Comments Add Comment

पुनर्निर्माणमा कोरोना भाइरसको असर कम

२५ जना भन्दा बढी भेला हुन नपाउने निर्णयले प्रभाव पार्ने

पुनर्निर्माण भइरहेको धरहरा ।

६ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण देशका धेरै आयोजना प्रभावित भएका बेला पुनर्निर्माणका काममा भने धेरै प्रभाव परेको छैन ।

रानीपोखरी, धरहरा पुनर्निर्माणमा ठुलो संख्यामा कामदार भेला भई काम गरिरहेका छन् । निजी आवास पुनर्निर्माण पनि रोकिएको छैन ।

सरकारले पछिल्लो समय २५ जना भन्दा बढी मानिस भेला हुन नपाउने निर्णय गरेपछि भने धरहरा, रानीपोखरीगायतका ठूला सम्पदा पुनर्निर्माण प्रभावित हुने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सरकारको पछिल्लो निर्णयका विषयमा छलफल गर्ने बताए ।

‘हामी नेपाल सरकारले दिएको निर्देशनअनुसार कामदारको सुरक्षालाई ध्यानमा राखेर निर्णय गर्छौ’ उनले भने ।

घिमिरेका अनुसार हालसम्म कोरोना भाइरस त्रासको असर पुनर्निर्माणको क्षेत्रमा महसुस गरिएको छैन र पुनर्निर्माणमा चाहिने कच्चापदार्थको अभाव पनि छैन ।

कोरोना त्रासको असर पुनर्निर्माणको क्षेत्रमा नपरेको प्राधिकरण र पुरातत्व विभागले बताएको छ । पुरातत्व विभागका साइट इन्जिनियर पूर्णबहादुर श्रेष्ठले सम्पदा पुननिर्माणमा धेरैजसो नेपाली कामदार नै रहेकाले प्रभाव नपरेको बताए ।

‘अहिलेसम्म प्रभाव नपर्नुको कारण कामदारहरु नेपाली नै छन् । केही सामान चीनबाट आयात गर्नुपर्ने हो, अरु काठहरु कामदार, यहीँ (नेपाल) को भएकाले समस्या छैन ।’

कोरोना भाइरसको संक्रमण नेपालमै देखिएमा पअसर पर्न सक्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

कामदारलाई मास्कसमेत छैन

रानीपोखरी पुनर्निर्माणका प्राविधिक परार्मशदाता राजुमान महर्जनले पुनर्निर्माणमा खटिएका कामदार कोरोना संक्रमणबाट नडराएको बताए ।

उनले भने, ‘अहिले धरहरा, रानीपोखरीमा काम गरिरहेका कामदारहरु मास्क नलगाई काम गरिरहेका छन् । उनीहरु खासै डराएका छैनन् । काम पनि समूहमै गरिरहेका छन् ।’

महर्जनका अनुसारर पुनर्निर्माणको काम एक्लाएक्लै गर्न मिल्दैन, समूहमा गर्नुपर्छ । काम रोक्ने कि नरोक्ने भन्ने विषयमा पुनर्निर्माण प्राधिकरणसँग छलफल गर्ने महर्जनले बताए ।

सरकारले २५ जना भन्दा बढी भेला हुन नपाउने निर्णय गरेकाले पनि समूहमा गर्नुपर्ने ठूला पुनर्निर्माण प्रभावित हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment