Comments Add Comment

छापामा आज : क्याम्पबाहिर निस्किएका नेपालीलाई कतारले गर्‍यो डिपोर्ट

स्वास्थ्य प्रमाणपत्र नल्याउने ३६ विदेशी टीआईएबाट फर्काइए

४ चैत, काठमाडौं । कोरोना त्रास र यसले सिर्जना गरेको अवस्थाबारे सामग्री पस्किँदै आइरहेका दैनिक अखबारहरू आज पनि यही विषयको वरिपरि केन्द्रित छन् । यसबाहेक टिपर आतंक, सिन्डिकेटलगायत विषय पनि पत्रपत्रिकाहरूले समेटेका छन् ।

अन्नपूर्ण र कान्तिपुरले कतारमा कार्यरत नेपाली नियम उल्लंघन गर्दै क्याम्पबाहिर निस्किएपछि डिपोर्टमा परेको समाचार लेखेका छन् । तर, दुई पत्रिकाको तथ्यांकमा भने मतैक्यता छैन । कान्तिपुरले नियम उल्लंघन गर्दा २५० नेपाली डिपोर्ट भएको लेखेको छ भने अन्नपूर्णले २० जना ।

खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वारेन्टाइनमा राखेको छ । कामदार क्वारेन्टाइनबाट सीधै काम गर्ने स्थानमा जान पाउँछन् । तर बाहिर जान पाइँदैन । त्यसबारे दूतावासले पनि सूचना जारी गरेको छ । तर ती नेपाली निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वदेश फर्काइदिएको समाचारको सार छ ।

त्यस्तै, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको अर्को खबर पनि अन्नपूर्णमा छ । फिर्ता गरिएकामा नेपाली मूलका बेलायती नागरिकलगायत छन् ।

कोरोनाविरुद्ध सरकारले गरेका निर्णय सशक्त भए पनि कार्यान्वयन फितलो देखिएको निष्कर्ष कान्तिपुरले निकालेको छ । समाचार अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले तय गरेका रणनीति प्रभावकारी रूपमा लागू हुन सकिरहेका छैनन् ।

प्रधानमन्त्री कृषि परियोजनामा ११ करोड अनियमितता भएको खबर राजधानीले छापेको छ भने नागरिकले मौसमी फ्लुका बिरामी बढेको लेखेको छ । तेलको अन्तर्राष्ट्रिय मूल्य ६८ प्रतिशत घट्दा नेपालमा ९ प्रतिशत मात्र घटेको विषयलाई नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment