Comments Add Comment
कोरोनाको जोखिम न्यूनिकरण प्रयास :

प्रत्येक नागरिकले ट्राभल रेकर्ड राखौं

२७ फागुन, काठमाडौं । डेलीमेलले २० फागुनमा लेखेको कोरोना (कोभिड–१९) भाइरस सम्बन्धी एउटा समाचार पढेर नेपालीहरू झस्किए । समाचार अनुसार नेपाल घुमेर फर्केका एक जनाको १३ फेब्रुअरीमा स्पेनमा कोरोना संक्रमणबाट मृत्यु भयो ।

त्यो समाचार सुनेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले अनलाइनखबरसँग भने, ‘उनी कहिले नेपाल आएका रहेछन्, क कसलाई भेटेछन्, कुन होटलमा बसेछन्, कहाँ कहाँ घुमेछन् पत्ता लगाउनु पर्‍यो ।’

तर, यसबारे न स्पेनले केही बतायो, न नेपालले सोधीखोजी गर्‍यो ।

स्पेनले मृतकको पहिचान सार्वजनिक गरेको छैन । उनी को थिए भन्ने थाहा नभएपछि नेपालमा कहिले आएका थिए र कोकोसँग भेटघाट गरे भन्ने खुल्ने कुरै भएन ।

जब कि कोरोनाको संक्रमण फैलिनबाट रोक्न संक्रमितलाई मात्रै आइसोलेसनमा राखेर पुग्दैन, संक्रमितले पछिल्लो १४ दिनमा फ्रन्ट लाइनमा भेटेकाहरुलाई पनि क्वारेटाइनमा राख्नुपर्छ, संक्रमण भए नभएको चेक जाँच गर्नुपर्छ ।

हरेक नागरिकले कहाँकहाँ गए, ककसलाई भेटेँ जस्ता विवरण भएको ट्राभल रेकर्ड राख्ने हो भने संक्रमण देखिइहाल्यो भने पनि निराकरणको उपाय खोज्न सजिलो हुने जानकारहरू बताउँछन् ।

किनकि, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)काअनुसार कुनै पनि व्यक्तिलाई कोरोना संक्रमण यो भने त्यो २ देखि १४ दिनभित्र कुनै पनि बेला देखिन सक्छ ।

त्यसैले कनुै व्यक्तिलाई संक्रमण भएको पुष्टि हुनासाथ उनले पछिल्लो ४ दिनमा फ्रन्ट लाइनमा भेटेकाहरुलाई क्वारेन्टाइनमा राखेर चेकजाँच गर्ने गरिन्छ ।

हालै मात्र पहिलो संक्रमित भेटिँदा दिल्ली सरकारले यही गर्‍यो । भुटानले त्यही गरिरहेको छ । आसामबाट गएको व्यक्तिमा संक्रमण भएको भेटिएपछि विदेशी नागरिकलाई प्रवेशमा पूर्ण रोक लगायो र संक्रमित व्यक्तिले पछिल्लो १४ दिनमा भेटेका सबैमा संक्रमण भए नभएको चेकजाँच गरेको छ ।

चीनले पनि संक्रमितको समीपमा आएका २० हजारभन्दा बढीलाई अझै पनि मेडिकल अब्जरभेसनमा राखेको छ ।

नेपालमा कोरोनाबाट संक्रमित भएका पहिलो व्यक्ति चीनबाट फर्किएका नेपाली विद्यार्थी थिए । उपचारपछि उनी स्वस्थ्य भइसकेको सरकारले बताएको छ ।

तर, टेकुस्थित शुक्रराज ट्रपिकल सेन्टरमा स्वास्थ्य परीक्षण गर्न जाँदा आफू सामान्य विरामी जस्तै दुई घण्टासम्म लाइनमा बसेको सञ्चार माध्यमलाई बताइसकेका छन् । त्यतिमात्रै होइन, अस्पतालमा नबसेर घरमै उपचार गराएका थिए ।

तर, उनको सम्पर्कमा आएका व्यक्तिहरूलाई निगरानी गरेर स्वास्थ्य परीक्षण गरिएको छैन । अहिलेसम्म अरुमा संक्रमण नदेखिएकाले अरुमा सरेको छैन होला भन्ने अनुमान गर्न सकिन्छ ।

तर, ढुक्क भएर बस्न सकिने अवस्था छैन । त्यसैले हरेक नागरिकले कहाँकहाँ गए, क-कसलाई भेटेँ जस्ता विवरण भएको ट्राभल रेकर्ड राख्ने हो भने संक्रमण देखिइहाल्यो भने पनि निराकरणको उपाय खोज्न सजिलो हुने जानकारहरू बताउँछन् ।

पूर्वस्वास्थ्यमन्त्री गगन थापा पनि भन्छन्, हामी प्रत्येकले आफ्नो ट्राभल रेकर्ड राखौं ।’

किन त भन्ने प्रश्नमा उनले भने, ‘यदि कुनै व्यक्तिमा कोरोनाको संक्रमण देखियो भने उसले गएको १४÷१५ दिनमा कहाँ गए, कोकोसँग फ्रन्ट लाइनमा भेट गरे भन्ने डाटा लिनुपर्छ । उनीहरूको पहिचान गरेर १४ दिनसम्म क्वारेन्टाइनमा राख्नुपर्छ, ताकी यदि उनीहरूमा संक्रमण रहेछ भने अरुलाई नसरोस् ।’

‘तर उसले दिएको ट्राभल रेकर्डको उपयोगिता त्यसबेला हुन्छ, जतिबेला कोकोसँग भयो भन्ने थाहा हुन्छ’ कोरोना संक्रमणको जोखिमबारे संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका सांसद थापाले भने, ‘मानौं, संक्रमण देखिएको व्यक्तिले भन्यो कि फागुन १२ गते १ बजे रत्नपार्कबाट बानेश्वर जाने बस चढेको थिएँ भन्यो । यदि हामी सबैले ट्राभल रेकर्ड राख्यौं भने त्यो बस चढेको थियौं कि थिएनौं भन्ने थाहा हुन्छ र, बसमा भएकाहरु चेकजाँच गर्न जानुहुनन्छ र, कोरोनाको संक्रमण फैलिनबाट जोगाउन मदत पुग्छ ।’

शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पताल, टेकुका रिसर्च संयोजक डा. शेरबहादुर पुन पनि आफू दिनभरीमा ककसलाई भेट्यो त्यसको रेकर्ड राख्नु उपयोगी हुने बताउँछन् । भन्छन्, ‘भोलि कसैलाई संक्रमण भइहाल्यो भने हामीलाई पहिचान गर्न सजिलो हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment