Comments Add Comment

डोटीमा कोरोना रोकथाम : हेल्थ डेस्कदेखि भाकलसम्म

७ चैत्र, डोटी । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण हुन नदिन डोटी जिल्लामा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले भिडभाड हुने जिल्लाका मुख्य चार स्थानमा हेल्थ डेस्क (स्वास्थ कक्ष) स्थापना गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि सूचना सामग्रीसहित डोटीको जोरायल गाउँपालिका-२ बुडर, दिपायल सिलगढी नगरपालिका-४ पिपल्ला बजारमा रहेको शैलेश्वरी अस्पताल, आर्दश गाउँपालिका-२ मौवा नगरदह मौवा स्वास्थ्य चौकी र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गरेको छ ।

यस्तै जिल्लामा १० वटा आईसोलेसन वेड तयार गरिएको छ । डोटी जिल्ला अस्पताल, सुदूरपश्चिम प्रहरी अस्पताल, सु-जङ्ग अस्पताल, शैलेश्वरी अस्पताल र चोपडा अस्पताल गरी पाँच अस्पतालमा दुई/दुईका दरले १० आईसोलेसन बेड तयार गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । पौडेलले क्वारेण्टाइनखस्थापनाका लागि आवश्यक छलफल भइरहेको जानकारी दिए ।

यस्तै दिपायल सिलगढी नगरपालिकाले प्रत्येक वडाका वडाध्यक्षको नेतृत्वमा टोल टोलमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

वडा सदस्यहरु, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरु, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरु, महिला स्वास्थ्य स्वयंसेविका र आमा समूहहरुलाई परिचालन गरिएको नगर प्रमुख मन्जु मलासीले बताइन् ।

नगरपालिकाले घर आँगन र व्यक्तिगत सरसफाइका लागि नगरवासीसँग सार्वजनिक रुपमा अपिल गरेको छ । यस्तै भारतबाट आउने नेपालीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनु पर्ने व्यवस्था गरिएको छ ।

वडाका जनप्रतिनिधिहरुले आफ्नो वडाभित्र भारतवाट आउने नेपालीहरुलाई अनिवार्य जाँच गराउन पहल गर्नु पर्ने नगरपालिकाले निर्देशन गरेको छ ।

प्रत्येक सरकारी कार्यालयमा ‘हेण्ड वास कर्नर’ राखिएका छन् । सेवाग्राहीहरुले सेवा लिनका लागि प्रवेश गर्नुभन्दा पहिले सावुन पानीले राम्रोसंग हात धुनु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै सार्वजनिक सवारी साधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सवारी साधनहरुलाई नियमित रुपमा सफा गर्ने र सवारी साधनहरुमा कोराना बिरुद्धको सन्देशमुलक सामग्री बजाउने व्यवस्था गरिएको छ ।

कोरोना फैलिन नदिनका लागि डोटीमा रहेको प्रसिद्ध शैलेश्वरी मन्दिरमा भाकलसमेत गरिएको छ । यो क्षेत्रमा कोरोनाको संक्रमण नदेखिए आगामी वैशाखमा मन्दिरमा क्षमा पूजा गर्ने शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष प्रेमशंकर भट्टले जानकारी दिए ।

कोरोनाकै कारण त्रसित नहुन प्रमुख जिल्ला अधिकारी पौडेलले वताए । ‘अन्य जिल्लाको तुलनामा डोटी सुरक्षित छ, किनभने हाम्रो जिल्ला अन्तराष्ट्रिय सिमासँग जोडिएको छैन,’ पौडेलले भने, ‘त्यसैले धेरै त्रसित हुनु पर्ने कारण छैन, तर सावधानी भने अपनाउन जरुरी छ ।’ उनले अत्यावश्यक कामका लागि बाहेक धेरै भिडभाड हुने ठाउँमा नजान समेत आग्रह गरेका छन् ।

स्वास्थ्यकर्मी र उपकरणको अभाव

कोरोनाको सक्रमणबाट बच्न बिभिन्न प्रयासहरु भइरहेका बेला जिल्लामा स्वास्थ्यकर्मी र उपकरणहरुको भने अभाव देखिएको छ ।

स्वास्थ्य कार्यालय डोटीका सुपरभाइजर तेजबिक्रम शाहीले औषधि अभाव नरहेको तर स्वास्थ्यकर्मी र उपकरणको अभाव रहेको बताए । ‘स्वास्थ्यकर्मीको समायोजनले जिल्लामा दरबन्दीहरु रिक्त रहेका छन्’ शाहीले भने ‘करारमा स्वास्थ्यकर्मी भर्नाका लागि विज्ञापन भएको छ ।’

कोरोनाबाट बच्नका लागि उपकरण नभएको बताउँछन् जिल्ला अस्पताल डोटीका चिकित्सक डा राजेश न्यौपाने । उनले भने, ‘हेल्थ डेस्क त स्थापना भएका छन् तर त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुको आफ्नै सुरक्षा छैन ।’ उनले हेल्थ डेस्कहरुमा र अस्पलातहरुमा ‘थर्मल गन’ पनि नभएको वताए ।

उनले थपे, ‘व्यक्ति सुरक्षाका लागि लगाउने लुगाहरु पनि हामीसँग छैन ।’ स्वास्थ्यकर्मीहरुलाई आफ्नो सुरक्षा कसरी गर्ने भन्ने विषयमा समेत ज्ञान नभएको डा न्यौपानेले वताए ।

जिल्लामा मास्कको पनि अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

स्वास्थ्यकर्मी र उपकरण उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग कुरा भएको बताउँछन् प्रमुख जिल्ला अधिकारी पौडेल । उनले भने, ‘हामीले प्रदेश सामाजिक विकास मन्त्री ज्यूलाई भेटेरै जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराएका छौं र लिखित रुपमा पनि अनुरोध गरेका छौं ।’

उनले मन्त्री स्वयम्ले तत्काल व्यवस्था गर्ने आश्वासन दिएको पौडेल बताउँछन् । उनले क्वारेण्टाइन स्थापनाका लागि एक सय टेण्टसमेत माग गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment