
३० फागुन, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई मुलुककै पहिलो शून्य पोलिथिन र पूर्णसरसफाइउन्मुख नगरपालिका घोषणा गरिएको छ ।
शुक्रबार नगरपालिकामा औपचारिक समारोहका बीच संघीय सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले तिलोत्तमालाई शून्य पोलिथिन र पूर्णसरसफाइउन्मुख नगरपालिका घोषणा गरे ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति रुपन्देहीले खुला पोलिथिन शून्य अवस्था र पूर्णसरसफाइका ६ वटा सूचकहरु पूरा गरेको भन्दै तिलोत्तमालाई खुला पोलिथिन शून्य र पूर्णसरसफाइ उन्मुख नगरपालिका घोषणा भएको प्रमाणपत्र प्रदान गरेको छ ।
जिल्ला समन्वय समितिका प्रमुख तथा समिति अध्यक्ष एकराज विश्वकर्मा र सदस्य-सचिव अरुणकुमार कर्णले प्रमाणित गरेको प्रमाणपत्र नगरप्रमुख बासुदेव घिमिरेलाई प्रदान गरिएको हो ।
यसअघि समितिका पदाधिकारी एवं विज्ञ सहभागी टिमले तिलोत्तमाको १७ वटै वडाको अनुगमन गरेको थियो । नगरपालिकाले बनाएको कार्यविधिमा खुला रुपमा पोलिथिनजन्य फोहोर नफालिएको अवस्थालाई शून्य पोलिथिन भनिने उल्लेख छ ।
सात महिनाको अवधिमा नगरवासीको घर, टोल, खेत, कुलो, नहर, वन-जंगल, सडक, सार्वजनिक स्थलबाट झण्डै ८० हजार बोरा पोलिथिनजन्य फोहोर संकलन गरी व्यवस्थापन गरेपछि नगरलाई शून्य पोलिथिन घोषणा गरिएको हो ।
कार्यक्रममा मन्त्री भुसालले प्लास्टिकजन्य फोहोर व्यवस्थापन र सरसफाइमा तिलोत्तमाबाट नयाँ राष्ट्रिय अभियान प्रारम्भ भएको उल्लेख गरे ।
तिलोत्तमाबाट सरसफाइको इतिहासमा नयाँ युगको सुरुआत भएको बताउँदै शून्य पोलिथिन अभियान नागरिकको चेतनास्तर र दायित्वबोधसँग जोडिएको बताए ।
प्रदेश सांसद दधिराम घिमिरेले शून्य पोलिथिन अभियान तिलोत्तमा आसपासका अन्य पालिकाहरुले पनि सञ्चालन गर्नुपर्ने बताउँदै यो अभियान सोच, आनीबानी रुपान्तरणसँग जोडिएको बताए ।
जिल्ला समन्वय समितिका प्रमुख एकराज विश्वकर्माले लुम्बिनीलाई पर्यटकीय केन्द्रको रुपमा प्रख्यात बनाउन शुन्य पोलिथिन अभियान रुपन्देहीका सबै स्थानीय तहहरुमा सञ्चालन गर्नुपर्ने बताउँदै यसमा आफूले अग्रसरता लिने प्रतिबद्धता जनाए ।
नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीको सक्रिय सहभागिताका कारण शून्य पोलिथिन अभियानले मूर्तरुप लिएको बताउँदै यो अभियानमा झण्डै एकलाख नगरवासी सहभागी भएको बताए ।
नगरलाई स्वच्छ र हरियालीयुक्त बनाउन समुदायमा आधारित बृहत सरसफाइ अभियान, सार्वजनिक स्थानमा स्मार्ट शौचालय, तीन लाख वृक्ष रोपण कार्यक्रमलाई निरन्तरता दिइएको उनले बताए ।
अनुगमनमा संग्लन प्रा.डा. भैया खनालले शून्य पोलिथिन अभियानले कृषि प्रणाली तथा जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताउँदै यसको निरन्तरताका लागि नगरबासी आफैं क्रियाशील रहनुपर्ने बताए ।
प्रतिक्रिया 4