Comments Add Comment

साताका  पाँच पुस्तक : उपन्यासदेखि र राजनीतिक रचनासम्म

१ चैत, काठमाडौं । यो साता पुस्तक बजारमा उपन्यास र निबन्धको चर्चा बढी रहृयो । गत शनिबार प्रकाश कोइरालाको उपन्यास ‘प्रपञ्च’ सार्वजनिक भयोे । यस्तै विन्दा पाण्डेको ‘समानताका पाइलाहरूः राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आयो ।

यस्तै महेश्वर पन्तको उपन्यास ‘फुर्लुङ’ र गंगा श्रेष्ठको ‘चिवाभञ्ज्याङ-झुलाघाट, मध्यपहाड यात्रा’ निबन्ध/लेख संग्रह बजारमा आयो ।

यस हप्ता बजारमा आएका पाँच पुस्तकको यहाँ चर्चा गरिएको छ :

१. प्रपञ्च

प्रकाश कोइरालाको पहिलो उपन्यास ‘प्रपञ्च’ गत शनिबार काठमाडौंमा सार्वजनिक भयो । सामाजिक घटनामा आधारित उपन्यास ‘प्रपञ्च’मा एक अधबैंसे शिक्षकको जीवन चित्रण गरिएको छ ।

कोइरालाको यसअघि ३ खण्डकाव्य र फुटकर कविता प्रकाशित थियो । बिएन पुस्तकले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ ।

२. फुर्लुङ

पर्वतका महेश्वर पन्तको पहिलो उपन्यास हो, ‘फुर्लुङ’ । यसमा मोदीखोलो र कालीगण्डकीको उत्तर-पश्चिम दोभानमा माछा मारेर र डुङ्गा तारेर गुजारा चलाउने बोटे (माझी) परिवार विस्थापन भएको कथा छ । पन्तको यसअघि ‘मुन्द्री’ र ‘नबोल्नेहरू’ दुई कथासंग्रह प्रकाशित छ । सामाजिक यथार्थमाथि हास्य र व्यङ्यको पुटसहित कथा लेख्ने  पन्तको पहिलो उपन्यास ‘फुर्लुङ’ लोकजीवनको अध्ययनका निम्ति पनि उपयोगी हुन सक्छ । सांग्रीला बुक्सले प्रकाशन गरेको उपन्यासको मूल्य २९५ रुपैयाँ छ ।

३. समानताका पाइलाहरू

काठमाडौं विश्वविद्यालयबाट ‘विमेन इम्पावरमेन्ट इन पोलिटिक्स’ विषयमा विद्यावारिधि गरेकी बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसर पारेर बजारमा आएको छ । ‘जिफन्ट ट्रेड युनियन पोलिसी इन्टस्टिच्युट’को अध्यक्ष रहेकी पाण्डे अहिले नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन् ।

पुस्तकमा नेपाली राजनीतिमा महिला सहभागिता, लैङ्गिक समानताका सिद्धान्तको विवेचना र आन्दोलनको आलोचनात्मक समीक्षा गरिएको छ । पुस्तक फाइन पि्रन्टले प्रकाशन गरेको हो ।

४. चिवा भञ्ज्याङ-झुलाघाट, मध्यपहाड यात्रा

गंगा श्रेष्ठले नेपालको मध्यपहाडको पूर्वी सीमाना चिवाभन्ज्याङदेखि पश्चिम सीमाना झुलाघाटसम्मको एक महिने यात्रा गर्दाको तयारी, व्यवस्थापन र अनुभव समेटेर लेखेको ‘चिवाभञ्ज्याङ-झुलाघाट, मध्यपहाड यात्रा’ बजारमा आएको छ ।

समाजवादी पार्टीसँग जोटिएका श्रेष्ठले यो पुस्तकमा नेपालको भूगोल संस्कृति र सामाजिक जनजीवनको मिहीन चित्र उतारेका छन् । पुस्तकबाट यात्रा, अनुभव र नेपाली जनजीवनको अध्ययन गर्न सकिने छ । सांगि्रला बुक्सले प्रकाशन गरेको पुस्तकको मूल्य  ३७५ रुपैयाँ छ ।

५. गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त

विख्यात भारतीय लेखक आनन्द श्रीकृष्णले सिद्धार्थ गौतमको जीवन र बुद्ध दर्शनमाथि केन्द्रीत रहेर लेखेको पुस्तक ‘गौतम बुद्ध : जीवनी, उपदेश र सिद्धान्त’को नेपाली अनुवाद बजारमा आएको छ ।

युद्धले कुनै समस्याको समाधान नहुने बरु क्षमा र करुणाबाट नै सबै मानवीय समस्या समाधान हुने कुरालाई पुस्तकमा जोड दिइएको छ । साथै बुद्धका मुख्य उपदेश र सिद्धान्तलाई सरलीकृत व्याख्या गरिएको छ ।

पुस्तकलाई साहित्यकार ललिजन रावलले नेपालीमा अनुवाद गरेका हुन् । इन्डिगो इन्क प्रकाशनबाट प्रकाशित पुस्तकको मूल्य २९९ रुपैयाँ  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment