
नायक राजेश हमालले चलचित्र क्षेत्रमा लामो समयसम्म एकछत्र राज गरे । ३० बर्ष भन्दा लामो चलचित्र करिअरमा उनले धेरै प्रकारका चरित्र निर्वाहा गरेका छन् । चलचित्रमा राजेश कहिले गाउँले बने, कहिले भरिया बने त कहिले प्रहरी बने । केही चलचित्रमा उनी सडक बालकको रुपमा पनि देखिएका छन् ।
यी अनेक भूमिकाले गर्दा उनी आम–दर्शकसँग सजिलै जोडिएका छन् । आफ्ना शुभचिन्तकसँगको भेटमा राजेशले अनेक किस्सा संगालेका छन् । त्यो मध्येको एक किस्सा राजेशले कहिल्यै भुल्दैनन् ।
राजेश हमाल प्रायः ठमेल क्षेत्रमा पुगिरहन्थे । त्यहाँ पुग्दा राजेशले सडक बालबालिकालाई खुबै प्रेम देखाउँथे । एक दिन राजेशले ती बच्चाहरुलाई आइसक्रिम खुवाउने बिचार गरे । त्यहाँ भएका बालबालिकालाई गाडीमा राखे र दरवारमार्गमा पुगे ।
राजेशले उनीहरुलाई आइसक्रिम किनिदिए र गाडीमा राखेर नै ठमेल फर्किए । राजेशको गाडी ठमेलतर्फ गुड्दै थियो । त्यही समय एक बालकले प्रश्न ग¥यो, ‘राजेश दाईले हामीलाई किन यति माया गर्नुहुन्छ ?’
प्रश्न सकिन नपाउँदै अर्को बालक चिच्याए, ‘तलाई थाहा छैन, राजेश दाई पनि पहिला ‘खाते’ नै हो नि त ।’
राजेशसँग हास्नुको विकल्प थिएन । ती बालकले राजेशको चलचित्र हेरेका रहेछन् । जुन चलचित्रमा राजेश सडक बालकको भूमिकामा प्रस्तुत भएका थिए ।
प्रतिक्रिया 4