Comments Add Comment

बालबालिकालाई सुख दिने चक्करमा

‘हामीले यस्तो देख्न पाएनौं, यस्तो खान पाएनौं, यसो गर्न पाएनौं, यस्तो लगाउन पाएनौं’ धेरै अभिभवकले भन्ने गर्छन्, ‘त्यसैले छोराछोरीले मैले जस्तो अभाव झेल्न नपरोस् । मैले जस्तो दुःख सहन नपरोस् ।’

यही बुझाई र सोंचले गर्दा अभिभावकहरुले आफ्ना छोराछोरीलाई भएभरको सुख दिने प्रयास गरे । उनीहरुलाई भोक, तिर्खा, दुःख, अभाव, समस्या, कष्ट अनुभव गर्न दिएनन् । जतिसक्दो सुकिलो मुकिलो राखे । मिठोमसिनो खान दिए । भनेजस्तै लगाउन दिए । खेलाउने, डुलाउने काममा पनि सक्दो सहयोग गरे ।

बालबच्चालाई स्यहार–सुसार गर्नु, पालन–पोषण गर्नु अभिभवकको दायित्व हो । तर, उचित ढंगले । बालबच्चालाई भएभरको सेवा, सुविधा दिएर हुर्काउँदा उनीहरुमा धेरै किसिमको समस्या वा कमजोरी हुनपुग्छ । आमाबुवालाई त थाहा हुँदैन कि, आफ्नो बच्चाले भोलिका दिनमा के समस्या भोग्नुपर्ला ? उनीहरुमा के कस्ता गलत कुरा विकास हुनसक्छ ?

किनभने बच्चालाई सुखसयलमा हुर्काउँदा, सधै हाँसीखुसी बनाउँदा नै राम्रो हुन्छ भन्ने अभिभावकलाई परेको हुन्छ । यद्यपि यसको गलत प्रभाव के पर्न जान्छ भने बच्चाहरु परर्निभर हुनपुग्छन् । उनीहरुले दुःख झेल्नै सक्दैनन् । अभाव सहन सक्दैनन् । कष्ट भोग्न सक्दैनन् । संघर्ष गर्न, श्रम गर्न सक्दैनन् । यही कारण उनीहरु आत्मनिर्भर बन्न सक्दैनन् ।

बच्चालाई सुख मात्र होइन, दुःख पनि सिकाउनुपर्छ । पुगीसरी मात्र होइन, अभाव पनि देखाउनुपर्छ । सुखसयल मात्र होइन, कष्ट र समस्यापनि भोगाउनुपर्छ ।

अहिले आफ्ना बालबच्चाका लागि अभिभावकहरु मरिमेट्ने गर्छन् । आफ्नो दुःख लुकाएर पनि भएभरको सुख दिन खोज्छन् । बच्चाले माग गरेको कुरा तुरुन्त पुरा गरिदिन्छन् । कुनै कुराले बच्चालाई दुःखी बनाउँछ कि भनेर सचेत रहन्छन् ।

बच्चालाई खुसी बनाउनका लागि प्रशंसा गरिन्छ । उनीहरुलाई तारिफ गर्नुपर्छ । खुसी बनाउनुपर्छ भन्ने मान्यता छ । यसले गर्दा उनीहरुको आत्मसम्मान मिल्छ भनियो । सही कामका लागि, सही ढंगले उनीहरुलाई तारिफ गर्नुपर्छ । तर, यसको असर सधै सकारात्मक मात्र हुँदैन । बच्चालाई सबैकुरा पुगिसरी बनाइदिदा, सधै खुसी बनाइरहँदा, सधै तारिफ गरिरहँदा उनीहरुमा गलत भावनाको विकास हुनपुग्छ ।

एक पुस्तकमा लेखिएको छ, ‘जब आमाबुबाले बच्चाको आत्मसम्मान बढाउने चक्करमा हरेक कुरा उनकै मर्जी अनुसार गर्ने छुट दिन्छन्, त्यसले बच्चालाई खुसी दिने होइन । बरु, हरेक कुरा आफु अनुसार हुनुपर्छ भन्ने मान्यता विकास हुनपुग्छ । उनीहरु आफुलाई सर्वोपरी ठान्न थाल्छन् ।’

जुन बच्चालाई अनावश्यक तारिफ गरेर हुर्काइन्छ, उनीहरुले ठूलो भएर समस्याको सामाना गर्न सक्दैनन् । यदि उनले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने, त्यसलाई झेल्ने क्षमता उनीसँग हुँदैन ।

किन यस्तो हुन्छ भने, बाल्यकालमा उनीहरुलाई केवल आफ्नो आवश्यक्ता पुरा गर्न मात्र सिकाइएको छ । त्यसैले ठूलो भएपछि कुनैपनि समस्याको हल गर्ने सामथ्र्य उनीहरुसँग हुँदैन । साथी बनाउने, समस्याको हल गर्ने कुरामा उनीहरुको ढंग पुग्दैन । यस्तो अवस्थामा उनीहरु निराश हुन पुग्छन् । यसले उनीहरुलाई हिनताबोधको सिकार बनाउँछ ।

अब के गर्ने त ? बच्चासँग कस्तो व्यवहार गर्ने ? कसरी उसलाई सही कुरा सिकाउने त ?

बच्चाको आत्मसम्मानमा ठेस पु¥याउनु हुँदैन । तर, यससँगै उनीहरुलाई मेहनत गरेर केही हासिल गर्न पनि सिकाउनुपर्छ । उनीहरुलाई ‘तिमी नै बिशेष हौ’ भन्ने कुराबाट मुक्त राख्नुपर्छ । उसलाई केही गर्न सिकाउनुपर्छ । समस्यासँग जुध्न, हल गर्न सिकाउनुपर्छ । उनलाई अर्काको पनि ख्याल राख्न सिकाउनुपर्छ । यी सबै गर्नका लागि नम्रता आवश्यक हुन्छ ।

बच्चालाई त्यसबेला मात्र तारिफ गरौं, जब उसले वास्तवमै राम्रो काम गरेको छ । कुनै उपलब्धी हासिल गरेको छ । काम गर्ने प्रयास गरेको छ ।

बच्चाले गल्ती गर्छ । स्वभाविक हो । यसको अर्थ यो होइन कि, बच्चाले गर्ने हरेक गल्तीलाई छुट दिनुपर्छ । अर्कोकुरा, बच्चाले गल्ती गर्दैपिछे उसलाई गाली गर्ने भन्ने पनि होइन ।

तर, बच्चाले जानीबुझी कुनै गल्ती गर्छ भने त्यो कुरा उसलाई महसुष गराउनुपर्छ कि, त्यो गलत हो । किनभने त्यस्ता गल्तीहरुमा माफी दिएर पुग्दैन, सुधार आवश्यक हुन्छ । नभए नराम्रो बानीको विकास हुन्छ ।

जस्तो कि, कुनै बच्चाले आफुलाई धेरै जान्ने ठान्छ । यति उसलाई सुधारिएन भने उनमा घमण्ड बढ्छ । दम्भ बढ्छ ।

बच्चाको सबै इच्छाहरु पुरा गर्दै जाने हो भने, त्यसले बच्चाको बानी बिग्रन्छ । उनीहरुले ठान्छन्, मैले जे सोच्छु, त्यो पुरा हुन्छ । बच्चाले मागेका ति सबै कुरा पुरा गरिदिन आवश्यक छैन । बरु, उसको आवश्यक्ता के हो, त्यो भने पुरा गरिदिनुपर्छ ।

अर्को कुरा, बच्चाको मागहरु पुरा गर्नका लागि अभिभावकलाई कति समस्या छ भन्ने कुरा बुझाउनुपर्छ । हरेक कुरा सजिलै उपलब्ध गराउनु हुँदैन । उनीहरुले मागेको कुरा पुरा गर्नका लागि अभिभावकले कसरी पैसा खर्च गर्नुपर्छ, त्यो पैसा कसरी कमाउनुपर्छ भन्ने कुरा बुझाउनुपर्छ ।

उनीहरुलाई यो कुरा महसुष गराउनुपर्छ कि, सोचेजति सबै कुरा पुरा हुँदैन । सबै कुरा ठिकठाक हुँदैन । कहिले काहिँ अभाव हुन्छ, समस्या हुन्छ । त्यस्ता समस्यासँग कसरी जुध्ने भन्ने कुरा सिकाउनुपर्छ । वा अनुभव गराउनुपर्छ ।

यस्तो कुरा नसोच्नुहोस् कि, बच्चाले कुनै झन्झट सामना गर्नु नपरोस् । किनभने त्यस्ता  झन्झटहरुबाट उनीहरुले धेरै कुरा सिक्छन् । झन्झट एवं समस्याको हल स्वयम्लाई खोज्न दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment