Comments Add Comment

कोरोना असर : गैंडा गणना स्थगित   

७ चैत, चितवन । चैत १० गतेदेखि हुने भनिएको गैंडा गणना स्थगन गरिएको छ । सुरुमा चैत १ गतेदेखि गणना गरिने भनिएको भए पनि मौसमका कारण पछाडि सारिएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव तथा सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा जमघट नहुन निर्देशन गरेसँगै तत्कालका लागि गणना कार्य स्थगन भएको जानकारी दिए ।

उनका अनुसार गैंडा गणनाका लागि १५० हाराहारी जनशक्ति एकै ठाउँमा सामेल हुनुपर्ने हुन्छ । सरकारले २५ जनाभन्दा बढी भेला हुन, कुनै सभा सम्मेलन तथा गोष्ठी गर्न रोक लगाएको छ । अर्को सूचना नआउँदासम्म गैंडा गणना कार्य स्थगन भएको उनले जानकारी दिए । सरकारले कोरोनाको सङ्क्रमणको त्रास घटेर अर्को सूचना जारी गरेसँगै गणना कार्य अघि बढ्ने उनले बताए ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले सबै तयारी पूरा भएकाले कोरोनाको त्रास घटेसँगै गणना गर्न सकिने बताए । गणनाका लागि शुक्रबार र शनिबार तालिमसमेत राखिएको थियो । रुपाखेतीका अनुसार गणना जेठ १५ गतेसम्म गर्न नसकिए यस वर्ष सम्भव नहुने भएकाले कोरोनाको त्रास घटेसँगै गणना हुनेछ ।

विभागका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने कार्यक्रम थियो । गैंडा गणनाका लागि चैत महिना अत्यन्तै राम्रो भए पनि विशेष परिस्थितिका कारण गैंडा गणना स्थगन गर्न बाध्य भएको विभागले जनाएको छ ।

विगतका वर्षमा दाताको भरमा गैँडा गणना गरिने भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्न लागिएको थियो । गैंडा गणनाका लागि विभागले रु एक करोड १० लाख ३५ हजार रकम विनियोजन गरेको थियो ।

नेपालमा सन् १९९४, २०००, २००५, २००८, २०११ र २०१५ मा गैंडा गणना गरिएको थियो । हरेक पाँच/पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनामा चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैंडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैंडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैंडाको बासस्थान रहेको छ ।

सन् २०१५ को गणनापछि चोरीसिकारबाट मर्ने गैंडाको सङ्ख्या नगण्य छ । प्राकृतिक कारणले चितवन निकुञ्जमा गैंडा मर्ने क्रम बढ्दै गइरहेको छ । यस वर्ष हालसम्म २२ वटा गैंडा प्राकृतिक कारणले मरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सारीमा आँचल

Advertisment