६ चैत, वीरगञ्ज । पछिल्लो समय चर्किँदै गएको घामको प्रवाह नगरी वीरगञ्ज छपकैयाकी सञ्जुदवी ग्यासको लागि लाइनमा बसेकी भेटिइन् ।
छपकैयाबाट ग्यास लिनका लागि उनी पानीट्याङ्की आएकी थिइन् । नियमित ग्यास लिने पसलका सञ्चालकले ग्यास छैन भनेपछि उनी बिहीबार बिहान १० बजेदेखि नै पानीट्याङकी स्थित एक डिलर अगाडी लाइनमा बसेकी थिइन् ।
‘सँधै लिने ठाउँमा ग्यास छैन भने वरपर रहेका अन्य पसलमा सोध्दा पनि उस्तै जवाफ आयो, त्यसैले यहाँ ग्यास लिन आएकी हुँ,’ उनले भनिन् ।
वीरगञ्ज प्रतिमाचोकका दिनेश सुवेदी पनि ग्यासको लाइनमा नै भेटिए । ‘घरमा ग्यास सकिएको छ, तर सँधै लिने पसलमा ग्यास छैन,’ सुवेदीले भने, ‘त्यसैले यहाँ ग्यास पाइन्छ की भनेर लाइन बस्न आएको हुँ ।’
वीरगञ्ज पानी ट्याङकीस्थित मिखा ट्रेडर्स अगाडि बिहीबार ग्यासका लागि लामो लाइन देखिन्थ्यो । ट्रेडर्सका नियमित ग्राहक मात्रै होइनन्, वीरगञ्ज महानगरपालिका विभिन्न स्थानबाट मनोज ग्यासका लागि उपभोक्ता लाम लागेका थिए । ग्यासको लाईनले मधेस आन्दोलन र नाकाबन्दीको झल्को दिन्थ्यो ।
मनोज ग्यास मात्रै होइन, वीरगञ्जमा अहिले अन्य ग्यास पनि उपभोक्ताले सहज रुपमा पाउन सकेका छैनन् । सरकारले ग्यासको आपूर्ति नियमित भइरहेको बताए पनि बजारमा त्यसको विपरित अवस्था छ । ग्यास भित्रिने प्रमुख नाका वीरगञ्जमा समेत उपभोक्ता ग्यास नपाएर सास्ती भोग्न बाध्य छन् । सामान्य अवस्थामा घरमा नै ग्यास पुर्याइदिने डिलरले ग्यास छैन भन्न थालेको उपभोक्ता बताउँछन् । ‘पसलमा झार्दा झार्दै ग्यास गायब भइसक्छ ।’ एक उपभोक्ताले परिचय नखुलाउने शर्तमा भने ।
वीरगञ्ज– ११ श्रीपुरका कृष्ण साहले दुई घण्टा लाइनमा बसेपछि बल्ल बल्ल एक सिलिण्डर ग्यास पाएको बताए ।
कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले ‘लकडाउन’ गर्न सक्ने भन्ने हल्ला चलेपछि कतिपयले मौज्दात राखेका छन् । जसले गर्दा पनि नियमित रुपमा उपभोक्ताले ग्यास पाउन सकिरहेका छैनन् । पैसा हुनेले एकै परिवारका लागि ४/५ वटा ग्यास सिलिण्डर मौज्दात राखेको उपभोक्ताको गुनासो छ ।
वीरगञ्ज मुर्लीका विष्णु दहाल उपभोक्ताले ग्यास मौज्दात राखेर पनि समस्या भएको बताउँछन् । ‘ कोरोनाले गर्दा लकडाउन हुने हल्ला छ, मानिसहरुले चाहिने जति लगे त हुन्थ्यो । सक्नेले बढी लगेर राखेका छन्,’ दहालले भने ।
तर ग्यास बिक्रेता महासंघका उपाध्यक्ष एवं मिखा टेडर्सका सञ्चालक गणेशमान श्रेष्ठ उपभोक्तालाई चर्को घाममा ग्यासको लाईनमा राख्नु रहर नभई बाध्यता भएको बताउँछन् । ‘पसलमा ग्यास हुन्थ्यो भने त बिहानै उपभोक्ताको घर घरमा पुर्याइदिन्थ्यौं । उद्योगले मागेजति ग्यास समयमा नै पठाइरहेको छैन । जतिबेला मन लाग्यो, त्यतिबेला जति मन लाग्यो त्यति पठाउँछ, बिभिन्न बहाना बनाउँछ । हामीले के गर्ने ?’ श्रेष्ठ भन्छन्, ‘व्यापार गर्न बसेका हामी दिउँसो १ बजेदेखि नै पसल बन्द गरेर बस्नुपर्छ ।’
घरमै रहेको पसलमा उपभोक्ताले जुनसुकै समयमा ग्यास मागेर हैरान पारेपछि उनले गेटमा ग्यास वितरण गर्ने समय सहितको सूचना नै टाँस गरेका छन् । ‘पसल बन्द छ भने ढोका न ढक ढकाउनुस, सभ्य भएर परिचय दिनुस्, ग्यास आएमा वितरण गरिनेछ । बिहान १० बजेदेखि ११ः३० बजेसम्म आउनुहोला ’
मिखा ट्रेडर्सको मात्रै नियमित ग्राहक दैनिक १ सय ६० को हाराहारीमा हुँदा समेत उद्योगले बढीमा १ सय वटा सिलिण्डर पठाइरहेको उनको भनाइ छ ।
प्रशासनले भने नेपाल ग्यास नारायणी बाहेक अन्य ग्यास बजारमा नियमित आपूर्ति भइरहेको दाबी गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर कार्कीले नेपाल ग्यास बाहेक अन्य ग्यासको बजारमा अभाव नरहेको बताए । ‘नेपाल ग्यास बजारमा नभएको आयल निगमले नै स्वीकारेको छ, मनोज ग्यासको माग नै बढी भएकोले केही अभाव देखिएको होला, बारा र जगदम्बाको अभाव छैन,’ प्रजिअ कार्कीले भने, ‘तैपनि गुनासो आइरहेको छ, आयल निगमलाई साँझ ५ बजेसम्म प्रतिवेदन बुझाउन भनेका छौं ।’
डिलर सञ्चालकलाई बोलाएर ग्यास पारदर्शी ढंगले वितरण गर्न निर्देशन दिइसकेको र कालोबजारी भए नभएको अनुगमनको तयारी भइरहेको उनको भनाइ छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4