Comments Add Comment

कोरोना भाइरसले विश्वको व्यापार, यात्रा र काममा कसरी ल्याउँदैछ परिवर्तन ?

२ चैत, काठमाडौं । आर्थिक क्षेत्रमा आउने हरेक हलचलले एउटा महत्वपूर्ण प्रणाली विकास गरेर जान्छ । अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) पनि यो भन्दा फरक छैन । यो भाइरसको कारण अहिले विश्वभरको अर्थतन्त्र समस्यामा देखिएको छ ।

सन् २००८ मा विश्वभर देखिएको वित्तीय संकटले एसियाली वित्तीय क्षेत्र पनि समस्यामा पर्‍यो । अहिलेसम्म पनि यो संकटको असर एसियाली अर्थतन्त्रमा देखिँदै आएको छ । त्यसयता अझै पनि कामदारको तलबमा उल्लेख्यरुपमा बढ्न सकेको छैन ।

यस्तो अवस्थामा देखिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै समस्यामा परेको छ ।

कोरोना भाइरसबाट जोगिन मानिसहरु मास्क लगाउने, आवश्यक सामग्रीको जोहो गर्ने, सामाजिक काममा कम निस्किने र व्यावसायिक भेलामा पनि सरिक नहुने, आफ्नो भ्रमणको कार्यक्रम रद्द गर्ने र घरबाटनै काम गर्ने दिशामा अघि बढिरहेका छन् ।

भाइरसको संक्रमण तुलनात्मक रुपमा कम देखिएका मुलुकले पनि यस्तो तयारी सुरु गरिसकेका छन् । यस किसिमको अभ्यासले विश्वभरको मागमा उल्लेख्य कमी आएको छ । आपूर्तिको हिसाबमा अन्तर्राष्ट्रिय उत्पादकहरु अहिले आफ्नो सामग्री कहाँ बेच्ने र कति उत्पादन गर्ने भन्ने सोच्न बाध्य भएका छन् । ब्रेक्जिट र अमेरिका–चीन व्यापार युद्धले एकैपटक विश्वको उत्पादनमूलक क्षेत्रको सञ्जाल प्रभावित बनेको बेला देखिएको कोरोना भाइरस (कोभिड–१९)ले अर्को चुनौती थपिएको छ ।

कोरोना कै कारण कार्यालयहरुले काम गर्ने शैलीमा परिवर्तन गरेका छन् । उनीहरुले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सुझाइरहेका छन् । यसले आगामी दिनमा काम गर्ने तरिकालाई नयाँ युगमा प्रवेश गराएको केहीको बुझाइ छ । ‘एकपटक घरबाटै काम गर्ने नीति स्थापित भयो भने सबैले त्यसलाई पछ्याउँछन्’, परामर्शदाता कम्पनी बेन्स म्याक्रो ट्रेन्ड्स ग्रुपकी प्रबन्ध निर्देशक करिन ह्यारिस बताउँछिन् ।

त्यस्तै यात्रामा प्रतिबन्ध लागेपछि शैक्षिक संस्थाहरुले पढाइ बन्द गर्नुभन्दा पनि अनलाइन कक्षाको माध्यमबाट विद्यार्थीहरुलाई पढाउन सुरु गरेका छन् ।

पर्यटन क्षेत्र भने अहिले सबैभन्दा मारमा परेको छ । अहिले भाइरसको आशंकाको कारण लगाइएको प्रतिबन्धको कारण हवाई सेवा प्रदायक, जहाज, होटल लगायतका क्षेत्र समस्यामा परेका छन् । तर पर्यटकहरुले पक्कै पनि अर्को कुनै उपयुक्त समयमा आफ्नो भ्रमण पूरा गर्ने छन् । त्यसको लागि भने यो भाइरसको महामारी सकिनुपर्छ ।

भाइरसले आर्थिक नीतिलाई पनि परिवर्तन गरिदिएको छ । र, नयाँ प्राथमिकतालाई निर्धारण गर्न बाध्य बनाएको छ ।

विश्वभरका केन्द्रीय बैंकहरु आपतकालीन अवस्थामा देखिएका छन् । यस्तोमा उनीहरु भाइरसले समस्यामा पारेको आर्थिक क्षेत्रलाई उकास्ने विभिन्न योजना निर्माणमा व्यस्त छन् ।

सिंगापुरले मौद्रिक शुद्धीकरणको मापदण्ड अघि सारेको छ । बैंक अफ जापानका काजुओ मोम्मा अहिलेसम्म यो भाइरसको आशंका र सामाजिक तथा आर्थिक समस्या बढ्दै गएको बताउँछन् । सीमामा गरिएको कडाइ, इन्स्योरेन्स कभरेजको दायरा र काम तथा आम सञ्चारको तौरतरिका परिवर्तन हुनुले माइक्रोइकोनोमिक परिवर्तन आउने र भाइरसको संक्रमण सकिएपछि पनि लामो समयसम्म प्रभाव पार्ने उनको भनाइ छ ।

यस्तै चीनले जंगली जनावरको व्यापार र खपतमा प्रतिबन्ध लगाएको छ । कोरोना जंगली जनावरबाट मानिसमा सरेको हुनसक्ने अनुसन्धानकर्ताको आशंकाका आधारमा यस्तो निर्णय गरेको हो ।

चीनले आगामी दिनमा उपभोक्तालाई अनलाइन शपिङका लागि प्रेरित गरेको छ । यसअघि सन् २००३ मा सार्स भाइरस निस्किँदा पनि मानिसहरुको शपिङको स्वभावमा परिवर्तन देखिएको थियो । सो समयमा उनीहरु मलमा जान छाडेका थिए ।

विश्लेषकहरुकाअनुसार कोरोना भाइरसको कारण तत्कालै स्वास्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन आउन सक्छ ।

अष्ट्रेलिया नेशनल युनिभर्सिटीका प्राध्यापकहरुले सार्वजनिक गरेको एक प्रतिवेदनले भाइरस नियन्त्रणका लागि सरकारले उल्लेख्य रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्नसक्ने देखाएको थियो । यो भाइरसलाई रोक्न विश्व समुदायले गरीब मुलुकमा उल्लेख्य रकम खर्च गर्नुपर्ने उनीहरुको भनाइ छ । यसअघि उनीहरुले सन् २००३ मा निस्किएको भाइरसले विश्व अर्थतन्त्रमा ४० अर्ब डलर नोक्सानी भएको आकलन गरेका थिए ।

हावार्ड युनिभर्सिटीका पाउल शोयार्ड अहिले विश्व अर्थतन्त्रमा दुई ठूलो आर्थिक चुनौती एकैपटक आइपरेको बताउँछन् । यसले कस्तो प्रणाली स्थापित गर्छ भन्ने अनुमान गर्न नसकिने उनको भनाइ छ । इटालीको प्रधानमन्त्रीका पूर्वसल्लाहकार फाब्रिजियो पगानी इतिहासले आगामी दिनको संकेत गर्ने बताउँछन् । सन् १९७० को दशकपछि पहिलोपटक ऊर्जा सञ्चितिको प्रयास सुरु भएको स्मरण गर्दै उनले अहिले देखिएको यस किसिमको संकटले बैंकिङ र वित्तीय क्षेत्रमा नयाँ र उल्लेख्य परिवर्तन ल्याउने बताए ।

अहिलेको अवस्थामा अनलाइन माध्यमबाट पढाइदेखि औद्योगिक नीतिसम्म परिवर्तन हुनसक्ने उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)मा लामो समयसम्म काम गरेका जेम्स बोउघटन संकटको समयमा मात्र सरकारले आवश्यक तथा निकै कठिन सुधारको योजनामा मानिसहरुको साथ पाउने बताउँछन् । उनी भन्छन्, ‘हरेक संकट एक महत्वपूर्ण अवसर पनि हो ।’

साउथ चाइना मर्निङ पोष्टको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment