Comments Add Comment

पश्चिम नेपाल बस प्रालिले तापक्रम नापेर मात्रै यात्रु बोक्ने

तापक्रम नाप्ने उपकरणसहित बसका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन

२ चैत, बुटवल । रुपन्देहीमा निजी क्षेत्रले पनि कोरोना भाइरसको संक्रमणमा सचेतनाका लागि अभियान थालेका छन् । पश्चिम नेपाल बस ब्यवसायी प्रालिले आफ्ना सवारी साधनमा यात्रा गर्नुअघि तापक्रम नापेर मात्र यात्रा गर्ने ब्यवस्था मिलाएको छ ।

व्यवसायीको आफ्नै स्वास्थ्यकर्मी र तालिम प्राप्त कर्मचारीले बस चढ्नुअघि डिजिटल उपकरणबाट तापक्रम नापेर मात्रै यात्रा गराउनेछन् । विभिन्न स्थानका टिकट काउण्टरहरुमा यात्रुहरुको तापक्रम मापन गरेर मात्र यात्रा गराउने आइतबार बुटवलमा पत्रकार सम्मेलन गरेर प्रालिले जानकारी दिएको हो ।

प्रालिले आफू मातहत सेवा संचालनमा रहेका सडकखण्डका टिकट बुकिङ काउण्टरहरु बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आइतबार साझदेखि आफ्नै लगानीमा खरिद भएका उपकरणबाट यात्रुहरुको तापक्रम मापन गर्ने व्यवस्था गरेको अध्यक्ष दधिराम खरेलले बताए ।

‘कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन सर्तकता अपनाउनका लागि यो अभियान थालेका हौं । यसबाट यात्रुहरुलाई थप सहज हुने हाम्रो मुख्य उद्धेश्य हो,’ खरेलले भने ।

रुपन्देही र कपिलवस्तुका भारतीय सीमासँग जोडिएका नाकाहरुबाट गन्तव्य पुग्ने बस तथा बुटवल र यस आसपासबाट चल्ने बसहरुमा यात्रा गर्दा तापक्रम जाँचेर मात्रै यात्रु गाडीमा चढ्नेछन् ।

यात्रुहरुले भयरहित वातावरणमा यात्रा गरेको अनुभूति गराउन अभियान चलाइएको उनको भनाइ छ । १५ थान उपकरणसहित प्रालिका काउण्टरहरुमा तालिम प्राप्त कर्मचारी परिचालन गरिएको छ ।

उच्च तापक्रम भएका यात्रुहरुलाई आवश्यक परे सुविधा सम्पन्न अस्पतालसम्म पुर्‍याउन पनि सकिने गरी तयारी थालिएको उनले बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालीका २ हजार ५ सय बसले यात्रुहरुलाई सेवा दिइरहेको छ ।

कार्यक्रममा सहभागीहरुले बसको सरसफाइ तथा बस चढ्नुअघि अल्कोहल सेनालाइजरले हात सफा गर्ने व्यवस्था गर्न प्रालीलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment