Comments Add Comment

सडक विभागको दाबी : अब ट्रम्प नै आए पनि सडकमा रातारात काम गर्नुपर्दैन

२६ फागुन, काठमाडौं । गत फागुन ३ गते कांग्रेस सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिँदै संसदमा भनेकी थिइन्, ‘सडकको अवस्था सुध्रियो भन्नुहुन्छ, सोह्रखुट्टेदेखि बालाजुसम्मको सडकमा यात्रा गर्नुस्, अनि थाहा पाउनुहुन्छ, अवस्था के छ भन्ने ।’

हुन पनि यो सडकको हालत गतहप्तासम्म बिजोक नै थियो ।

खानेपानीको पाइप फुटेर हैरान बनाएको यो खण्डलाई सडक विभागले अघिल्लोे हप्तामा कालोपत्रे गरेको छ ।

यही सडकलाई नै देखाएर सरकारको धेरै आलोचना हुन थालेपछि विभागले तीव्रताका साथ सडक मर्मत गर्‍यो । यो काम छिटो गराउन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा राति–राति निरीक्षणमा खटिएका थिए ।

सडक विभागको भनाइ मान्ने हो भने अब काठमाडौंभित्र आफ्नो अधिकार क्षेत्रभित्रका थोरै सडकमात्र टलिने गरी कालोपत्रे गर्न र खाल्डा पुर्न बाँकी छन् । तीमध्ये कतिपयमा ठेकेदारको लापरबाही र स्थानीयको अवरोधले समस्या भएको छ । कतिमा ठेक्का नै लाग्न सकेको छैन भने कतिपय सडकमा खानेपानी र ढलका पाइप फुट्ने समस्याले काम गर्न नसक्ने अवस्था छ ।

राती सडकमा भइरहेको कामको निरीक्षण गर्दै महानिर्देशक शर्मा

तथ्यांकअनुसार काठमाडौं उपत्यकाभरि करिब ९ सय किलोमिटर सडक छ । त्यसमध्ये ५ सय किलोमिटर विभिन्न सरकारी निकाय र सडक स्थानीय तहको जिम्मामा छन् भने करिब ४ सय किलोमिटर सडक विभागले हेर्छ ।

सडक विभागले ८ मिटरभन्दा फराकिलो सडक हेर्छ भने त्योभन्दा साना सडक स्थानीय तहले । अहिले ८ मिटरभन्दा फराकिला सडकहरु धमाधम कालोपत्रे भइरहेका छ । कालोपत्रे नभएका सडकमा पनि खाल्डाहरु पुर्ने काम भइरहेको छ ।

सडक विभागको दाबीलाई पत्याउने हो भने फागुन महिनाभित्र काठमाडौंभित्र आफ्नो कार्यक्षेत्रका प्रायः सबै सडकको खाल्डा पुर्ने काम सकिने छ ।

विभागमा महानिर्देशक शर्माका अनुसार यो वर्ष पानी परेर समस्या भएको बाहेक हरेक दिन निर्धारित कामहरु रोकिएका छैनन् । मर्मतको कामलाई जोडबलका साथ अघि बढाए कै कारण हिउँदमै सडकहरुको अवस्था राम्रो बनाउन सकिएको उनको भनाइ छ ।

फागुनसम्म जसरी पनि काठमाडौंका सडकलाई नयाँ रुप दिने विभागको प्रतिवद्धताअनुसार काम भइरहेको शर्माले बताए ।

तथ्यांकअनुसार विभागले यो वर्ष मात्रै १० हजारभन्दा बढी खाल्डा पुरेको छ । अघिल्ला वर्षहरुमा वर्षायाममा खर्च हुने बजेटलाई यो वर्ष हिउँदमै परिचालन गरिएको विभागविभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा बताउँछन् ।

यो वर्ष सडक मर्मतका लागि सडक बोर्डबाट करिब ६ अर्ब बजेट प्राप्त भएको थियो भने सरकारले पनि थप बजेटको व्यवस्था गरेको थियो । त्यसमध्ये करिब डेढ अर्ब रकम काठमाडौंको सडक सुधार्न खर्च गर्ने योजना छ ।

‘अमेरिकाकै राष्ट्रपति आएपनि नो टेन्सन’

सडक विभागले विगतका वर्षमा सडकहरुको आवधिक मर्मत गर्न खासै चासो दिएको थिएन । यो वर्ष भौतिक पूर्वाधार मन्त्रालयको पहलकदमी र विभागको सक्रियतामा बजेटमै विगतको भन्दा केही बढी बजेट व्यवस्थापन भएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले विभागप्रति विश्वास देखाएरै मर्मतका लागि इतिहास कै बढी बजेट दिएका थिए । यो वर्ष विभागले मर्मतका लागि साउनबाटै ठेक्का प्रक्रिया सुरू गरेको थियो ।  अहिले उपत्यकाका कालोपत्रे सडकहरुमा ‘ओभर-ले’ थप्ने काम भइरहेको छ ।

यसले अबको ४ वर्ष सडक चुस्त अवस्थामा रहने विभागका महानिर्देशक शर्मा बताउँछन् । सडकको आयु बढाउन यसरी थपिएको कालोपत्रले सहयोग पुग्ने तर्क विभागको छ ।

‘यदि भोलि नै अमेरिकाको राष्ट्रपति काठमाडौं झर्नुभयो भने पनि विगतको जसरी हतार–हतार रातारात सडक पिच गर्नु पर्दैन,’ शर्मा भन्छन्,‘हामीले सडकहरुलाई चुस्त अवस्थामा राखेका छौं ।’

प्रायः अन्तर्राष्ट्रिय सभा सम्मेलन र विदेशी अति विशिष्ट पाहुना आउने समयमा मात्रै काठमाडौंमा सडक कालोपत्रे गरेर टल्काउने प्रचलन छ । गत असोज अन्तिम साता चिनियाँ राष्ट्रपति आउँदा पनि विभागले रातारात सवारी हुने सडकहरु मर्मत गरेको थियो ।

त्यसअघि बिमिस्टेक र सार्क शिखर सम्मेलनका बेलामा पनि त्यसैगरी सडकहरुको मर्मत गरिएको थियो । विभिन्न समयमा भारतीय प्रधानमन्त्री आउँदा पनि सडकहरु मर्मतको काम भएका थिए ।

त्यसबाहेक सडक मर्मतको काम खासै नदेखेका सर्वसधाराणहरुहरुले यो वर्ष भने हिँउदमै सडकमा ठेकेदारले काम गरेको देख्न पाएका छन् । विभागले अहिले हेरक दिनजसो रातिको समय पारेर सडक मर्मतको काम गरिहरहरेको छ ।

महानिर्देशक शर्मा विशिष्ट पाहुनाको सवारी हुनेसहित सबैजसो महत्वपूर्ण सडक खण्डलाई सँधै राम्रो अवस्थामा राख्न सुरु गरिएको बताउँछन् ।

विभागका उपमहानिर्देशक सापकोटाका अनुसार यो वर्ष विभागले जाडो मौसममा पनि कालोपत्रेको काम रोकेन । अघिल्ला वर्षहरुमा जाडो मौसममा कालोपत्रे गर्दा प्रभावकारी नहुने बाहाना देखाएर काम गरिँदैनथ्यो । तर, विभागले सडकमा उपयुक्त प्रविधि अपनाएर कालोपत्रे गर्ने काम नरोकेको हो ।

केही सडकमा अझै समस्या

विभागलाई अहिले मुख्य टाउको दुखाई बनेको सडक हो, पुतली सडक । पुतलीसडकदेखि सिंहदरबारसम्मको सडकमा खानेपानीको पाइपको जालो छ । जहाँ पानी चुहावट भएर सडक बिग्रिरहन्छ । यो सडकलाई पनि समस्या नआउने गरी मर्मत गरेपछि काठमाडौंका मुख्य सडकहरुको अवस्थामा आमूल परिवर्तनको महसुस हुने शर्माले बताए ।

विभागका अनुसार कलंकी–महाराजगञ्ज–गोपीकृष्ण खण्ड विस्तारको काम सुरु हुन लागेपनि सडकलाई बिग्रन दिइएको छैन । चक्रपथको चाबहिल–गौशाला खण्डमा खानेपानीको पाइप व्यवस्थापन गर्ने गरी ठेक्का लगाएर सडक स्तरोन्नतिको काम भइरहेको छ । चक्रपथका अन्य खण्डका खासै समस्या नभएको शर्माले बताए ।

त्यसैगरी चाबहिल–साँखु सडकखण्डको काम भए वर्षभित्र सक्ने गरी विभागले ठेकेदारहरुमाथि दबाव बढाएको छ । चापागाउँ जाने सडकको अवरोध पनि हटेको छ । सार्वजनिक खरिद नियमावलीले अन्तिम पटकका लागि दिएको मौकाअनुसार आगामी फागुनसम्म यो सडकखण्ड विस्तारको काम सकिने दाबी विभाग बताउँछ ।

‘टोखा जाने रोडमा ३ पटकमा पनि ठेक्का लागेन, त्यसैले विभागीय स्तरमै त्यसलाई सुधार्न लागेका छौं,’ शर्माले भने,‘विभागको अधिकार क्षेत्रभित्र रहेका सडकहरु कुनै पनि खराब अवस्थामा रहन नदिन प्रयत्न गरिरहेका छौं ।’

विभागले मुख्य राजमार्गहरुलाई पनि चुस्त अवस्थामा राख्न डिभिजनहरुलाई जिम्मेवार बनाएको छ ।

विभागको चिन्ता

हिउँदबाटै सडकलाई चुस्त राख्ने गरी थालिएको पद्धतीलाई निरन्तरता दिने चुनौती विभागलाई छ । अहिले सडकहरुको अवस्था सुधारिए पनि अरु निकायले हेरिरहेका सडकको खराब अवस्थाले पनि विभागलाई चिन्तित बनाएको छ ।

काठमाडौंका उपत्यका विकास प्राधिकरण, बाग्मती सभ्यता एकीकृत विकास समिति, स्थानीय तह लगायतले पनि काठमाडौंभित्रका सडकहरु हेर्छन् । उनीहरुको अधिकार क्षेत्रभित्र रहेका सडकहरु खराब अवस्थामा हुँदा त्यसो असर विभागले हेर्ने सडकमा परिरहेको छ ।

करिडोर सडकहरु विभागले हेर्दैन, तर बिजोग अवस्थामा रहेका करिडोर सडकबाट धुलो र हिलो लिएर सवारीहरु मुख्य सडकमा आइरहेका छन् । जसले गर्दा कालोपत्रे भएका सडकमा पनि धुलो हट्न सकेको छैन ।

विभागले बनाइसकेका सडकमा पाइप, तार, अप्टिकल, ढल बिछ्याउन विभिन्न निकालय अनुमति मागिरहेका छन् । यसले गर्दा राम्रो अवस्थामा ल्याइएको सडकलाई फेरि पनि क्षति पुग्ने डर विभागलाई छ ।

काडमाडौं सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपाली सडक खन्न माग गर्दै दर्जनौं निवेदन आइरहेको बताउँछन् ।

‘सडक खनेपछि तुरुन्तै पुरानै अवस्थामा ल्याउन जिम्मेवार नबनाई अनुमति दिन सकिन्न,’ उनले भने,‘पाइप बिछ्याउने नाममा खाल्डा खन्ने, त्यसको माटो सडकभरि छर्ने, अनि खाल्डा पनि समयमै नपुर्ने लगायतको समस्या अब हामी भोग्न चाहँदैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment