+
+
Shares
सुदुरपश्चिमको व्यथा :

‘कोरोनाको डरले आफ्नै देश फर्की आएँ’

सीमा क्षेत्रमा लापरबाही हुँदा संक्रमण भित्रने खतरा

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७६ चैत ७ गते २१:२६

७ चैत, कैलाली । कञ्चनपुर पुर्नवास–९ का रमेश बिक रोजगारीका लागि भारत गएको धेरै समय भएको थिएन । होटेलमा काम गर्दागर्दै उनी भागेर स्वदेश फर्किएका छन् ।

बीचमै काम छोडेर स्वदेश फर्केका बिक भन्छन्, ‘त्यहाँ कोरोनाको महामारी होलाजस्तो भयो, अनि आफ्नै देशमा फर्किएँ ।’

अब कोरोना नरोकिएसम्म भारत नजाने उनले योजना सुनाए ।

भारतको मुम्बइबाट सुर्खेततर्फ जाँदै गरेका प्रकाश धानुकले भने, ‘दुनियाँ डराइरहेको छ, हामी नडराउने भन्ने हुँदैन । त्यसैले म फर्किएँ ।’

धानुकले भारतमा भयावह हुने अवस्था देखेको भन्दै उच्च सुरक्षा सावधानी नअपनाए नेपालमा पनि ठूलो संकट आउन सक्ने बताए ।

महाराष्ट्रबाट स्वदेश फर्किएका खड्क सिंहले अनलाइनखबरसँग भने ‘त्रासमा बाँच्नुभन्दा त घर फर्किनु उत्तम लाग्यो, अनि हामी नेपाल फर्कियौँ ।’

भारतको गुजरातबाट शुक्रबार अत्तरिया आइपुगेका जितु रावल पनि त्यहाँ उच्च जोखिम देखेपछि घर फर्किएको बताए । ‘त्यहाँ सार्वजनिक ठाउँमा पनि सरकारले औषधी छर्दैछ’ उनले भने ‘हामीलाई समस्या पनि भयो, त्रास पनि भयो, अनि घर फर्कियौँ ।’

कोरोनाको संक्रमण बढ्न थालेपछि भारतमा रहेका नेपालीहरु थप त्रसित भएका छन् । केही दिन पहिले महाराष्ट्रमा ७५ वर्षीय महिलाको ज्यान गएपछि त्यहाँ रहेका नेपालीहरू थप त्रसित भएर घर फर्किन थालेको प्रकाश धानुकले बताए ।

नेपाल फर्किएका कामदारहरूका अनुसार भारतका विभिन्न राज्यमा कोरोनाको संक्रमण फैलिन थालेपछि व्यापार, व्यवसाय बन्द हुन थालेको छ । कोरोनाले मान्छेको ज्यानसमेत गएपछि त्यहाँ झनै त्रास बढेको छ ।

कोरोना भाइरसको त्रासले उद्योग, कलकारखाना ठूला होटेल सबै बन्द भइसकेको उनीहरू बताउँछन् । त्रासकै कारण भारतमा काम गर्ने अवस्था नरहेको उनीहरुको गुनासो छ ।

भारतका १० राज्यमा कोभिड– १९ का नयाँ संक्रमित थपिएका छन् । भारतको लद्दाखदेखि तामीलनाडुसहितका राज्यमा कोरोना भाइरस संक्रमणका बिरामीहरू थपिएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडका यज्ञबहादुर बोहरा होटलमा काम गर्न कर्नाटक पुगेका थिए । त्यहाँ कोरोनाको त्रास फैलिएपछि घर फर्केको बताउँदै बोहोराले अनलाइनखबरसँग भने, ‘कोरोनाको त्रासले होटेल बन्द हुँदैछ, कामभन्दा ज्यान ठूलो भएकाले घर फर्केको हुँ ।’

मुलुकमा रोजगारी अभाव हुँदा सुदूरपश्चिम प्रदेशका सबैजसो जिल्लाबाट भारतमा रोजगारीका लागि जाने गरेका छन् । नयाँ वर्ष आउँदा केही नेपालीहरु घर फर्किने गरे पनि यस वर्ष भारतमा कोरोनाको त्रास भएपछि ठूलो संख्यामा नेपालीहरु घर फर्किएका हुन् ।

नाकाबाट कोरोना भित्रिने जोखिम

कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक ५ हजारको हाराहारीमा नेपालीहरू भित्रिरहेका छन् ।

त्यहाँको हेल्थ डेस्कमा कार्यरत महाकाली अस्पतालका सिनियर अहेव गौरीदत्त जोशीले हालसम्म ३५ हजार २६४ जनाको स्वास्थ्य परीक्षण गरिएको बताइन् ।

कैलालीको त्रिनगर नाकाबाट दैनिकजसो दुई हजारभन्दा बढी नागरिकहरु नेपाल भित्रिइरहेका छन् । नाकामा हेल्थ डेस्क राखेर आवश्यक सावधानी अपनाउँदा अपनाउँदै पनि भारतबाट संक्रमण नेपालमा फैलने जोखिम रहेको हेल्थ डेस्ककी स्वास्थ्यकर्मी भाग्यश्वी खत्रीले अनलाइनखबरलाई बताइन् ।

‘कोरोना भाइरस संक्रमित व्यक्तिहरु आइहाले समस्या हुन्छ । यो त सरुवा रोग हो, उनले भनिन्, ‘तर, अहिलेसम्म त्यस्ता व्यक्ति यहाँ आएका छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?