+
+

चौराहा–गोलपार्क सडक विस्तार : घरटहरा हटाउन १५ दिने म्याद

तीन सय घरहरु भत्किने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ६ गते १३:३३

६ चैत, बुटवल । चार वर्षदेखि अवरुद्ध बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक अब विस्तार हुनेभएको छ । चौराहदेखि मिलनचोक, ट्राफिकचोक, गोलपार्कहुँदै चिडियाखोलासम्मको सडक विस्तारको काम अब अगाडि बढ्ने भएको हो ।

राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे ३ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कामलाई अगाडि बढाउने योजनासहित व्यापारिक मार्ग विस्तार आयोजनाले बिहीबार १५ दिने सूचना जारी गर्दै सडक मिचेर बनेका घरटहरा हटाउन भनेको छ ।

पटक-पटक सूचना जारी भई स्थगित हुँदै आएको पश्चिम नेपालको औद्योगिक एवं व्यापारिक केन्द्र बुटवलको सिद्धार्थ राजमार्गमा पर्ने मुख्य बजारको सडक विस्तारको काम यो सूचना जारी भएसँगै अब सुरु हुने विश्वास गरिएको छ ।

गृह मन्त्रालयले गत हप्ता स्थानीय प्रसासनलाई निर्देशन दिँदै सडक विस्तारमा भइरहेको अवरोध हटाएर आयोजनाको कामलाई सहज बनाउन भनेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, व्यापारिकमार्ग विस्तार आयोजना, मणिग्राम, रुपन्देहीले मुआब्जा निर्धारण समिति रुपन्देहीको मिति २०७६ चैत ३ अनुसार ५ जनाको हकमा थप निर्णय गर्ने र बाँकीको हकमा केही गर्नु नपर्ने भएकाले ८२ फिट कायम गर्दै त्यसमा भएका भौतिक संरचनाहरु १५ दिनभित्र हटाउन भनिएको छ ।

यो सूचनासँगै सडक अब ६ लेन बनाउन सडक अतिक्रमण गरी बनाइएका करिब ३ सय घरहरु भत्किने भएका छन् । चौराहादेखि गोलपार्कसम्मको करिब साढे ३ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कामलाई अगाडि बढाउने योजना ४ वर्षदेखि रोकिएको छ ।

सडक किनारका घरधनीहरुले अदालतमा रिट हालेका कारण सडक विस्तारको काम अगाडि बढ्न सकेको थिएन । अहिले चार लेनमा रहेको यो बुटवल बजारको सडकलाई सर्भिस लेन निर्माण गरी ६ लेन (सिक्स लेन) को बनाउने तयारी छ ।

परियोजनाले गत वर्षको भदौमा घरधनीहरूले सूचनामा अनुसार सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू नहटाएपछि कतिपय घरमा डोजर समेत चलाएको थियो । तर अदालतले त्यसलाई रोकेको थियो ।

सरकारले देशभरका मुख्य राजमार्गलाई ८२ फुट कायम गराउने अभियान अन्तर्गत यसको कार्यान्वयन बुटवलमा पनि गर्न लागिएको हो ।

परियोजनाले २०३४ असार २० गतेभन्दा अगाडि निर्माण भएका घरहरूलाई भनी सरकारी निती अनुसार क्षतिपूर्ति दिएका कारण थप दिन नपर्ने बताउँदै आएको छ । अब बन्ने मुख्य राजमार्गको केन्द्रविन्दुबाट दाया बायँ दुबैतिर २५/२५ मिटरभित्र पर्ने घरहरु भत्काइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?