
३ चैत, रामेछाप । पानीका मुहान सुकेर खानेपानीको अभाव भएपछि जिल्लाको खाँडादेवी गाउँपालिकाले पुराना पानीका मुहानको उत्खनन सुरु गरेको छ ।
नमुनाको रुपमा वडा नं ६ माकादुममा खानेपानीका मुहानको उत्खनन् सुरु गरेको हो ।
माकादुमको कुवापानीको कुवामा उत्खनन् गर्दा पर्याप्त पानी निस्किएपछि स्थानीय र गाउँपालिका उत्साहित भएका छन् । अब सुकेका मुहानको क्रमशः उत्खनन् गरी पानी निकाल्ने योजना बनाएको खाँडादेवी गाउँपालिका– ६ का वडाअध्यक्ष पुष्कर कार्की बताउँछन् । यसवर्ष पनि सो वडामा अर्काे एउटा पँधेराको पानी उत्खनन् गर्ने कार्यक्रम राखिएको उनले बताए ।
कुवापानीमा रहेको कुवाको पानी २०७२ सालमा आएको भूकम्पपछि सुकेको थियो । भूकम्पको कारण कुवामा पानी सुकेपछि स्थानीयलाई पिउने पानीको निकै संकट भएको थियो । स्थानीयले पानी सुकेको कुवामा गहिरो पारेर खन्दा पानी निस्कन सक्ने भन्दै वडा कार्यालयमा सो स्थानमा डोजर लगाएर खन्न अनुरोध गरे । सोहीअनुसार १० फिट जति खनेपछि पहिलाको भन्दा पनि ठूलो पानी निस्किएको स्थानीय श्रीराम घिसिङले बताए ।
उत्खनन् गर्दा पानी भेटिएपछि पानी संरणको लागि गाउँपालिकाको बजे ५ लाख रुपैयाँबाट मुहान संरक्षण तथा खानेपानीको कुवा निर्माण गरिएको वडाअध्यक्ष कार्कीले बताए ।
सो कुवामा खन्दा पानी भेटिएकोले अन्य पानी सुकेका मुहानहरुमा पनि यसै गरी उत्खनन् गर्ने हो भने पानीको मुहान भेटिने आशा पलाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ बताउँछन् । यही सिकाइको आधारमा अब सुकेको पानीका मुहानहरु क्रमशः उत्खनन् गर्दै जाने उनले बताए ।
प्रतिक्रिया 4