Comments Add Comment

सचिवको दाबी : एउटै घरमा १५ वटा सिलिण्डर थुप्रियो

२७ फागुन, काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण कारण नेपालमा त्रास छ । संक्रमण देखियो भने दैनिक उपभोग्य वस्तुको अभाव हुने आशंकामा सर्वसाधारणले अनावश्यक मौज्दात गर्न थालेका छन् ।

खाना पकाउने एलपी ग्यासको लाइन देखिन थालेको छ । जबकी ग्यासको अभाव नभएको आपूर्तिकर्ता नेपाल आयल निगमले बताउँदै आएको छ । तर नियमित मागभन्दा बढी ग्यास बिक्री भएकाले उपभोक्ताले सञ्चय गर्न थालेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालका अनुसार एउटै परिवारले १५ वटासम्म सिलिण्डर राखेको भेटिएको छ ।

आपूर्तिसम्बन्धी विद्यमान अवस्थाबारे छलफल गर्न नेपाल चेम्बर अफ कमर्शले गरेको कार्यक्रममा अर्यालले आफ्ना विभागीयमन्त्री लेखराज भट्टको हवाला दिँदै सुनाए, ‘हिजो माननीय मन्त्रीज्यू एक आफन्तको घरमा जानु भएको रहेछ । आफन्तले हामीले त ग्यास नै भर्न पाएनौं भनेर गुनासो गरेछन् । कति वटा सिलिण्डर छन् घरमा भनेको त १५ वटा रे ! एउटा परिवारले १५ वटा सिलिण्डर राखेर बसेको छ, अनि ग्यास पाइएन भन्ने गुनासो आउँछ ।’

यसरी मौज्दात राख्दा अन्य सर्वसाधारणलाई असर पर्ने भन्दै उनले भने, ‘हामीसँग ग्यास छ, तर भर्ने सिलिण्डर भएन । सिलिण्डर जति घरमा मौज्दात भयो ।’

उनले मन्त्री भट्टकै अर्को प्रसंग पनि सुनाए । निरीक्षणमा जाँदा एकै परिवारले ५० किलो नुन र भरमार औषधी मौज्दातमा राख्न किनेको मन्त्रीले प्रत्यक्ष देखेछन् । ‘त्यस्तो देख्दा पनि कारबाही किन गर्न सक्नु भएन त ?’ अनलाइनखबरको जिज्ञासामा सचिवले भने, ‘धेरै किन्ने वा बेच्नेलाई कारबाही गर्ने कुनै नियम छैन ।’

आपूर्ति सचिव अर्यालले ग्यास उद्योगीहरुलाई नयाँ सिलिण्डर बिक्री–वितरण नगर्न पनि आग्रह गरे । नयाँ सिलिण्डर किनेर मौज्दात राख्ने क्रम बढेको भन्दै उनले यस्तो आग्रह गरेका हुन् ।

मास्कको अभाव भएको भने उनले स्वीकार गरे । मास्क उत्पादन हुन नसक्दा अभाव भएको भन्दै उनले समस्या समाधानका लागि पहल भइरहेको बताए । कालोबजारी भएको भए ११३७ मा फोन आग्रह गर्दै उनले भने, ‘कुनै बिक्रेताले तोकिएको मूल्य भन्दा बढी लिएको पाए कारबाही गरिने छ ।’

स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव यादव कोइरालाले औषधीजन्य सामग्रीको अभाव नहुने दाबी गरे । थुपार्ने चलन खराब भएको भन्दै अनावश्यक रुपमा औषधी मौज्दातमा नराख्न आग्रह गरे । ‘नचाहिने कुरामा चिन्ता गर्दैछौं,’ उनले भने, ‘चीनमा कोरानो नियन्त्रणमा आइसक्यो, हामी किन डराउनु ? हामीले एकले अर्कोलाई सहयोग गरेर सजगता अपनाउनु पर्छ ।’

नाकामा सामाग्री थुनिए, छुटाइदिन आग्रह

कार्यक्रममा उद्योगी–व्यवसायीहरुले पनि उपभोग्य वस्तुको अभाव नभएको बताए । तर सीमा नाकामा केही वस्तु अड्किएकाले छुटाइदिन सरकारलाई आग्रह गरेका छन् ।

चेम्बर अफ कमर्सका सामाजिक तथा स्वास्थ्य समिति सभापति तथा औषधी व्यवसायी मृगेन्द्रमेहर श्रेष्ठले मौज्दात पर्याप्त रहेकाले डराउनुपर्ने अवस्था नरहेको बताए । पारासिटामोल भने भारतीय नाकामा अड्किएको भन्दै छुटाउने पहल गर्न सरकारलाई आग्रह गरे । औषधी व्यवसायी संघका पूर्वअध्यक्ष शंकर घिमिरेले पनि हल्लाका कारण मात्रै औषधी अभाव जस्तो देखिएको बताए ।

फलफूल व्यवसायी कुमार पाण्डेले चिनियाँ नाकामा धेरै फलफूल रोकिएको गुनासो गरे । नाकामा फलफूल रोकिँदा व्यवसाय डुब्ने खतरा भएको चिन्ता उनको थियो । ‘हाम्रो सामान नाकामा थन्किएको छ, हामी आत्महत्या गर्नुपर्ने अवस्थामा पुगिसकेको छौं’ उनले भने, ‘तर मन्त्रीज्यू मिडियामा नाका सहज छ भन्दै हिड्नु भएको छ ।’ नाकामा रोकिएका सामान छुटाउने पहल गर्न उनले आग्रह गरे ।

कार्यक्रममा रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरेले कालोबजारी गर्नेहरु नियमित व्यापारी नभएको दाबी गरे । उनले मौकाका फाइदा उठाउनेहरुले मात्रै महंगो रकम लिएर वस्तुहरु बिक्री गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment