Comments Add Comment

कम्युनिस्टमा मौलायो सामन्ती संस्कार र चाकडीवाद

गत साता देशमा चाकडीका दुई भद्दा रुपहरु देखिए । एक, शिक्षण अस्पतालमा । दुई, दाङ, प्यूठान र रोल्पामा । फरक प्रसंगमा भए पनि ती रुपहरुको निष्कर्ष एउटै हो : नेपालमा सामन्ती र चाकडी संस्कृतिले जरा गाड्दै गएको छ ।

दुःखको कुरा, त्यसलाई कम्युनिष्टहरुले प्रयोगमा ल्याएका छन् । गणतन्त्रमा पनि यस्ता संस्कृतिहरु देखिनु लज्जास्पद हो । कांग्रेसहरुले पनि यस्ता मजाकहरु विरलै गर्ने गर्दछन् ।

प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपणको क्रममा नेकपाका केन्द्रीय नेताहरु ठूलो भिडमा जम्मा भएर, शिक्षण अस्पताल नै जाम गरेर, बिरामी र तिनका आफन्तहरुलाई असर पर्ने गरी स्वास्थ्यलाभको कामना लेखिएका प्लेकार्ड बोकेर लहरै उभिए । अखिलका नेता कार्यकर्ताहरुले नुवाकोटमा पूजाआजा गरे भने माइतीघरमा मैनबत्ती बाले । अन्यत्र धेरै ठाउँमा पूजा गरियो ।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्नु राम्रो कुरा हो । विश्वव्यापी संस्कृति पनि हो । तर स्वास्थ्यलाभको कामना गर्दा अपनाइएका तरिका हेर्दा यस्तो देखिन्थ्यो कि सायद यसप्रकारको चाकडी पञ्चायतकालमा राजा र राजपरिवारका व्यक्तिहरुको लागि हुन्थ्यो । प्रधानमन्त्री वा मन्त्रीहरुको हकमा यति ठूलो चाकडी हुन्न थियो होला । गणतन्त्र आउनु भन्दा अगाडिसम्म राजारानीको जन्मोत्सव तामझामका साथ मनाइन्थ्यो । हामीले देखेकै कुरा हो ।

पञ्चायतकालमा पनि प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कीर्तिनिधि विष्टहरुको जन्मोत्सवमा केपी ओलीको जस्तै तामझाम गरिएन । मैले केही पुराना व्यक्तिहरुलाई सोध्दा त्यस्तो कहिल्यै हुने थिएन भन्ने जवाफ पाएको थिएँ ।

पञ्चायतकालका प्रधानमन्त्रीहरुको भन्दा तामझामका साथ जन्मोत्सव मनाउनु, अस्पतालमा सयौं केन्द्रीय नेता भेला भएर अस्पताल नै जाम हुने गरी प्लेकार्ड प्रदर्शन गरिनु चाकडीको भद्दा रुप मात्रै हो । त्यो सामान्य तरिका होइन, असामान्य तरिका हो । तर यो लेख पढ्दा नेकपा नेताकार्यकर्ताले यसले त प्रधानमन्त्री मरे पनि हुन्थ्यो भन्न खोजेको हो भन्न बेर लगाउँदैनन् । अरिङ्गालहरुको सबैभन्दा ठूलो समस्या नै यही हो । कुनै कुरामा आलोचना गर्नै नहुने ।

राजा ज्ञानेन्द्रले तानाशाही शासन व्यवस्था लादेको अवस्थामा पनि हामीले राजा ज्ञानेन्द्र मरे पनि हुन्थ्यो कहिल्यै भनिएन । यत्ति मात्रै भनियो कि उनले शासन छोड्नुपर्छ । देशमा गणतन्त्र आउनुपर्छ । नेकपाका अरिङ्गालहरुमा अत्यन्तै घृणित सोचको विकास हुँदै गइरहेको छ । यो लज्जास्पद छ ।

बरु सत्य कुरा के हो भने केपी ओली अस्पताल भर्ना भएदेखि यता देशका सम्पूर्ण कामकाज ठप्प भएका छन् । सिंहदरबार ठप्प भएको छ । नागरिकले यति पनि भन्न नपाउने ? केपी ओली विरामी छन् भनेर यति पनि भन्न नपाउने हो भने अरिङ्गालहरुको सोचाइलाई श्रद्धाञ्जली मात्रै भन्न सकिन्छ ।

शुक्रबार प्रधानमन्त्री केपी ओली शिक्षण अस्पतालबाट डिस्चार्ज भए । उनलाई डिस्चार्ज गर्दा सयौंको भिडले ओलीलाई घेरेको थियो । देशमा कारोना भाइरसको ठूलो त्रास छ । डाक्टरहरुले कम्तीमा दुई मिटरदेखि ४ मिटरसम्म टाढा रहनुपर्ने सुझाव दिएका छन् । तर विरामी प्रधानमन्त्रीको वरिपरि ठूलो भिड थुप्रिएको थियो । मिर्गौला प्रत्यारोपण गरिएका विरामीमा त्यसै पनि संक्रमणको उच्च जोखिम हुन्छ । त्यो जोखिमलाई पनि कुनै ख्याल गरेको पाइएन । केपी ओलीलाई मास्कसमेत लगाइएको थिएन । सायद उनी स्वस्थ छन् भनेर देखाउनको लागि होला ।

शिक्षण अस्पतालको गेटमा जति जयजयकार गरे पनि तिनीहरुको खुशी हो, तर उनको छेवैमा पुगेर जयजयकारको शैलीमा भिड लाग्नु चाहिं चाकडीको भद्दा रुप मात्रै होइन कि संक्रमणको जोखिम बढाउनु पनि हो । अस्पतालको वार्डभित्र गाउन लगाएर प्रवेश दिइन्छ भने बाहिर त्यति ठूलो भिड लाग्न किन दिइयो ? अस्पताल प्रशासनको गम्भीर लापरवाही देखिन्छ । अस्पताल प्रशासनले यति गम्भीर लापरवाही गर्न पाउँदैन । एकातिर स्वास्थ्य मन्त्रालयले भिड गर्न नपाइने भनेर उर्दी जारी गर्ने, अर्कातिर अस्पतालमा भिड लाग्ने ठीक तरिका होइन ।

दाङतिर पनि उस्तै चाकडी

पूर्वसभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा अदालतबाट सफाइ पाएपछि गृहजिल्ला रोल्पा, छेउको जिल्ला प्यूठान र निर्वाचन क्षेत्रको जिल्ला दाङ पुगे । ती सबै जिल्लामा उनको भव्य अभिनन्दन र स्वागत भयो । उनको गलामा फूलमालाको ओइरो लाग्यो । सम्भवतः चुनाव जितेर पनि उनको त्यति भव्य स्वागत र अभिनन्दन भएको थिएन ।

एउटा कम्युनिष्ट नेताले पाएको भनेको जम्माजम्मी बलात्कार मुद्दामा सफाइ हो । एक त, उनी सम्भावित बलात्कार मुद्दाबाट जोगिनुपर्थ्यो । उनले त्यो सजगता अपनाउन सकेको देखिएको थिएन । अर्काेतिर ठूलै क्रान्ति जितेर आएको जस्तो भव्य अभिनन्दन गरियो ।

यसरी उल्टो चाकडी देखिनु अर्काे आश्चर्यको कुरा भए पनि कृष्णबहादुर महराले त्यो अभिनन्दन अस्वीकार गर्न सक्नुपर्दथ्यो । उनमा ठूलो क्रान्ति जितेर आएजस्तो अभिनन्दनको मोह देखियो ।

आफ्नै नेताले सफाइ पाएपछि कार्यकर्ता र चुनावमा भोट हालेका जनता खुशी हुने कुरा स्वाभाविक हो । तर, त्यति विधि फूलमाला लगाइनु एक प्रकारको मजाक पनि हो । अदालतले सफाइ दिएपछि म निर्दाेष थिएँ भनेर जनतासँग भन्न सक्छन् । तर, तिनै जनताबाट त्यति विधि फूलमाला नियोजित रुपमा किन लगाउनु परेको होला ? यो सम्मानप्रतिको भद्दा मजाक पनि हो ।

बलात्कार मुद्दामा अदालतले नै सफाइ दिएपछि अब महरा दोषी हुन् भनेर भन्नुको कुनै अर्थ रहेन । तर दाङ र रोल्पाको अभिनन्दन किन गरियो । फौजदारी मुद्दा जित्नु उनको लागि सफलता थियो । तर, त्यति भव्य अभिनन्दन गर्नुपर्ने कारण थिएन । तर उनका कार्यकर्तामार्फत् अभिनन्दन गर्न लगाइयो ।

महराले जनतासँग भेटघाट गरी आफ्नो सफाइ पेश गर्न सक्थे । त्यो अधिकार उनीसँग छ । तर, त्यति भव्य अभिनन्दनको आवश्यकता किन पर्‍यो ? म पूर्ण रुपमा निर्दाेष छु भनेर प्रमाणित गर्नका लागि ? नेकपा अध्यक्ष प्रचण्डले दाङ पुगेर दिएको अभिव्यक्ति अनुसार महराले नैतिकतासम्बन्धी गल्ती गरेका हुन् । तर बलात्कार चाहिँ गरेका होइनन् भन्ने थियो ।

अभियोग लागेर सफाइ दिएपछि पनि त्यति विधि अभिनन्दन गर्नुपर्ने आवश्यकता थिएन । तर त्यही गरियो ।

कुनै पनि घटनालाई सहजतापूर्वक नलिएर जसरी सामन्ती शैली अपनाउने गरिन्छ भने त्यसले हाम्रो संस्कृतिलाई भ्रष्टीकरण गर्दै लैजान्छ । केपी ओलीको जन्मोत्सव त्यस्तै भ्रष्टीकरणको रुप थियो ।

हामीले कुनै पनि गतिविधिलाई सामान्य रुपमा ग्रहण गर्न सक्नुपर्छ । राष्ट्रिय उत्सवहरुलाई पनि सबै जनताको बीचमा सामान्य ढंगले मनाउन सक्नुपर्छ । तर जब कुनै उत्सबहरुमा जनतालाई सामेल गराउन सम्भब हुँदैन, तब शासकहरुले ठूलठूला तामझाम अपनाउने गर्दछन् ।

त्यसरी अपनाइएका तामझामको प्रगतिशील संस्कृतिमा कुनै स्थान हुँदैन । चाकडीको नयाँ नयाँ शैली अपनाउने जुन तरिका नेकपाको सरकारले चालचलनमा ल्याइरहेको छ, ती मृत संस्कृति व्युँताउने प्रयत्न गरिएको छ । जनताको तहबाट त्यसप्रकारका शैलीहरुलाई तिरस्कार गरिनुपर्छ, बहिस्कार गरिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment