Comments Add Comment

एक वर्षसम्म अन्योलमै रह्यो आगलागीमा ४ जना मारिएको घटना

भग्नावशेष नहटाउँदा स्थानीय त्रासमा

आगलागीमा परी चार जनाको मृत्यु भएको घर । तस्वीरः विनोद सापकोटा

स्थान : शिवसताक्षी नगपालिका–७, लालझोडा (झापा)
मिति : २०७५ मंसिर १०
समय : करिब १० बजे ।

झिलझिलेबाट माहाभारा जोड्ने सडकको सय मिटर पश्चिम । काठको दुईतले कच्ची घर । राति एक्कासी आगलागी हुँदा दुई नाबालकसहित ४ जनाको सुतेकै अवस्थामा मृत्यु भयो ।

माथिल्लो तलामा सुतेका ३४ वर्षीय लक्ष्मण खनाल, श्रीमती २८ वर्षीया राधिका, ४ वर्षीया छोरी चन्द्रा र पाँच महिनाका छोरा टीकारामको मृत्युले एउटा परिवारको वंश नै सिध्यायो ।

घटनापछि स्थानीय र आफन्तले आगलागी सुनियोजित हुनसक्ने आशंका गरे ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले घटना भवितव्य हुनै नसक्ने दाबी गरे । ११ मंसिरमा घटनास्थल पुगेका शर्माले घटनाको सुक्ष्म अनुसन्धान गरी दोषी पत्ता लगाएर कारबाही गर्न सार्वजनिक रुपमै अपिल गरेका थिए ।

घटनाको १३ महिना बितिसक्यो, स्थानीयले घटना नियोजित वा भवितव्य के थियो भनेर प्रहरी, प्रशासनबाट जानकारी पाउन सकेका छैनन् ।
प्रहरीले पनि अनुसन्धान कहाँ पुग्यो भन्ने बताउन चाहेको छैन ।

भवितव्यको शंका तर, छैन प्रमाण

उक्त घटनाको अनुसन्धानका लागि स्थानीय प्रहरीदेखि क्षेत्रीय प्रहरी अनुसन्धान समूह (आरआईटी) को टोली खटिएको थियो ।

टोलीले घटना भएको समयमा त्यस आसपासमा सक्रिय सयौं मोबाइल नम्बरको विश्लेषण गर्‍यो । बीटीएस लोकेसनका आधारमा गरिएको विश्लेषणमा कुनै नम्बर शंकास्पद फेला परेन ।

ज्यान गुमाउने परिवारका सदस्यको कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषणबाट पनि कुनै सूत्र पत्ता लागेन । अनुसन्धान अधिकृतले कुनै पनि अपराध अनुसन्धानका सुरुवातमा कारणबारे खोजी गर्छन् । यो प्रकरणमा कर्तव्य (हत्या) हुनसक्ने आशंका उब्जिएकाले प्रहरीले त्यसका सम्भावित कारणबारे खोजी गर्‍यो ।

तर, प्राविधिक विश्लेषणबाट कसैले हत्या गर्नुपर्ने कारण देखिएन । छरछिमेक र आफन्तसँग लिइएको बयानबाट पनि कोहीसँग रिसइबी हुनसक्ने आधार टोलीले भेटेन ।

यदि हत्या हुनसक्ने कारण देखिँदैन भने भवितव्यको आधार चाहिँ के छ त ?

अहिलेसम्म त्यो आधार पनि भेटिएको छैन । त्यसैले प्रहरीले यो प्रकरणमा सार्वजनिक रुपमा प्रतिक्रिया दिन नसकेको टोलीका एक सदस्यले बताए ।

यदि यो प्रकरणमा कर्तव्य पुष्टि नभए दुई वर्षपछि अनुसन्धान फाइल स्वतः बन्द हुन्छ । तर, कर्तव्य देखिए २० वर्षसम्म यो घटनाको अनुसन्धान खुलै रहन्छ ।

इलाका प्रहरी कार्यालय, दमकका डीएसपी विजयराज पण्डित भने घटनाबारे अनविज्ञता प्रकट गर्छन् । उनले भने, ‘म आउनुभन्दा अगाडिको घटना हो । त्यसैले मैले बुझ्नैपर्छ ।’

अनुसन्धान अधिकृतको अनुमान

यो घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार खनालको घरको तल पट्टी ट्याक्टर राखिएको थियो । चालकले राति आएर ट्याक्टर राखिसकेपछि चुरोट खाएको हुनसक्ने आशंका गरिएको छ ।

चालकले फ्याँकेको चुरोटको ठूटोकै कारण आगो सल्किएको हुनसक्ने अनुमान छ ।

घरमा डिजेल पनि राखिएकाले आगो चाँडै फैलिएको हुनसक्ने अनुसन्धान अधिकृतको अनुमान छ । तर, ट्रयाक्टर चालकले प्रहरीसँगको बयानमा चुरोट खाएको अस्वीकार गरेका छन् ।

आगो लागेपछि माथि गएको धुँवाको मुस्लोमा निस्सासिएर परिवारका सबै सदस्यको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । त्यही क्रममा लक्ष्मण (शव अलि पर भएकाले आशंका गरिएको) ले अर्ध वेहोसी अवस्थामै झ्यालबाट टर्च देखाएको हुनसक्ने अनुसन्धानबाट देखिएको छ ।
यद्यपि, अन्य व्यक्ति उद्दार गर्न पुग्नु अगावै उनको पनि मृत्यु भएको अनुमान छ । पोष्टमार्टम रिपोर्टले पनि यही दाबीलाई बल पुर्‍याएको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

भग्नावषेश हटाइएको छैन

अहिलेसम्म आगलागीको भग्नावशेष हटाइएको छैन । घटनास्थल यतिबेला झाडीले पुरिएको छ ।

यतिका अवधिसम्म आगलागीबाट डढेको घरको भग्नावशेष नहटाइँदा नजिकैको भानु माध्यमिक बिद्यालयका बालबालिका त्रासमा छन् ।

प्रधानाध्यापक डामकुमार कुँवर भन्छन्, ‘यो प्रशासनको लापरबाही हो । घटनाको मुचुल्का र अन्य आवश्यकीय प्रमाण संकलन गरेपछि देख्दै डर लाग्ने भग्नावशेष राखिरहनु ठीक होइन ।’

लालझोडा पश्चिम सिर्जना चोक जाने बाटैमा रहेको घटनास्थलमा साँझ बिहान सर्वसाधरण हिँड्न पनि डराउँछन् ।

विद्यालयले स्थानीय प्रशासन र शिवसताक्षी नगरपालिकालाई भग्नावशेष हटाउन लिखित रुपमै अनुरोध गरेको छ ।

मृतक लक्ष्मणका बुवा रामकृष्ण खनालले भग्नावशेष हटाइए प्रमाण नष्ट हुने भन्दै डढेको घरको खाँबोलगायतका काठ हटाउन दिएका छैनन् । उनले भने, ‘जबसम्म मेरो छोराको हत्यारा प्रहरीले पत्ता लगाउँदैन, तबसम्म घटनास्थल हटाउन दिन्न ।’

घटनास्थलमा गर्नुपर्ने आवश्यक काम भने तत्कालीन समयमा खटिएका सिन अफ क्राइम (सोको) अफिसरले गरिसकेका छन् । प्रमाण संकलन भइसकेको अवस्थामा भग्नावशेष हटाए पनि अनुसन्धानमा असर नगर्ने प्रहरी अधिकारीहरु बताउँछन् ।

आगलागीपछि लालझोडाका स्थानीयमा अझै त्रास छ । रातभर निद्रा नलाग्ने, डर लाग्ने, तर्सिने, आगलागीकै घटना सपनामा आउनेजस्ता समस्या रहेको स्थानीय डम्बर निरौलाले बताए ।

स्थानीयले भग्नावशेष हटाइदिन स्थानीय प्रशासन र नगरपालिकालाई अनुरोध गरेका छन् । घटनास्थलमा पुराण लगाउने स्थानीयको योजना मृतकका आफन्त र प्रशासनकै कारण तुहिएको स्थानीय बताउँछन् । स्थानीयले प्रहरीलाई प्रश्न गररेका छन्, ‘के अब घटनास्थल यत्तिकै छाडेर दिनहुँ त्रासमा हिँडिरहनुपर्ने हो ?’

– विनोद सापकोटाको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment