Comments Add Comment

पत्रकार वीरेन्द्र साह हत्या प्रकरण : १२ वर्षपछि खोलो फर्कियो

हत्याका मुख्य अरोपी कुन्दन समातिए

२५ फागुन, वीरगञ्ज । तत्कालीन माओवादीले १८ असोज २०६४ मा बारा इनर्वासिरा–८ बस्ने ३४ बर्षका पत्रकार बिरेन्द्र साहको अपहरण गर्‍यो ।

तत्कालीन उम्जन गाविस पिप्रा बसतपुरबाट अपहरणमा परेका उनको शव २२ कात्तिकमा साविकको डुमरवाना–७ स्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । शवसँगै गाडिएको डटपेन र डायरी अहिले पनि नेपाल पत्रकार महासंघमा सुरक्षित छ ।

साह त्यतिखेर बारा जिल्लाबाट एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा खबर पठाउँथे । उनी तत्कालीन नेकपा (एमाले) निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए । साहको हत्या भएपछि दोषीमाथि कारबाहीको माग गर्दै देशभरका पत्रकार आन्दोलनमा उत्रिए ।

कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरि समेतका ५ जनाले अपरहण गरी गोली हानेर हत्या गरेको आरोपमा पत्रकार साहका परिवारजनले प्रहरीमा उजुरी दिए ।

वीरेन्द्रसँगै अपहरणमा परेर मुक्त भएका रामदेव दासले जिल्ला प्रहरी कार्यालय बारालाई दिएको जानकारीअनुसार १८ असोज ०६४ मा वीरेन्द्रसँगै उनी सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको कार्यालयमा पुगेर काठ खरिद गरी पिपरा बजारमा खाजा खान बसेका थिए ।

त्यहीबेला माओवादी कार्यकर्ता कुन्दन फौजदार र रामएकबाल सहनी आएर ‘अवैध काठ समातेका छौं, समाचार बनाउनुपर्‍यो’ भनेका थिए । वीरेन्द्रले ‘क्यामेरा ल्याएको छैन, म मात्रै जान्न’ भनेपछि कुन्दनले वीरेन्द्र र रामएकबाल सहनीले रामदेवलाई पेस्तोल देखाएर अपहरण गरेका थिए ।

नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले २३ असोज ०६४ मा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण नेकपा (माओवादी) ले गरेको निश्कर्ष सुनायो ।

प्रहरीले बारा ईनर्वाशिरा–९ बस्ने ३४ बर्षका मनेजर गिरीलाई ०६५ असोज १९ गते र बारा खोपवा–८ बस्ने २६ बर्षका राम एकवाल सहनीलाई त्यही वर्ष पुष २१ गते पक्राउ गरी अनुसन्धान शुरु गर्‍यो । बारा जिल्ला अदालतले उनीहरुलाई सर्वस्वसहित जन्म कैदको फैसला गर्‍यो । उनीहरु कैद भुक्तानका लागि कारागारमा छन् ।

बारामा मारिएका पत्रकार वीरेन्द्र साह ।

तर हत्याका मुख्य अभियुक्तको रुपमा रहेका कुन्दन भन्ने नरेन्द्र कुमार फौजदारलाई प्रहरीले राजनीतिक पहुँचको कारण पक्राउ गर्न सकिरहेको थिएन । प्रहरीले फरार भने पनि उनी गाउँमै थिए । स्थानीय विद्यालयको व्यवस्थापन समितिको अध्यक्षसमेत बनेका थिए ।

यसरी पक्राउ परे कुन्दन फौजदार

१२ बर्षपछि खोलो फर्किन्छ भन्ने नेपाली उखान चलन चल्तीमा छ । वीरेन्द्र साहको परिवारले १२ वर्षपछि न्याय पाउने छाँटकाट देखिएको छ ।

साहको अपहरण तथा हत्या प्रकरणका मुख्य अभियुक्त कुन्दन भन्ने ५१ बर्षीय नरेन्द्रकुमार फौजदारलाई प्रहरीले आइतबार बिहान २ बजे गाउँबाटै पक्राउ गरेको छ । बारा गडहल गाविस वडा नं.५ हाल परिवर्तित बारागढी गाउँपालिका–६ गडहल टोलबाट फौजदारलाई नियन्त्रणमा लिएको हो । गाउँघरमा प्रवेश गरी लुकिछिपी बसेको कुरा प्राविधिक अनुसन्धान तथा विशेष सुराकीको आधारमा गएको टोलीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए ।

फौजदार बस्न सक्ने सम्भावित एरियालाई घेरा हालेर सर्च गर्ने क्रममा घरबाटै नियन्त्रणमा प्रहरीले जनाएको छ । उनी आफैं प्रहरीलाई छक्याएर भाग्न खोजेका थिए भने परिवारजन तथा छरछिमेकीले अवरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४ राउण्ड हवाई फायरसमेत गर्नुपरेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी फौजदारलाई बारा जिल्ला अदालतमा पेश गर्ने प्रहरीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमल उपाध्याय प्रहरीको कदम सकारात्मक भए पनि पूर्ण रुपमा सन्तुष्ट हुने अवस्था नरहेको बताउँछन् । ‘महासंघले पहिलेदेखि नै सबै अरोपीलाई समातेर कारबाही हुनुपर्छ भन्ने माग गर्दै आएको हो । फौजदारलाई पक्राउ गरेर सकारात्मक कदम चालेको छ’ उनले भने, ‘सम्पूर्ण आरोपीलाई पक्राउ गरेर कारबाही हुनुपर्छ ।’

साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी, हरेराम पटेललाई पक्राउ गर्न जिल्ला अदालत बाराले आदेश दिए पनि उनीहरु पक्राउ परेका छैनन् ।

अवैध गतिविधिमा फौजदारको संलग्नता

पत्रकार साह हत्यामा पक्राउ परेका फौजदार विभिन्‍न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । फौजदार डाँका मुद्दा र औषध मुद्दामा समेत फरार सूचीमा रहेको प्रहरीले जनाएको छ ।

उनीसहित आठ जनाको समूहले हातहतियार देखाएर २० कात्तिक २०६८ गडहलका दीपेन्द्रप्रसाद यादवसमेतको घरबाट सुन चाँदीका गरगहना र नगद तीन लाख लुटपाट गरेका थिए र, डाँका मुद्दामा उनी फरार सूचीमा थिए ।

लागू औषध मुद्दामा पनि फौजदारको संलग्नता रहेको प्रहरी रेकर्डमा देखिएको छ । उनी २०७५ जेठ २४ गते कलैया उपमहानगरपालिका–१ स्थित सडकमा सवारी साधन चेकजाँचको क्रममा ना.२ ह १५५८ नम्बरको अटोमा लागुऔषध फेनारगन ७७ पिस, नुर्फिन २५ पिस र डाइजेल्याब १ पिस फेला परेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment