Comments Add Comment
अन्तरवार्ता :

‘खुट्टा कमाउने अवस्था आइसकेको छैन’

'नेपालमा कोरोना संक्रमण पुष्टि भएर पनि ठीक भइसकेको अवस्था छ'

२६ फागुन, काठमाडौं । कोरानाको सन्त्रासले बजारमा दैनिक उपभोग्य सामानको अभाव हुने त्रास बढेपछि अनलाइनखबरले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग कुरा गर्दा उनले ग्यास चामलको अभाव भएमा आफूले जिम्मा लिने बताएका थिए । सोमबार हामीले कोरोनाविरुद्धको सरकारी तयारी के छ भनेर स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकाललाई सोध्यौं ।

विश्वभर कोरोनाको सन्त्रास फैलिइरहँदा विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको छ । उच्च जोखिममा रहेको नेपालले कोरोनाविरुद्ध के-कस्तो तयारी गरिरहेको छ ? हामीले मन्त्री ढकालसँग यसको जवाफ माग्ने प्रयास गर्‍यौं ।

कोरोनाको जोखिमसँग जुध्ने तयारीबारे मन्त्री ढकाल ढुक्क देखिए । नेपालमा कोरोना संक्रमण पुष्टि भएर पनि ठीक भइसकेको बताउँदै उनले अहिले नै खुट्टा कमाउने बेला आइनसकेको र नआउने बताए ।

‘नेपालमा कोरोना संक्रमण पुष्टि भएर पनि ठीक भइसकेको अवस्था छ । अहिले ४३२ केसको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ’ मन्त्री ढकालले अनलाइनखबरसँग भने, ‘चीनबाट विद्यार्थी ल्याउनुअघि के-कस्ता विरोध भए, ल्याइसकेपछि के भयो, कसरी उद्धार गरियो र उनीहरुले सरकारलाई कसरी धन्यवाद दिए, सबैलाई थाहा छ । अहिले त्यतातिर नजाउँ ।’

प्रस्तुत छ, मन्त्री ढकालसँगको कुराकानीको सम्पादित अंश

विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिइरहँदा नेपाललाई पनि विश्व स्वासथ्य संगठनले उच्च जोखिममा राखेको छ, कोरोनाको तयारीका लागि सरकार के गर्दैछ ?

विश्वव्यापीरुपमा कोरोना संक्रमण भएपछि फागुन १८ गतेको क्याबिनेट मिटिङबाट हामीले कोरोनाबारे गर्नुपर्ने काम गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा एउटा कमिटी गठन गरेका छौँ । यो कमिटीले भैपरि आउने सबै काम गर्छ ।

त्यसैगरी मुख्यसचिवको नेतृत्वमा प्राविधिक टोली छ, जसले अस्पताल मात्र होइन अस्पतालसँग सम्बन्धित सबै काम गर्छ । हामीले सरकारका सबै सम्बन्धित अंग, स्थानीय तहका अस्पताललाई सतर्क रहन र भैपरी आए व्यवस्थापन गर्न सक्ने क्षमता बढाइराख्न निर्देशन दिइसकेका छौं ।

अहिले कोरोनाका कारण देशमा कृत्रिम अभाव देखिएको छ, तपाई स्वास्थ्यमन्त्रीको हैसियतले जनतालाई भयभित नबनौं, राज्यले व्यवस्था गर्छ भन्न सक्नुहुन्छ ?

निश्चय पनि सकिन्छ ।  राज्य जनताको अभिभावक हो । यस्तैबेला अभिभावक चाहिने हो । हामी अहिले यस्तै कुराको अभाव नहोस् भनेर छलफल गरिरहेका छौं । व्यवस्थित गर्ने प्रयास गरिरहेका छौं । नाकादेखि स्थानीय तहसम्मलाई  हामीले कोरोना विरुद्ध जुट्न निर्देशन दिएका छौं । भारतमा कोरोना संक्रमण भएकाले पनि हामी सचेत छौं ।

अहिले ८ वटा कोरोना संक्रमणको उच्च जोखिममा रहेका देशबाट नेपाल आउँदा जाँच गरेको ७ दिन नकटेको प्रमाणपत्र लिएर आउनुपर्ने हुन्छ । अहिले हामीले तीन किसिमका सावधानी अपनाएका छांै । अहिले हामी नेपालमा कोरोना भाइरस नभित्र्याउने भन्दै काम गरिरहेका छौं ।

अब ती ८ वटा देशबाट आउनेहरु १४ दिन होम क्वारेण्टाइनमा बस्नैपर्छ । होम क्वारेण्टाइनको मापदण्ड हामी दिन्छौं। नेपाली होस् या विदेशी, सबैले त्यो मापदण्ड पछ्याउनुुपर्छ । जसरी चीनमा रहेका विद्यार्थीलाई नेपालले उद्धार गरेर क्वारेण्टाइनमा राख्यो, अब अन्य देशमा रहेका नागरिकहरुलाई उद्धार गर्ने राज्यले तयारी गरेको छैन । तर, भक्तपुरको क्वारेण्टाइन केही भवितव्य आइहालेमा प्रयोग हुन्छ । त्यसै गरी अन्य देशमा जस्तै ठूलो महामारी आइलागे अहिले सञ्चालन भएका अस्पतालहरु क्वारेण्टाइनकै उपचारका लागि सञ्चालन गरिन्छ । अन्य देशहरुले पनि त्यही गरेका छन् । हामी अहिले त्यसैको तयारीमा छौं ।

पहिलो प्राथमिकता त कोरोना संक्रमण फैलन र छिर्न नदिने नै हो । हामी विज्ञापनको मोडलमा होइन, वास्तविकताको मोडलमा काम गरिरहेका छौं । औषधिदेखि खाद्यान्न अभाव हुन नदिने कुरामा सरकार प्रतिवद्ध छ । अहिले नै खुट्टा कमाउने अवस्था आइसकेको छैन । त्यो अवस्था आउँदैन ।

तपाईले सरकारले तयारी गरिरहेको छ, भयभित हुनुपर्दैन भनिरहँदा संक्रमण फैलिएको देशबाट आउने नागरिकहरु क्वारेण्टाइनमा नबसिकन मनलाग्दी घुमिरहेका छन्, डब्ल्युएचओका अनुसार यो त गम्भीर लापरवाही हो नि ?

संक्रमण फैलिने जोखिम त जहिले पनि जुन कुनैबाट पनि छ । किनभने, यो तुरुन्त प्रकट हुँदैन । त्यस्तो जोखिम त छ । हामीले एयरपोर्टमा पहिलेभन्दा राम्रो व्यवस्थापन गरेका छौं । पहिले के भयो, त्यसलाई छाड्नुस् । म यति विश्वास दिलाउँछु तपाईले पहिले देखेको एयरपोर्टको हेल्थ डेस्क र अबको हेल्थ डेस्क जाँच र सावधानी नै फरक छ । सरकारले आफूसँग भएको स्रोत र साधन प्रयोग गरेर तयारी गरिरहेको छ ।

सरकारले जनताका लागि तयारी गरिरहेको भनिरहँदा स्वास्थ्यकर्मीहरु नै पर्सनल प्रोटेक्टिभ इक्युपमेण्ट -पीपीई) नभएर जोखिममा छौँ भनिरहेका छन्, यो समस्या कसरी समाधान हुन्छ ?

पीपीई हामीले यहीँ तयारी गर्ने भन्दा पनि अन्तै तयारी भएको लिएर आउने हो । हामीले विभिन्न निकायबाट मगाउन पहल गरिरहेका छांै । हाम्रो देशमा तयार भएको मास्क त कालोबजारीका कारण पाएका छैनौँ, पीपीई त अन्य देशबाट ल्याउने हो । विश्वभर कोरोनाको सन्त्रास भइरहँदा पीपीई अभाव त हुन्छ नै । उत्पादन गर्ने देशले पनि आˆनो देशमा भवितव्य नआओस् भनेर राख्छ । अन्य देशलाई पठाउन गाह्रो मान्छ । तैपनि हामीले मगाउन पहल गरिरहेका छौं ।

कोरोनाबाट बच्न मुख्य गरी चाहिने मास्क, स्यानिटाइजरकै अभाव छ । स्वास्थ्यकर्मीका लागि पीपीई छैन । अस्पतालमा आइसोलेसन बेड पर्याप्त पर्याप्त छैन । यो अवस्थामा सरकारले  भयभित नहुनुस् भन्दैमा जनताले कसरी ढुक्क हुने ?

अहिले हामीले विभिन्न अस्पतालमा गरेर १५५ वटा आइसोलेसन बेड तयार गरेका छौं । अन्य अस्पतालहरुले आइसोलेसन बेड छैन भन्नुमा २ वटा मनोविज्ञानले काम गरेको छः प्राइभेट अस्पतालले कोरोना आशंका गरेका बिरामीलाई छि-छि र दुर-दुर गरेका कारण । र, अर्को- सरकारी अस्पतालले भरसक कोरोनाका बिरामी आˆनो अस्पतालमा नहोस् भनेर सोचेका कारण ।

तर, यो कोरोना संक्रमण नहुदाँसम्म हो । देशमा साँच्चिकै महामारी आइलाग्यो भने त सरकारले व्यवस्थापन त गर्छ नि ।

कोरोनाको त्रास बढ्नुमा सरकारको काउन्सिलिङ नपुगेर जस्तो देखिन्छ नि ?

हामीले काउन्सिलिङ गरिरहेका छौं । भयभित हुने र विरोध गर्ने मनोवृत्ति संसारभरको हो । कोरोना लागेकाहरुलाई र चाइनिजहरुलाई अहिले विश्वभर अमानवीय व्यवहार गरेका समाचार आइरहेका छन् । तर, हामीले काउन्सिलिङ गरिरहेका छौं, अझै गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment