Comments Add Comment

बालबालिकालाई यौन शिक्षा : किन, कहिले र कसरी दिने ?

यौनको विषयमा जान्ने इच्छा हुनु आफ्नो शरीरको विषयमा जान्ने प्राकृतिक प्रक्रिया हो । यौन शिक्षाले बच्चाहरुलाई आफ्नो शरीरको विषयमा जान्ने मौका दिन्छ । साथै यसले उनीहरुलाई आफ्नो शरीरको विषयमा सकारात्मक धारणा राख्न पनि सहयोग गर्छ । बढ्दै गरेका बालबालिकाहरु वास्तविक यौनभन्दा पनि गर्भावस्था र बच्चाको विषयमा धेरै रुचि राख्छन् ।

यौनको विषयमा चर्चा गर्नु पनि आफ्ना बच्चाहरुसँगको कम्युनिकेशन राम्रो बनाउने एउटा चरण हो । आफ्ना बच्चाहरु किशोर अवस्थामा पुगेपछि अभिभावकले इमान्दारितापूर्वक र खुलारुपमा छलफल गर्नु उनीहरुको लागि निकै महत्वपूर्ण हुन्छ ।

यदि खुलारुपमा अभिभावकले उनीहरुसँग कुराकानी गर्न थाल्ने हो भने उनीहरुले आक्रोश, डिप्रेशन, रिलेशन र लागूऔषध र अल्कोहलको प्रयोगका साथै यौनको विषयमा पनि आफ्नो उत्सुकता व्यक्त गर्न थाल्छन् ।

यौनको विषयमा कुरा शुरु गर्दै उनीहरु बढ्दै गएसँगै त्यसलाई निरन्तरता दिँदै जानु अभिभावकले बालबालिकालाई यौन शिक्षा सिकाउने सबैभन्दा राम्रो तरिका हो । यसले अभिभावकलाई आफ्ना बालबालिकासँगको सबैभन्दा असहज लाग्ने कुराकानीमा सहयोग पुर्‍याउँछ ।

किनकी धेरै पछि मात्र उनीहरुसँग यस विषयमा कुरा गर्दा उनीहरुले आफ्ना साथीहरुबाट यस विषयमा धेरै कुरा सिकिसकेका हुन्छन् । यस किसिमको कुराकानी उनीहरुले जब जीन्दगीको विषयमा बुझ्न थाल्छन्, त्यतिबेला देखि नै शुरु गर्नुपर्छ । जस्तो कि कहिलेकाहीँ उनीहरुले एक गर्भवती महिला वा निकै सानो बच्चालाई देखेर प्रश्न गर्न सक्छन् । यो बेलादेखि नै सामान्य रुपमा उनीहरुलाई यौनको विषयमा जानकारी दिँदै जानुपर्छ ।

जब अभिभावकले आफ्ना बालबालिकासँग यौनको कुरा गर्छन्, त्यतिबेला उनीहरुलाई पनि मैलै सही सूचना पाइरहेको छु भन्ने आभाष हुन्छ । अभिभावक बच्चाको लागि यौनको विषयमा जानकारी दिने पहिलो शिक्षक हुनु जरुरी हुन्छ ।

पारिवारिक महत्व बुझाउनु

यौन शिक्षाले बालबालिकालाई परिवारको महत्व बुझाउन पनि सहयोग पुर्‍याउँछ । उदाहरणको लागि यदि तपाईंलाई यौन सम्बन्ध विवाहपछिको मात्र ठीक हुन्छ भन्ने लाग्छ भने उनीहरुलाई यसको विषयमा चर्चा गर्नु जरुरी हुन्छ । यदि यौनको विषयमा तपाईं घरमा चर्चा गर्नुहुन्न भने यसले बच्चाहरुले यो कुरालाई वास्तविकरुपमा नबुझ्ने समस्या पनि हुन सक्छ ।

बालबालिकाहरुले अभिभावकले सोचेको भन्दै निके छिटो यौनको विषयमा जानकारी प्राप्त गर्न शुरु गरिसकेका हुन्छन् । बालबालिकासँग यौनको विषयमा कुरा नगर्नु भनेको अभिभावकले आफ्ना बालबालिकामाथिको यौनबारे जान्ने इच्छामाथि नियन्त्रण राख्नु हो ।

स्कुल, खेल मैदान र सञ्चार

अभिभावकले यौन शिक्षाको विषयमा कहिल्यै पनि विद्यालय प्रणालीको भर पर्नु हुँदैन । विद्यालयमा उनीहरुले यौन शिक्षा पढिरहेका छन् भने पनि उनीहरुलाई घरमा आएर आज के पढ्यौ ? भनेर उनीहरुले जानेका कुरालाई पुनः दोहोर्‍याउनुपर्छ ।

बालबालिकाले आफ्ना साथीहरु र सामाजिक सञ्जालबाट पाएको जानकारी पूर्ण वा सही नहुन पनि सक्छ । यस किसिमको जानकारीले उनीहरुमाथि अर्को जोखिम बढाउन पनि सक्छ । हुन त यस्ता कुरा अहिले सामाजिक सञ्जालहरुबाट पनि पाउन सकिन्छ । तर, सामाजिक सञ्जाल सनसनीपूर्ण र सतही अर्थमा जोडिएको छ । यसबाट पूरा र सही जानकारी पाउन सकिँदैन । यहाँ वास्तविक रिलेशनशीप र यौन शिक्षाको अभाव देखिन्छ । त्यसका साथै यौनजन्य गतिविधिको जोखिम भने सामाजिक सञ्जालमा खासै धेरै उल्लेख गरिएको हुँदैन ।

यौन शिक्षा दिनु सुरक्षित

यौन शिक्षा नदिनुभन्दा दिनु धेरै सुरक्षित हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । यदि सामाजिक सञ्जालमा बालबालिकाले कुनै यौनजन्य तस्वीर देखेको खण्डमा अलिक उमेर पुगेपछि उनीहरु यौनजन्य गतिविधिमा संलग्न हुने सम्भावना बढी हुने गरेको धेरै अध्ययनले देखाएको छ ।

वास्तविक यौन शिक्षाले गलतरुपमा यौनजन्य गतिविधि गर्ने सम्भावना भने बढाउँदैन । घरमा नै यौन शिक्षा पाउने बालबालिकामा जोखिमपूर्ण यौनजन्य गतिविधिको जोखिम भने कम हुने गरेको अध्ययनले देखाएका छन् ।

खुलारुपमा यौनको विषयमा चर्चा गर्नु उनीहरुको लागि दीर्घकालीन रुपमा स्वस्थवर्धक र सुरक्षित पनि हुन्छ । अझै पनि किशोरवयका बालबालिकाहरु धेरै कुरा आफ्नै हिसाबले गर्न चाहन्छन् । यस्तोमा अभिभावकले उनीहरुसँग यौनको कुरा खुलेर गर्ने हो भने कुनै समस्या आइपर्दा उनीहरुले आफ्नो कुरा अभिभावकलाई सुनाउने गर्छन् । यसबाट अभिभावक र बालबालिका बीचको सम्बन्ध पनि सुमधुर हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment