Comments Add Comment

कालापानीबाट भारतीय सेना हटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव

२९ फागुन, काठमाडौं । कालापानी क्षेत्रबाट भारतीय सेना हटाउन र भारतीय पक्षले अतिक्रमण गरेका नेपाली भूभाग फिर्ता गराउन माग गर्दै संसदमा संकल्प प्रस्ताव पेश हुँदै छ ।

बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नेकपा सांसद खगराज अधिकारीले संकल्प प्रस्ताव पेश गर्न लागेका हुन् । सो प्रस्तावको समर्थक नेकपाकै सांसद रामकुमारी झाँक्री छिन् ।

प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजे बस्दै छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा यो संकल्प प्रस्तावलाई पनि राखिएको छ ।

पूर्वमन्त्रीसमेत रहेका अधिकारीले चार महिनाअघि नै यो संकल्प प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए ।
यो पनि पढ्नुहोस यसरी हटाइएको थियो नेपाली भूमिबाट भारतीय फौज

‘भारत सरकारले नेपालको दार्चुला जिल्लाको कुटियाङ्दी र लिम्पियाधुरा क्षेत्र समावेश गरी भारतको नक्सा प्रकाशित गरेपछि सर्वदलीय बैठकबाट नेपालको भूभाग कसैबाट कुनै प्रकारले हडप्ने काम नहोस् भन्ने अडान कायम गरी नेपाल सरकारलाई निर्देशन गरेकाले कूटनीतिक र अन्य पहलकदमी गरी नेपालको भूभाग कायम गर्न र कालापानी क्षेत्रमा रहेका विदेशी सेना हटाउन आवश्यक भएकाले’ संकल्प प्रस्ताव पेश गर्न लागिएको उल्लेख छ ।

यस संकल्प प्रस्तावले नेपाल–भारत सीमा विवाद समाधान गर्न र कालापानी क्षेत्रबाट भारतीय सैनिक फिर्ता गराउन सरकारलाई दबाब हुने विश्वास गरिएको छ ।

जम्मु–कश्मीर र लद्दाख संघीय सरकार प्रशासित प्रदेश बनेपछि गत नोभेम्बर महिनामा भारत सरकारले नयाँ राजनीतिक नक्सा जारी गर्दा कालापानी, लिम्पियाधुरालगायतका नेपाली भूभागलाई समेत आफ्नो नक्साभित्र पारेपछि चर्को विरोध भएको थियो ।

जनस्तरबाट विरोध भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठकले भारतीय नक्सामा पारिएका नेपाली भूभाग कूटनीतिक माध्यमबाट फिर्ता गराउन सरकारलाई सुझाव दिएको थियो । त्यसपछि संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशी सेना हटाउने र नेपाली भूभाग फिर्ता गराउने घोषणा गरे ।

परराष्ट्र मन्त्रालयले पनि भारतीय नक्साभित्र पारिएका क्षेत्र नेपालको भएको भन्दै त्यसको विरोधमा कूटनीतिक नोट पठाएको बताइयो । तर, नेपाली भूभाग फिर्ता गराउने र कालापानी क्षेत्रमा बसेका भारतीय सेना हटाउने काममा हालसम्म प्रगति भएको देखिएको छैन ।

भारतीय विदेश मन्त्रालयले भने आफ्नो नक्सामा कुनै क्षेत्र थपघट नगरिएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment