभल भिसा दिने रोक्ने निर्णय भएको उनले जानकारी दिए ।

मार्च १० तारिखपछि नेपाल प्रवेश गर्ने विदेशीले भिसासँगै हेल्थ सर्टिफिकेट पनि देखाउनुपर्ने छ । ‘मार्च १० पछि चीन, जापान, इरान, कोरिया, इटली गरी पाँच देशका नागरिकलाई अन अराइभल भिसा नदिने निर्णय भएको छ’ खनालले भने, ‘भिसा लागिसकेका पर्यटकले भिसासँगै कूटनीतिक नियोगमा हेल्थ सर्टिफिकेट पेश गर्नुपर्छ र त्यहाँबाट प्रमाणित भएर आउनेलाई मात्र नेपाल प्रवेश गर्न दिन्छौं ।’

फेब्रुअरी महिनामा मात्रै करिब २२ हजार विदेशी पर्यटक बेलहिया नाकाबाट नेपाल भित्रिएका छन्, जसमा चिनियाँ १ सय ६९, इरानी १९, कोरियन ३ सय ३६, जापानी ३ सय ३२ जना रहेको अध्यागमन कार्यालय बेलहियाका प्रमुख खनालले बताए ।

के भन्छ प्रदेश सरकार ?

भारतीय शहरमा बिरामी भेटिएसँगै सीमावर्ती नेपाली जिल्लाका नागरिकमा संक्रमण भित्रिने हो कि भन्ने त्रास छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भने कोरोनाका संक्रमित र शंकास्पद बिरामी भेटिए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गर्ने गरी काम अघि बढेको बताए ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय, डब्लुएचओ, यूनिसेफको संयुक्त टोली परिचालन भइसकेको मन्त्री बरालले बताए । उनले टोलीले बेलहिया, कृष्णनगर र रुपैडिया सीमा नाकाको आवागमनका साथै केही अस्पतालको स्थलगत अध्ययन गरिरहेको जानकारी दिए ।

‘हामीले पूर्वतयारीका काम गरिरहेका छौं, अहिलेसम्म कोरोना नेपाल भित्रिनसकेकाले आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने, ‘कोरोनाको चेकजाँचका लागि चिकित्सकका लागि १० सेट सुरक्षित पोशाक, ६० वटा इन्फ्रारेड थर्मोमिटर, विभिन्न अस्पतालमा ५० बेडलाई ‘आइसोलेसन वार्ड’का रुपमा तयार गरेका छौं । आवश्यक पर्‍यो भने क्वारेन्टाइन पनि बनाउँछौ ।’

मन्त्री बरालले विपद व्यवस्थापनको लागि प्रदेश सरकारसँग ९ करोड रुपैयाँ वजेट रहेकाले कोरोनाको संक्रमण देखिहालेमा पनि व्यवस्थापन गर्न समस्या नहुने बताए ।

तर प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले हेल्प डेक्सका लागि आवश्यक सामग्री उपलब्ध गराउन नसकेको स्वीकार गरेका छन् । उनका अनुसार थर्मोस्केल र पर्सनल प्रोटेक्टिभ इक्यूभमेन्ट (पीपीई ) को संख्या बल्ल ७ पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment