Comments Add Comment

पोखरा महानगरमा हेल्थ डेस्क

६ चैत, पोखरा । पोखरा महानगरपालिकाले कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै कार्यालयमा ‘हेल्थ डेस्क’ स्थापना गरेको छ ।

हेल्थ डेक्समार्फत सेनिटाइजरको प्रयोग र तापक्रम जाँच गरेपछिमात्रै सेवाग्राहीले कार्यालयमा प्रवेश पाउने भएका छन् ।

विश्वभरि महामारीका रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस)बाट सुरक्षित हुन बिहीबारदेखि यस्तो व्यवस्था मिलाइएको महानगरले जनाएको छ ।

यस्तै, पोखरा महानगरले कोभिड कोभिड–१९ का नाममा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्ने व्यापारीमाथि अनुगमन गर्ने भएको छ ।

महानगर उपमेयर संयोजकत्वमा गठित उपभोक्ता हित संरक्षण समितिको बिहीबार बसेको बैठकले बजार अनुगमन गर्ने र कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्ने निर्णय गरेको हो ।

‘अहिले बजारमा सबैभन्दा बढी मास्क, सेनिटाइजर र ग्यासको अभाव देखियो,’ उपमेयर तथा मञ्च संयोजक मञ्जुदेवी गुरुङले भनिन्, ‘सरोकारवाला सबै निकायसँग समन्वय गरी बजार अनुगमन गर्नेछौं ।’

उपमेयर गुरुङले पोखरामा ६ महिनासम्मका लागि पुग्ने खाद्यान्न भण्डार रहेकाले कसैलाई पनि नआत्तिन आग्रह गरिन् । ‘कम्तिमा ६ महिनासम्म पुग्ने सम्पूर्ण खाद्यान्न उपलब्ध भएको खबर पाएका छौं । अनावश्यक सञ्चिति गरेर अभाव सिर्जना नगर्नुहोला,’ उनले सुझाव दिइन् ।
समितिले बजार अनुगमनका लागि छुट्टै उपसमिति गठन गरेको गुरुङले जानकारी दिइन् ।

पोखरा १५ वडाध्यक्षको संयोजकत्वमा उद्योग वाणिज्य संघ लगायत संघसंस्थाको सहभागितामा उपसमिति गठन गरिएको हो । ‘वडास्तरबाट पनि बजार अनुगमन गर्न प्रत्येक वडाका वडाध्यक्षलाई सूचना जारी गरिसकेका छौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment