Comments Add Comment

शुक्रबारदेखि हराएको एक ट्रक बियर रौतहटमा फेला पर्‍यो

४ चैत, रौतहट । रौतहटमा चोरीको एक अनौठो घटना सार्वजनिक भएको छ । गोर्खा ब्रुअरी प्रालि नवलपरासीबाट १४५० कार्टुन बियर र १० कार्टुन जुस लिएर जनकपुरका लागि हिँडेको ट्रक बाटो बाटै हराएको थियो ।

फागुन ३० गते शुक्रबार नवलपरासीबाट हिँडेको सो ट्रक आइतबारसम्म पनि जनकपुर नपुगेपछि ट्रान्सपोर्ट कम्पनीका मह्मद शादिकले गाडी र सामानको खोजी सुरु गरेका थिए ।

जनकपुरको कदमचोकस्थित राजेश डिष्ट्रिब्युटर्सबाट अडर भए अनुसार कम्पनीले ना. ५ ख. २६८६ नम्बरको ट्रकमा उक्त सामान जनकपुर पठाएको थियो । तर, चालकको मिलोमतोमा उक्त सामान लोड भएको ट्रक रौतहटको गरुडा नगरपालिका-६ अमरपटीस्थित उमेश यादवको घरमा पुगेको थियो ।

ढुवानी कम्पनी शुभ ट्रान्सपोर्टका प्रतिनिधिको सहयोगमा प्रहरीले उक्त मालसामान रौतहटको गरुडा नगरपालिकाबाट सोमबार राति बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका-२ घर भएका ट्रान्सपोर्टका प्रतिनिधि पूण्यकुमार श्रेष्ठले दिएको किटानी उजुरीका आधारमा यादवको घरमा रहेकोे गोदाममा छापा मार्दा उक्त सामान बरामद भएको उनले बताए ।

ट्रक चालक र बिचौलियाबीचको आर्थिक चलखेलको आधारमा ८ लाख ३२ हजार मूल्य बराबरको १४५० कार्टुन बियर गरुडासम्म आइपुगेको प्रहरी अनुसन्धानले देखाएको छ ।

गरुडामा व्यापार गर्ने भारतीय नागरिक विकास साहले भाडामा लिएको गोदामबाट प्रहरीले चोरी भएको १४१५ कार्टुन वियर बरामद गरेको थियो । सामान बरामद भए पनि व्यापारी विकास साह तथा ट्रकका मालिक कटहरीया-२ का शेख फहिमुलहक फरार रहेको डीएसपी महतोले बताए ।

हेटौंडामा चालक फेरिएको र चालक फेरिएपछि उक्त ट्रक जनकपुर जानुको साटो विचौलियाको गोदामसम्म आइपुगेको रौतहटका प्रहरी उपरीक्षक रविराज खडकाले बताए । फरार रहेका व्यापारी र तथा ट्रकको खोजी कार्य जारी रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment