Comments Add Comment

चीनलाई देशबाहिरबाट भित्रिने संक्रमणको डर

६ चैत, काठमाडौं । चीनमा अरु देशबाट आएका मानिसहरूमा कोरोना भाइरस कोभिड–१९ संक्रमण भेटिन थालेको छ । र, उसले बाहिरबाट आउने संक्रमितलाई रोक्न चीनको बेइजिङलगायतका शहरमा १४ दिनको क्वारेन्टाइनलाई अझ कडा बनाउने निर्णय गरेको छ ।

वुहानबाट सुरु भएको संक्रमण अहिले विश्वभर फैलिएको छ । वुहानमै भने नयाँ संक्रमितको संख्या शून्यमा झरेको छ ।

तर पछिल्लो समय घर फर्किने चिनियाँ र अन्य पर्यटकबाट चीनमा पुनः कोरोना फैलिनसक्ने आशंका बढेको छ । पछिल्लो पाँच दिनयता चीनमा स्थानीयभन्दा पनि बाहिरबाट आएका संक्रमण बढी छ । बिहीबार दिइएको जानकारीअनुसार चीनमा बुधबार ३४ नयाँ संक्रमित देखिएका थिए, जसमध्ये सबै संक्रमित चीनभन्दा बाहिरबाट आएका थिए ।

हङकङमा पनि २५ नयाँ संक्रमण देखिएको थियो, जसमध्ये धेरैजसो यो क्षेत्रभन्दा बाहिरबाट आएका संक्रमित थिए । बाहिरबाट आउने संक्रमितको संख्या बढेसँगै बेइजिङले क्वारेन्टाइनमा कडाइ गरेको छ । गत साता बेइजिङले राजधानीमा आउने सबै मानिसलाई घर वा होटलमै क्वारेन्टाइनमा बस्न सक्ने व्यवस्था गरेको थियो । अहिले व्यवस्था गरिएको क्वारेनटाइनमा बस्ने मानिसले निश्चित शुल्क पनि बुझाउनुपर्ने छ ।

यस्तै हङकङ र मकाउले पनि बाहिरबाट आउनसक्ने भाइरस रोक्न क्वारेन्टाइनको नियममा थप कडाइ गरेका छन् । बाहिरबाट आउने मानिसमा यसको परीक्षण बढाइएको छ ।

हङकङकी प्रमुख क्यारी लामले यो अवस्थामा थप कडा कदम नचाल्ने हो भने यो भाइरस नियन्त्रणको लागि पछिल्लो २ महिनादेखि चालेको कदम खेर जाने उनको भनाइ छ । बिहीबारदेखि हङकङमा आउने सबै मानिसले अनिवार्य रुपमा सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।

त्यस्तै व्यवस्था मकाउमा पनि लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment