Comments Add Comment

बाँकेको चप्पल कारखानामा आगलागी हुँदा एक जना घाइते, लाखौं क्षति

२८ फागुन, काठमाडौं । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहानबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अमरजित सिंहले जानकी गाउँपालिका–३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो ।

आगलागीमा सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले अनलाइनखबरलाई जानकारी दिए ।

गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

‘तत्काल अन्य निकायसँग समन्वय गरेर हामी परिचालित भयौं र ठूलो क्षति हुनबाट जोगायौं,’ प्रहरी उपरीक्षक ओलीले भने ।

कारखाना सञ्चालक सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८–१० करोड रुपैयाँबराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् । तर, प्रहरीले भने क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ ।

विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment