Comments Add Comment

चितुवाको आक्रमणबाट तनहुँमा बालिका घाइते

४ चैत, तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३, बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ ।

सोमबार साँझ घरमा बसिरहेको अवस्थामा चितुवाले बालिकालाई आक्रमण गरेको सो कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । घरमै रहेका बुबाआमाले होहल्ला गरेपछि चितुवा भागेको थियो । ‘छोरीलाई बाहिर राखेर एकैछिन घरभित्र पस्दा चितुवाले आक्रमण गर्न भ्याएको रहेछ,’ प्रहरी निरीक्षक रेग्मीले भने, ‘होहल्लापछि थप घटना हुन पाएन ।’

आक्रमणबाट बालिकाको पेटमा सामान्य चोट लागेको छ । उनलाई दुलेगौडास्थित तनहुँ सेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको छ ।

गत फागुन २८ गते मात्रै चितुवाको आक्रमणबाट बन्दीपुर गाउँपालिका–५, याम्पामा सात वर्षीय अनुप नेपाली घाइते भएका थिए ।

जिल्ला चितुवाको आक्रमण बढ्दै जाँदा स्थानीयवासी त्रसित छन् । भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाको आतंक छ । बीस महिनाको अवधिमा जिल्लामा चितुवाको आक्रमणबाट नौ बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिने प्रयास पनि गरेको छ । हालसम्म जिल्लामा सात चितुवा नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment