Comments Add Comment

कतै भाडामा छुट त, कतै मिनाहा

८ चैत, पोखरा । कोरोना भाइरसले विश्वभरको अर्थतन्त्र संकटमा छ । कोरोनाको संक्रमण नदेखिएको भएपनि सावधानी अपनाउन नेपाल सेमीलकडाउनको अवस्थामा पुगेको छ ।

बजार सुनसान बन्दै गएको छ भने ब्यवासयी हतोत्साही बनिरहेका छन् । यो बेला कोरोना भाइरससँग लड्दै र संकटका बेला एकले अर्कालाई साथ दिने अभियान चलिरहेका छन् ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरूङले चैत महिनाको भाडा मिनाहा गर्ने भएकी छन् । पोखरा वडा नम्वर ६ जरेबरमा उपमेयर गुरूङको जग्गामा रहेको रेस्टुरेन्टलाई चैत महिनाको भाडा मिनाहा गर्ने उपमेयरले घोषणा गरेकी हुन् ।

गुरूङले मासिक ६५ हजार दिने गरी जग्गा भाडामा दिएकी छन् । ‘संकटका बेला एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवता रहन्न । त्यसैले कम्तिमा एक महिनाको भाडा मिनाहा गरेर आफैंबाट सुरूवात गरेकी हुँ’ उपमेयर गुरूङले भनिन्, ‘यो बेला सबै एक भएर कोरोनासँग लड्नेबेला हो ।आफ्नो ठाऊँबाट सहयोग गर्न आह्वान गर्छु ।’

सुपरमार्केटमा भीड, अन्त सुनसान

सरकारले अत्यावश्यक बाहेक अरूबेला घरबाट ननिस्कन आग्रह गरेपछि सुपरमार्केट बाहेक अरू बजार सुनसान बनेका छन् ।

खाद्यन्नको जोहो गर्न सुपरमार्केटहरूमा भीड लागेको छ । भाटभटेनी सुपरमार्केट प्रवेश गर्नेहरूलाई सेनिटाइजर प्रयोग तथा अन्य साबधानीसमेत अपनाइएको छैन ।पोखराका होटल तथा रेस्टुरेन्ट ठप्पजस्तै छन् भने अरू ब्यापारमा पनि भारी गिरावट आएको छ ।

क्बल, ठूला रेस्टुरेन्टहरू बन्द छन् भने तरकारी तथा फलफूलको ब्यापार पनि खस्किएको छ । ‘होटल तथा रेस्टुरेन्टहरू बन्द हुन थालेपछि गोलभेडा लगायतका तरकारी कुहिने भयो । केही दिनअघिसम्म ठिकै थियो’ फेवा एग्रिकल्चर चिप्लेढुंगामा तरकारी बिक्री गर्दै आएकी अस्मिता शर्माले भनिन्, ‘सबैतिर डामाडोल छ ।’

ट्रेड मलले दियो भाडामा ५० प्रतिशत छुट

कोरोनाले असर गरेको भन्दै व्यवसायीहरूले भाडा र बैंकसँग छुट मागिरहेका छन् भने कतिपयले भाडामा छुट गर्ने घोषणा पनि गरिरहेका छन् । पोखराको व्यावसायिक प्रतिष्ठान पोखरा ट्रेड मलले सटर भाडामा विशेष छुट दिने भएको छ ।

कोरोना भाइरसबाट आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायीहरु मर्कामा परेकाले चैत महिनाको मासिक भाडामा ५० प्रतिशत छुट गर्ने निर्णय गरिएको मलका अध्यक्ष विन्दुकुमार थापाले जानकारी दिए ।ट्रेड मलमा ५ सय ३ वटा सटर छन् ।

घर भाडा र बैंक ब्याजमा छुट माग

यसैगरी व्यवसायमा मन्दी आएपछि घरभाडामा विशेष छुट दिन बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराले पनि आग्रह गरेको छ ।

एसोसिएसनका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कम्तीमा एक महिनाको घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो । हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको बताउँदै न्युनतम एक महिनाको भाँडा छुट गरी व्यवसायीलाई राहात दिन पोखरा महानगरपालिका भित्रका घर बहाल लगाउने घर धनी तथा कम्पनीलाई अनुरोध गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठुलो समस्या परेको भन्दै हाल त्रैमासिक बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघको ठहर छ । बैंक ब्याज कम्तीमा ४५ दिन पछाडि तिर्न मिल्ने वातावरण बनाइदिन एसोसिएसनले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment