Comments Add Comment

श्रमिक घर फर्किन थालेपछि सडक स्तरीकरणको काममा समस्या

७ चैत, काठमाडौं । श्रमिकहरुले काम छाड्न थालेपछि काठमाडौंको सडक स्तरीकरणको योजनामा पनि समस्या पर्न थालेको छ । श्रमिकहरु घर फर्किन सुरु गरेपछि काठमाडौंमा सडकहरुको आवधिक मर्मतको काम प्रभावित हुन थालेको सडक विभागले जनाएको छ ।

विभागका महानिर्देशक केशवकुमार शर्माले श्रमिकहरु घट्दै गएकाले समस्या पर्न थालेको बताए । उनले रातको समयमा काम भइरहे पनि कामदार अभावले अहिलेकै गतिमा सडक सुधारको काम अघि बढाउन समस्या पर्न थालेको गुनासो गरे ।

‘हामीले काम रोकेका छैनौं,’ उनले भने,’जति सकिन्छ, त्यति काम गर्छौं, जति कामदार उपलब्ध हुन्छन् त्यसकै आधारमा काम हुनेछ ।’

अन्य सडक आयोजनाहरुमा पनि यस्तो प्रभाव देखिन थालेको विभागको भनाइ छ ।

सडक विभागको भनाइ मान्ने हो भने अब काठमाडौंभित्र आफ्नो अधिकार क्षेत्रभित्रका केही सडकमा अझै कालोपत्रे गर्न र खाल्डा पुर्न बाँकी छन् ।

तीमध्ये कतिपयमा ठेकेदारको लापरवाही र स्थानीयको अवरोधले समस्या भएको छ । कतिमा ठेक्का नै लाग्न सकेको छैन भने कतिपय सडकमा खानेपानी र ढलका पाइप फुट्ने समस्याले काम गर्न नसक्ने अवस्था छ ।

तथ्यांकअनुसार काठमाडौं उपत्यकाभरि करिब ९ सय किलोमिटर सडक छ । त्यसमध्ये ५ सय किलोमिटर विभिन्न सरकारी निकाय र सडक स्थानीय तहको जिम्मामा छन् भने करिब ४ सय किलोमिटर सडक विभागले हेर्छ ।

कसरी हुँदैछ काम ? 

सडक विभागले ८ मिटरभन्दा फराकिलो सडक हेर्छ भने त्योभन्दा साना सडक स्थानीय तहले । अहिले ८ मिटरभन्दा फराकिला सडकहरु धमाधम कालोपत्रे भइरहेका छ । कालोपत्रे नभएका सडकमा पनि खाल्डाहरु पुर्ने काम भइरहेको छ ।

सडक विभागको दाबीलाई पत्याउने हो भने फागुन महिनाभित्र काठमाडौंभित्र आफ्नो कार्यक्षेत्रका प्रायः सबै सडकको खाल्डा पुर्ने काम सकिने छ ।

विभागमा महानिर्देशक शर्माका अनुसार यो वर्ष पानी परेर समस्या भएको बाहेक हरेक दिन निर्धारित कामहरु रोकिएका छैनन् । मर्मतको कामलाई जोडबलका साथ अघि बढाए कै कारण हिउँदमै सडकहरुको अवस्था राम्रो बनाउन सकिएको उनको भनाइ छ ।

फागुनसम्म जसरी पनि काठमाडौंका सडकलाई नयाँ रुप दिने विभागको प्रतिवद्धताअनुसार काम भइरहेको शर्माले बताए ।

तथ्यांकअनुसार विभागले यो वर्ष मात्रै १० हजारभन्दा बढी खाल्डा पुरेको छ । अघिल्ला वर्षहरुमा वर्षायाममा खर्च हुने बजेटलाई यो वर्ष हिउँदमै परिचालन गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता शिवहरि सापकोटा बताउँछन् ।

यो वर्ष सडक मर्मतका लागि सडक बोर्डबाट करिब ६ अर्ब बजेट प्राप्त भएको थियो भने सरकारले पनि थप बजेटको व्यवस्था गरेको थियो । त्यसमध्ये करिब डेढ अर्ब रकम काठमाडौंको सडक सुधार्न खर्च गर्ने योजना छ ।

राती सडकमा भइरहेको कामको निरीक्षण गर्दै महानिर्देशक शर्मा

सडक विभागले विगतका वर्षमा सडकहरुको आवधिक मर्मत गर्न खासै चासो दिएको थिएन । यो वर्ष भौतिक पूर्वाधार मन्त्रालयको पहलकदमी र विभागको सक्रियतामा बजेटमै विगतको भन्दा केही बढी बजेट व्यवस्थापन भएको थियो ।

अर्थमन्त्री युवराज खतिवडाले विभागप्रति विश्वास देखाएरै मर्मतका लागि इतिहास कै बढी बजेट दिएका थिए । यो वर्ष विभागले मर्मतका लागि साउनबाटै ठेक्का प्रक्रिया सुरू गरेको थियो ।  अहिले उपत्यकाका कालोपत्रे सडकहरुमा ‘ओभर-ले’ थप्ने काम भइरहेको छ ।

यसले अबको ४ वर्ष सडक चुस्त अवस्थामा रहने विभागका महानिर्देशक शर्मा बताउँछन् । सडकको आयु बढाउन यसरी थपिएको कालोपत्रले सहयोग पुग्ने तर्क विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment