Comments Add Comment

कोरोनाको त्रासले रोकिए साहित्यिक कार्यक्रम

७ चैत, काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण पछिल्लो दुई सातादेखि ठूला साहित्यिक कार्यक्रम पनि रोकिएका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत नाट्य प्रतिष्ठान तथा ललितकला प्रज्ञा प्रतिष्ठानले गर्ने कार्यक्रम रोकिएका छन् । प्रज्ञाले सरकारको निर्देशनको पालना गर्दै चैत्र महिनामा हुने सबै कार्यक्रम रोकेको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव जगतप्रसाद उपाध्यायले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘शनिबार  हुने अन्तर्राष्ट्रिय कविता दिवसको कार्यक्रम र चैत्र २७ र २८ हुने तामाङ भाषाको साहित्यिक कार्यक्रम रोकेका छौं ।’

प्रज्ञाले आफूसँग भएका सबै हलहरूमा कुनै पनि कार्यक्रम गर्न निषेध गरेको छ । गत साता नै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एक विज्ञप्ति जारी गर्दै एक महिनाका लागि कुनै साहित्यिक, सांगीतिक कार्यक्रम र भेला नगर्ने जनाएको थियो ।

यस्तै नेपाल आर्ट काउन्सिलमा हुने चित्रकला,  मूर्तिकला तथा सेमिनार कार्यक्रम पनि स्थगित गरिएको छ । निजी क्षेत्रका साहित्यिक प्रकाशनले गर्ने पुस्तक लोकार्पण र पुस्तक चर्चा कार्यक्रम पनि स्थगित भएका छन् ।

तर सांग्रिला बुक्स, रत्न पुस्तक भण्डारलगायतका प्रकाशनले केही नयाँ किताब बजारमा पठाए पनि भोटाहिटी, बागबजारलगायत पुस्तक व्यापार हुने मुख्य बजारक्षेत्रमा ग्राहकको चलहपहल न्यून छ ।

लेखक आफैंले प्रकाशन गरेका पुस्तक सार्वजनिक गर्ने कार्यक्रम पनि रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment