Comments Add Comment
कोरानाको कहर :

स्पेनमा आपतकालको घोषणा, कस्तो छ नेपालीको अवस्था ?

बार्सिलोना । कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्पेनले शनिबारदेखि मुलुकभर आपतकालको घोषणा गरेको छ ।

भाइरसको प्रकोप बढेसँगै सरकारले आपतकालीन अवस्थामा बाहेक भ्रमण गर्न तथा सार्वजनिक भेला गर्न रोक लगाएको छ । प्रधानमन्त्री पेड्रो सान्चेसले मानिसहरुलाई घरमै बस्न र अनुमति लिएर मात्र महत्वपूर्ण यात्रामा जान आग्रह गरेका छन् । नागरिकहरूको स्वास्थ्यको रक्षा अझ राम्रो ढङ्गले गर्न सरकारले राज्यका सबै स्रोतसाधन परिचालन गर्ने उनले बताए ।

चीनको वुहानबाट सुरु भएको कारोनाको संक्रमण पछिल्लो समय युरोपमा फैलिएको छ । र, त्यहाँ कोरोनाबाट इटलीपछि स्पेन सबैभन्दा नराम्ररी प्रभावित देश बनेको छ । शनिबारसम्म कोरोनाका कारण मृत्यु हुनेसफ््यामा १९१ पुगेको छ भने हालसम्म करिव ६ हजार मानिस सङ्क्रमित भएका छन् ।

नेपालीहरु सङ्क्रमित भएको खबर छैन : दूतावास

स्पेन झण्डै १० हजार नेपालीको बसोबास छ । हालसम्म नेपालीहरु कोरोना भाइरसबाट सङ्क्रमित नभएको म्याडि्रडस्थित नेपाली दूताबासले जनाएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याडि्रड हो । त्यस सो क्षेत्रमा नेपालीहरुको संख्या न्यून छ । झन्डै ४ हजार नेपालीहरु बसोबास गर्ने ठानिएको कातोलोनिया क्षेत्रमा कोरोनाको प्रभाव तुलानात्मक रुपमा कम देखिएको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पाले नेपालीहरुलाई घरमै बस्न र कोरोनाबाट सचेत रहन आग्रह गरेकी छिन् । उनले भनिन्, ‘दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग पनि सम्पर्क गरिरहेको छ । कुनैपनि सहयोग चाहिएमा जुनसुकै बेला सम्पर्क गर्न अनुरोध गर्न चाहन्छु ।’

दूतावासबाट दिइने सेवा अर्को व्यवस्था नहुन्जेल पोष्टल सिष्टमबाट प्रदान हुनेछ । सेवाग्राहीले जुनसुकै बेला दूतावासको पोष्ट बक्समा डकुमेन्ट छाडेर जान सक्ने छन् । यसरी छाडिएका डकुमेन्ट तत्काल हेरिने र फोनमार्फत बोलाउने व्यवस्था मिलाइएको मडि्रडस्थित नेपाली दूतावासले जनाएको छ ।

व्यवसायीहरु चिन्तित

स्पेनमा रहेका नेपालीहरु मध्ये केही व्यवसयी पनि छन् । उनीहरु भने कोरोनाको संक्रमण फैलिएसँगै चिन्तित छन् ।

झण्डै ५ बर्षदेखि बार्सिलोनामा व्यवसाय गर्दै आएका दिनेश गिरी अहिलेको अवस्था निकै चिन्ताजनक भएको बताउँछन् । एनआरएनए स्पेनका उपाध्यक्ष समेत रहेका उनका ३ वटा रेष्टुरेन्टमा झन्डै ३० जना कामदार छन् ।

शनिबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि होटल तथा रेष्टुरेन्ट बन्द भएका छन् । उनले भने, ‘दुई हप्तामात्र हो वा कति समयसम्म लम्बिने हो अन्योल नै छ । सरकारले कस्तो सहयोग गर्ला ? खर्चको स्रोत कसरी जुट्ला ? यस विषयलाई लिएर व्यवसायी र कामदार सबै अन्यौलमा छौं ।’

सरकारले सामाजिक सुरक्षाबारे केही घोषणा नगरेकाले कामदारहरु पनि चिन्तित देखिएका हुन् ।

यस्तै आवासीय अधिकारको वैधानिक प्रक्रियामा रहेका नेपालीहरुलाई झनै अप्ठ्यारो पारेको छ ।

किनमेल जटिल

कोरोनाको संक्रमण फैलिएसँगै अत्यावश्यक खाद्यान्न सामग्रीहरु खरिद गर्न कठिनाई उत्पन्न भएको छ ।

बिहान सुपरमार्केटहरु खोल्नु अगावै मानिसहरुको लामो लाइन लागेको थियो । ठुलो भिडभाडको कारण केहि स्थानहरुमा प्रहरी समेत परिचालन गरिएको थियो ।

कोल्ब्याङस्थित एक सुपरमार्केट मार्कादोनामा सामान किन्न झण्डै डेढ घण्टा बढी लाइन बस्दा पनि आफूलाई आवश्यक पर्ने सामान नपाएको एक नेपाली ईश्वर शर्मा बताउँछन् ।

कतिपय नेपालीले भने यसअघि अत्यावश्यक सामग्रीहरु जोहो गरिसकेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment