Comments Add Comment

वीरगञ्जको सडकमा बिरामी वृद्धा

२६ फागुन, वीरगञ्ज । थोत्रो अनि मैलो कपडा लगाएकी, कपाल सेतै फुलेको, साथमा कपडा राखेको बोरा । बसेकै ठाउँमा दिसा पिसाब गरेकोझैं देखिन्छ । स्वीटर र पछ्यौराले शरीर ढाकिएको छ । वीरगञ्जमा अलपत्र एक वृद्ध महिलाको हुलिया हो यो ।

उनी केही समययता वीरगञ्जको घण्टाघरदेखि उत्तरतिरको डिभाइडरमा बस्दै आएकी छिन् । उनको हातमा आलो घाउ छ । चोट लागेको हात घाँटीमा झुण्ड्याएकी छिन् । कसैले दया लागेर केही दिए खान्छिन्, नभए झोक्राएर बसिरहन्छिन् । कम बोल्छिन्, बोलेको पनि सजिलै बुझिन्न ।

वीरगञ्जमा उनी जस्तै सडकमा अलपत्र अवस्थामा धेरै बेसहारा महिला तथा पुरुषहरु देखिन्छन् । देशको प्रमुख नाका सबैतिर सडक सञ्जालले जोडिएको ठाउँ । वीरगञ्जमा विभिन्न ठाउँबाट बेसहारा मानिस ल्याएर छोडिन्छ । वीरगञ्जमा कतिपय दिनभर मागेर रकम जम्मा गर्ने अनि घर फर्केर जाने र भोलिपल्ट त्यही दिनचर्या दोहोर्‍याउनेहरु पनि छन् ।

त्यसो वीरगञ्जमा यस्तै अलपत्र अवस्थामा रहेका मानिसहरुको उद्दार गरी गाँस, बास, कपास दिन मानव सेवा आश्रमको शाखा खुलेको छ । भाडाको घरमा रहेको आश्रममा ४० जना आश्रित छन् । आश्रममा गास, बास र कपासको प्रबन्ध र औषधीको व्यवस्था पनि गरिन्छ । आश्रमका लागि वीरगञ्ज महानगरपालिकाले जग्गा समेत दिइसकेको छ ।

तर उनको हातको उपचारका लागि नियमित चिकित्सकको निगरानी आवश्यक देखिएकोले उद्दार गर्न नसकिएको आश्रमका संरक्षक एवं सामाजिक अभियन्ता प्रकाश थारु बताउँछन् । ‘हामीले भ्यालेन्टाइन डे कै दिन उद्दार गर्न खोजेका हौं, तर उनको हातको घाउमा किरा परेको छ’ उनले भने, ‘पहिला घाउको उपचार नगरी आश्रममा लैजान भएन । उपचारका लागि सरोकारवालाको सहयोग पाएनौं ।’

वीरगञ्ज महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र नारायणी अस्पतालले महिलाको उद्दार र उपचारमा सहयोग गर्नुपर्ने उनी बताउँछन् ।

नगर प्रमुख विजयकुमार सरावगी सडक मानव व्यवस्थापनमा खुल्ला सीमा चुनौती देखिएको बताउँछन् । ‘सडकमा कोही अलपत्र अवस्थामा नरहुन् भन्ने चाहना हाम्रो हो । त्यसका लागि मानव सेवा आश्रमलाई सहयोग पनि गरिरहेका छौं’ उनले भने ‘तर वीरगञ्जको परिस्थिति अलि बेग्लै छ, रक्सौलतिरबाट यता भिख माग्न आउनेको संख्या धेरै देखियो । बेसाहारा पनि आइपुग्छन् ।’

उनले पछिल्लो समयमा उद्दार गरिएका अधिकांश मानिसहरु नेपाली नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment