Comments Add Comment

‘अरुकै शासनमा’ कसरी चल्दैछ प्रधानमन्त्रीको दिनचर्या ?

बुबा लौरो टेकेरै फर्किए, पहिलो भिजिटर हुनेछिन् मिर्गौला दाता भाञ्जी !

२५ फागुन, काठमाडौं । फागुन १५ गते नेकपाको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू चाँडै मिर्गाैला पुनः प्रत्यारोपणमा जान लागेको खुलासा गरेका थिए । उनले कार्यकर्तामा उत्साह भर्न अझ अघि बढेर भनेका थिए–पाँच दिन अस्पताल बस्छु,छैटौं दिनदेखि अझ उत्साह र उर्जाका साथ काममा फर्किन्छु ।

उनले त्यसो भनेको ६ दिनपछि अर्थात फागुन २१ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भान्जी समिक्षा संग्रौलाले दिएको मिर्गौला सफल प्रत्यारोपण भएको पनि पाँच दिन पुगेको छ । शल्यक्रिया सकिएको पाँचौ दिनमै प्रधानमन्त्रीले आइतबार चिकित्सकहरुसँग ‘भोलि डिस्चार्ज गर्न मिल्दैन ? ’ भनेर सोधे ।

प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी चाँडै डिस्चार्ज भएर घर फर्किन चाहान्छन् । अहिलेसम्म सीमित चिकित्सक बाहेक पत्नी राधिकालाई समेत भेट्न नपाएका प्रधानमन्त्री ओलीले भनेजस्तो अस्पतालले मान्नेवाला छैन । चिकित्सकहरुले ‘यहाँ तपाईंको होइन, हाम्रो शासन चल्छ’ भनेर प्रधानमन्त्रीलाई जवाफ दिने गरेका छन् ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिएको पाँचौं दिन अनलाइनखबरकर्मी शिक्षण अस्पतालका कार्यकारी निर्देशकको कार्यकक्षमा पुग्दा नेकपाका महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, हरिबोल गजुरेल, प्रमुख सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापालगायत नेता कार्यकर्ता थिए ।

नेता पाण्डेले प्रधानमन्त्रीको आधिकारिक जानकारी प्रमुख सल्लाहकारबाटै चाहियो भनेपछि रिमालले यसरी सुनाए–उहाँसँग अस्ति फोनमा कुरा भयो, डाक्टर कै फोनबाट गर्नुभयो र लामो कुरा हुन थालेपछि डाक्टरले नै फोन खोसेछन् । डाक्टरहरुका अनुसार उहाँहरुले सोचे कै ढंगले प्रगति भइरहेको छ । तर, कहिले डिस्चार्ज गर्ने भनेर सोध्यो भने चाहिँ यो तपाईंहरुको विषय होइन भन्नुहुन्छ ।

९० वर्षका बुबा लौरो टेकेर गए

शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीका ९० वर्षीय बुबा लौरो टेकेर शिक्षण अस्पताल पुगे । उनी छोरालाई भेट्न चाहान्थे । एक साताअघि प्रधानन्त्री निवास बालुवाटारबाट छोराको टाउकोमा हात राखेर दीर्घजीवनका आशिर्वाद दिएर अस्पताल पठाएका थिए उनले । मिर्गाैला प्रत्यारोपण सफल भएको खबरले खुसी भएका उनी एक्लै अस्पताल गएका थिए ।

चिकित्सकहरुले ‘अहिले त भेट्न मिल्दैन बुबा’ भनेपछि प्रधानमन्त्रीका बुबा केहीबेर बसेर निवास फर्किएको प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री र भाञ्जी दुबैलाई खानेकुरा भने बालुवाटारमै बनाएर अस्पताल पुर्‍याउने गरिएको छ ।

शल्यक्रियापछि प्रधानमन्त्रीसँग भेट्न त के बाहिरबाट पनि कसैले हेर्न पाएका छैनन् । निवासबाट मामा र भाञ्जीलाई खाना बनाएर ल्याइन्छ, त्यो खाना स्वास्थ्यकर्मीले समय र मात्रा मिलाएर खुवाउँछन् । कुनै पनि संक्रमण नहोस् भनेर अस्पताल प्रशासनले प्रधानमन्त्रीलाई उच्च सतर्कताका साथ राखेको छ ।

पहिलो भिजिटर हुनेछिन् समीक्षा

भाञ्जी समिक्षा संग्रौलासँग भने परिवारका सीमित सदस्य र प्रधानमन्त्रीका मुख्य सल्लाहकार लगायतले भेट गरेका छन् । ‘उनको अवस्था सामान्य छ । मैले भेट्दा पनि मलाई त ठीक छ, मामालाई चाहिँ कस्तो छ ? भनेर सोधिन्,’ रिमालले भने, ‘मामालाई भेट्न म लागेको छ भनेपछि प्रधानमन्त्रीलाई भेट्न चिकित्सकले अनुमति दिएपछिको पहिलो भिजिटर उहाँ नै हुने आश्वासन दिएँ ।’

समीक्षाले मामालाई कस्तो छ भनेर सोधेको होस आएदेखि नै हो । चिकित्सकहरुले उनलाई आफ्नो ख्याल राख्न भन्दै प्रधानमन्त्रीको अवस्था राम्रो रहेको बताएका थिए । परिवारका सदस्य र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुसँग पनि उनले ‘मामालाई देख्न मन छ’ भनेपछि मुख्य सल्लाहकार रिमालले ‘पहिलो भिजिटर’ बनाउने आश्वासन दिएका हुन् ।

चिकित्कसहरुले प्रधानमन्त्रीलाई कति दिन अस्पताल राख्नुपर्छ भन्नेबारेमा अहिलेसम्म नेकपाका शीर्षनेता र प्रधानमन्त्रीको सचिवालयलाई पनि बताउन मानेका छैनन् । ‘यो तपाईंहरुको कुरा होइन, हामी हाम्रो ढंगले गर्छौं,’ चिकित्सकहरुले भन्ने गरेका छन्, ‘यहाँ हाम्रो अनुसार चल्छ ।’

प्रधानमन्त्री ओली बेला–बेला ‘नोस्टाल्जिक’ हुन्छन् । नियमित भेटिरहने चिकित्सकहरुका अनुसार उनी आफ्नो बाल्यकालतिर पनि फर्किन्छन् । हजुरआमाको काखमा हुर्किएका ओलीले आफ्ना गुरुका छोरा डा.उत्तम शर्मासँग उनका पिता दाताराम, आफ्ना पिता मोहन र आफ्नी हजुरआमाहरुका बारेमा कुरा सुनाउने गर्छन् ।

उत्तमलाई आफ्ना पिता प्रधानमन्त्री ओलीका विद्यालयकालका शिक्षक थिए भन्ने थाहा थिएन् । अस्पतालमा आएपछि प्रधानमन्त्रीले नै उत्तमका पिता दाताराम आफ्नो गुरुबा रहेको सुनाए । डा.उत्तम शिक्षण अस्पतालको युरोलोजी विभागका प्रमुख हुन् । उनका पिताको निधन भइसकेको छ ।

प्रधानमन्त्री गफिँदा डाक्टरलाई आपत

मान्छे अगाडि देखेपछि विभिन्न गफ निकालेर हँसाउने प्रधानमन्त्रीको बानी अस्पतालमा सघन उपचार कक्षमा पनि उस्तै छ । आफूलाई चाँडो डिस्चार्ज गरिदिनुस् भन्ने त प्रधानमन्त्रीको बानी नै भइसकेको छ । बाहिरी दुनियाँका खबरबारे समेत चासो राख्छन्, तर चिकित्सकले प्रधानमन्त्रीलाई कडा शासनमा राखेका छन् ।

प्रधानमन्त्रीलाई नियमित भेट्ने र कुरा गर्न पाउने चिकित्सक डा.उत्तमकुमार शर्मा, दिव्यासिंह शाह, प्रेम ज्ञवाली लगायत सीमित छन् । उनीहरुमध्येनै राति पनि प्रधानमन्त्रीको कुरुवाका रुपमा पालो गरेर बस्छन् । यतिसम्म कि शिक्षण अस्पतालका प्रमुख कार्यकारी दिर्नेशक डा.प्रेमकृष्ण खड्काले पनि अरु चिकित्सकबाट जानकारी लिएर मिडियालाई बताउने गरेका छन् ।

प्रधानमन्त्री आफैं विस्तारै हिँडडुल गर्ने र शौचालय जाने अवस्थामा छन् । नियमित चेक गर्न जानासाथ प्रधानमन्त्रीले गफ गर्न खोजेपछि चिकित्कसलाई आपत पर्छ । धेरै कुरा नगरी आराम लिए हुन्थ्यो भन्ने उनीहरुको चाहना हुन्छ । ‘प्रधानमन्त्रीज्यू अहिले धेरै नबोल्नुस, आराम गर्नुपर्छ’ भन्नुपर्छ उनीहरुले । प्रधानमन्त्रीलाई पटक–पटक सम्झाउनुपरेको शर्माले बताए ।

प्रधानमन्त्री भन्दा पहिले मिर्गाैला दातृ भाञ्जीलाई अस्पतालले डिस्चार्ज गर्ने सम्भावना छ । तर, उनलाई पनि कहिलेसम्म राख्ने भनिएको छैन । आइतबार जारी गरिएको नियमित स्वास्थ्य बुलेटिन अनुसार समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था राम्रो छ । उनको भाइटल्स तथा ल्याब सूचकाङ्कहरु सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काले बताए ।

जो नियमित अस्पताल पुग्छन्

प्रधानमन्त्री ओली मिर्गौला पुनः प्रत्यारोपणका लागि फागुन १९ गते शिक्षण अस्पतालमा भर्ना भएका थिए । उनी अस्पताल भर्ना भएदेखि अहिलेसम्म मुख्य सल्लाहकार बिष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा लगायत सचिवालयको टिमले अस्पताल छाडेको छैन ।

आगन्तुकहरुले सल्लाहकारहरुबाटै प्रधानमन्त्रीको अवस्थाबारे जानकारी लिने गर्छन् । चिकित्सकले सल्लाहकार टिमलाई अपडेट गर्छन् । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.धर्मकान्त बास्कोटा र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्काले हरेक दिन चिकित्सकबाट प्रधानमन्त्री र भाञ्जीको अवस्थाको जानकारी लिन्छन् ।

चिकित्सक र सचिवालयका सदस्य बाहेक हरेक दिन कम्तिमा दुईपटक अस्पताल पुग्छन् स्वास्थ्यमन्त्री भानुभक्त ढकाल । बिहान ८ बजे अस्पताल पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिएपछि उनी नियमित काममा जान्छन्, राति ९ बजेसम्म भने पनि पुनः अस्पताल पुग्छन् ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि नियमित अस्पताल पुगेका हुन्छन् । भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, उद्योगमन्त्री लेखराज भट्ट लगायतका मन्त्री र नेताहरु पनि प्रायः हरेक दिन अस्पताल गएर जानकारी लिन्छन् ।

नेकपा सचिवालयका नेताहरुमध्ये अध्यक्ष प्रचण्ड शल्यक्रियाको अघिल्लो दिन अस्पताल गएका थिए भने बरिष्ठ नेता माधवकुमार नेपाल शल्यक्रिया भएकै दिन गएर जानकारी लिएका थिए । उपाध्यक्ष बामदेव गौतम एकपटक पुगे भने प्रवक्ता नारायणकाजी श्रेष्ठ भ्याएसम्म हरेक दिन जाने, नत्र फोनबाट जानकारी लिने गर्छन् ।

झलनाथ खनाल पनि ओली अस्पताल भर्ना भएपछि पहिलोपटक आइतबार शिक्षण अस्पताल पुगेका थिए ।

अर्थमन्त्री युवराज खतिवडाले शिक्षण अस्पतालमा प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण भएपछि मुलुककै प्रतिष्ठा बढेको भन्दै अस्पतालको भौतिक पूर्वाधार र दक्ष जनशक्ति विकासका लागि राज्यले थप लगानी गर्ने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment