Comments Add Comment

संकटमा पर्यटन उद्योगको चमक कायम राख्न के गर्ने ?

४ चैत, काठमाडौं । सन् २०१९ मा विश्वभर १ अर्ब ४६ करोड मानिस एकबाट अर्को मुलुकमा भ्रमणमा निस्किए । २०२० को भने प्रारम्भमै चीनमा देखिएको कोरोना भाइरसका कारण तीन महिनादेखि पर्यटन उद्योग प्रभावित छ ।

तत्कालै समाधान निस्किए पनि विश्वभर करिब ४ करोड ३८ लाख पर्यटक कम हुने प्रारम्भिक अनुमान छ । अर्थतन्त्रमा बहुआयामिक असर पार्ने यो समस्याले संसारभरका होटेल र एयरलाइन्स कारोबार डुबाउँदैछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार नेपालमा एक पर्यटक आउँदा १२ जनाले रोजगारी पाउँछन् । पर्यटक घटेसँगै कृषि र पशुपालन क्षेत्रका उपजको खपत कम हुनेछ । लाखौं कामदारले तलव पाउन हम्मेहम्मे हुनेछ ।

अत्तालिएका हवाई र पर्यटन व्यवसायीहरु सहयोग-सहुलियत माग्न सरकारको ढोका धाइरहेका छन् । होटेल संघ नेपाल (हान)ले विजनेश संकटकाल घोषणाको माग गरेको छ । विज्ञहरु भने संकटमा पनि पर्यटन क्षेत्रलाई जिवन्त राख्न सकिने बताउँछन् । यसको लागि नगद अनुदान, सहुलियत माग्नुभन्दा फरक गतिविधि गर्नपर्ने उनीहरुको भनाइ छ ।

हिमाल सरसफाइ

नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामा यस वर्ष सरकारले ‘हिमाल सरसफाई वर्ष’ घोषणा गर्नपर्ने बताउँछन् ।

उनकाअनुसार, गत वर्ष हिमालमा अधिक चाप भएको भन्दै आलोचना भएको थियो । हिमाललाई एक वर्ष आराम दिनुपर्ने आवाज पनि उठेको थियो । हिमालमा लामो समयदेखि थुप्रिएका फोहोर र मानव शवहरु पनि छन्, जसले हिमाललाई कुरुप बनाएको लामा बताउँछन् ।

‘पर्वतारोहणमा खटिने शेर्पा, भरियो, सहयोगी र अन्य विशेषज्ञलाई समेत खटाएर सरकारले यसवर्ष हिमाल सरसफाइ वर्ष घोषणा गर्न सक्छ’, उनी भन्छन्, ‘संकटमा पनि नेपालबाट प्रवाह हुने त्यो खबरले विश्वव्यापी प्रभाव पार्छ ।’

कर्मचारीलाई तालिम

मार्च र अप्रिलभर विदेशी पर्यटक आउने सम्भावना छैन । त्यसपछि पनि कोरोनाको प्रभाव कस्तो रहन्छ, टुंगो छैन । यो अवस्थामा होटेल, एयरलाइन्स, रेष्टुरेन्टहरु आफ्ना कर्मचारीलाई सामान्य तलव-सुविधा दिएर घर पठाउने योजनामा छन् ।

प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूती चन्द ठाकुर मन्दीको बेला कर्मचारीलाई तालिम लिएर दक्ष बनाउन सकिने बताउँछन् ।

फुर्सदिला कर्मचारीलाई घरमा त्यसै राख्नुको साटो व्यवसायिक तालिम दिने हो भने उनीहरु काममा फर्कँदा अझ दक्ष हुने उनको भनाइ छ । भन्छन्, ‘सरकारले प्याकेज बनाएर कर्मचारीलाई डिजिटल मार्केटिङ, हस्पिटालिटी, सेफ्टी तथा विदेशमा प्रचलित अरु सिपबारे जानकारी गराउने कार्यक्रम ल्याए राम्रो हुनेछ ।’

कोरोनामुक्त देश

नेपाल पर्यटन बोर्डका पूर्वसीइओ दीपकराज जोशी जुनसुकै उपाय अपनाएर भएपनि नेपालमा कोरोना संक्रमण नभित्रने वातावरण बनाउनपर्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय पर्यटन बजारमा यसको ठूलो महत्व हुने उनको भनाइ छ । ‘संसारका अधिकांश देशमा संक्रमण भएको समयमा कोरोना उत्पत्ति भएको चिन नजिकै सुरक्षित रहनु आफैंमा महत्वपूर्ण विषय हो’, जोशी भन्छन्, ‘भोलि अवस्था सामान्य भएपछि ‘कोरोनामुक्त देश’ भनेर प्रवर्द्धन गर्न सकिने हुनाले अहिले संक्रमणबाट बच्ने हरसंभव उपाय अपनाउनुपर्छ ।’

नेपाल अंकित मास्क सहयोग

नेपालले विश्वव्यापी संकटको समयमा पनि आफ्नो प्रवर्द्धन गर्न सक्छ । त्यसका लागि अहिले सर्जिकल मास्क उपयुक्त माध्यम बन्न सक्ने जोशी बताउँछन् ।

उनकाअनुसार नेपालले केहि लगानी गरेर देशभित्रको आवश्यकता आपूर्ति पूरा गरी कोरोनाबाट अतिप्रभावित मुलुकहरुलाई मास्क सहयोग गर्न सक्छ । त्यस्तो मास्कमा नेपाल चिनाउने कुनै छाप लगाउन सकिने उनी बताउँछन् ।

‘संकटको बेला आएको सहयोगले मानिसको मन जित्छ’, उनले अनलाइनखबरसँग भन्छन्, ‘ती मुलुकहरु कोरोनाको त्रासबाट मुक्त भएपछि नेपाल भ्रमणमा आकषिर्त हुन्छन् ।’

अधुरा भौतिक पूर्वाधार निर्माण 

सरकारले भ्रमण वर्ष घोषणा गर्दा सामाजिक सञ्जालमा ‘पर्यटकलाई धुलो देखाउन बोलाउने ?’ भन्दै आलोचना भएको थियो । अहिले पर्यटक नआएको समयलाई पर्यटकीय पूर्वाधार निर्माणमा उपयोग गर्न सरकारलाई जोशीको सुझाव छ ।

उनकाअनुसार विमानस्थल सुधार तथा क्षमता अभिवृद्धि, होटेलहरुले क्षमता बिस्तार, पदयात्रा मार्ग निर्माण तथा अन्य पूर्वाधारको मर्मतको काम यस समयमा गर्न सकिन्छ । त्यसबाट एकातिर रोजगारी सिर्जना हुने र अर्कातिर देशको मुहार फेर्न सहयोग पुग्ने जोशी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment