Comments Add Comment

मुस्कानको कथामा चलचित्र बनाउँदै रमित

अभिनेता रमित ढुंगाना नयाँ चलचित्रको निर्माणमा तम्सिएका छन् । ‘रमित ढुंगाना फिल्मस्’को व्यानरबाट रमितले एसिड पिडित मुस्कान खातुनको विषयमा चलचित्र बनाउन लागेका हुन् । चलचित्रको लेखन तथा निर्देशक शिवम् अधिकारीले गर्नेछन् ।

सामाजिक विषयमा र सचेतनाको विषयमा आफूलाई चलचित्र बनाउन मन लाग्ने भएकाले मुस्कानको विषयलाई रोजेको रमितले बताए । उनले भने, ‘मुस्कानले भोग्नु परेको पिडालाई हामीले चलचित्रको पर्दामा देखाउन लागेका हौँ । चलचित्रबाट एसिड आक्रमण नगर्ने सन्देश पनि हामीले दिनेछौँ ।’

धेरै चलचित्रमा अभिनय गरिसेकका रमितले यसअघि दुई चलचित्र निर्माण गरिसकेका छन् । रमितले २०६१ सालमा चलचित्र ‘माया नमार’ निर्माण गर्दै सोही चलचित्रबाट डेब्यु गरेका थिए । चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ पनि रमितले नै निर्माण गरेका हुन् ।

मुस्कान खातुनको विषयमा बन्न लागेको चलचित्रको नाम ‘मुस्कान’ नै राखिएको छ । चलचित्रको लागि कलाकारको छनोट भइरहेको निर्माता ढुंगानाले बताए । उनले भने, ‘हामीलाई मुस्कान जस्तै केटी चाहिएकाले उसैको खोजीमा छौँ ।’ चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने रमितले बताए ।

कोरोनाको त्रासका कारण चलचित्रको छायांकन सुरु नभएको रमितले बताए । उनले भने, ‘कोरोनाको डर हट्ने बित्तिकै हामीले छायांकन सुरु गर्नेछौँ ।’ चलचित्रको छायांकन विरगञ्जमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment