Comments Add Comment

रामेछापमा साबुन पानीले हातधुने अभियान

७ चैत, रामेछाप । रामेछापमा ट्राफिक प्रहरीले साबुन पानीले हात धुने अभियान सञ्चालन गरेको छ । सो क्रममा ट्राफिक प्रहरीले चालक तथा यात्रुहरुलाई मास्क समेत वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गरेर ट्राफिक प्रहरीले मास्क वितरण गर्नुका साथै साबुन पानीले हात धुने अभियान सुरु गरेको हो । जिल्ला सदरमुकाम मन्थलीबाट ट्राफिक प्रहरीले सो अभियान सुरु गरेको हो ।

पैदल तथा यातायात साधनमा यात्रा गर्ने यात्रु तथा चालकलाई लक्षित गरी मास्क वितरण र साबुन पानीले हात धुने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोछापका प्रमुख प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले बताए ।

रामेछाप, दोलखा, सिन्धुली र ओखलढुंगाका विभिन्न स्थानमा पुग्ने सवारी साधन र ढुवानी साधनहरु रामेछाप सदरमुकाम मन्थली हुँदै गुड्ने गर्दछन् ।

काठमाडौं, वीरगञ्ज, काँकडभित्ता लगायत विभिन्न स्थानहरुबाट आउने बसका चालक, यात्रु तथा पैदल यात्रीहरुलाई मास्क वितरण तथा साबुन पानीले हात धुन लगाएर अभियान सुरु गरिएको उनले बताए ।

यसैबीच रामेछापमा चैत मसान्तसम्म भेला, बैठक र सार्वजनिक कार्यक्रमहरु आयोजना गर्न रोक लगाइएको छ ।

मठ मान्दिर, गुम्बा तथा चर्चमा हुने भेला, व्यक्तिगत तथा समूहिक भेला समेत गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय रामेछापमा कोभिड–१९ को जोखिम न्यूनिकरण सरोकारपक्ष सहभागी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जिल्लाका विभिन्न स्थानमा लाग्ने हाटबजार समेत बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

यसैगरी जिल्ला प्रवेश गर्ने नाकामा तापक्रम मापन उपकरणको व्यवस्था मिलाउने, मन्थलीको सामुदायिक भवन लगायतका स्थानमा क्वारेन्टाइन स्थापना गर्ने लगायतका निर्णयहरु भएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment