Comments Add Comment

भारतसँगको सीमा तत्काल बन्द गर्न नेकपा सांसदको माग

विद्युत महसुल घटाउन सुझाव

९ चैत, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरुले तत्काल भारतसँगको सीमा बन्द गर्न माग गरेका छन् ।

संघीय संसदको राज्यका नीति निर्देशक सिद्धान्तको अनुगमन तथा मूल्यांकन निर्देशक समितिको बैठकमा बोल्दै नेकपाका सांसद पम्फा भुसाल र भीम रावलले एकतर्फी रुपमा भए पनि भारतीय नाका बन्द गर्नुपर्ने बताएका हुन् ।

‘भारत र नेपालका बीचमा खुला सीमा छ । खेतबाटै आवतजावत हुन्छ । त्यसकारण तत्काल खुला सीमा बन्द गरौं’ आइतबारको समिति बैठकमा सांसद भुसालले सरकारसँग माग गरिन्, ‘निश्चित सीमा तोकेर आवतजावत गर्न दिउँ र आउनेहरुको विशेष निगरानी राख्ने व्यवस्था गरौं ।’

सांसद रावलले भारतले नमाने एकतर्फी रुपमा भए पनि भारतसँगको खुला सीमा बन्द गर्न सरकारलाई सझुाव दिए । ‘खुला सीमा बन्द गर्न नेपालले भारतलाई आग्रह गरेको सुनिएको छ । उसले जवाफ दिएन भनेर हामीले आफ्नो निर्णय नगर्ने ?’ रावलले प्रश्न गरे, ‘यस्तो हुन सक्दैन । सरकारले निर्णय गरोस् ।’

खुला सीमा बन्द नभए भारत हुँदै नेपालमा कोरोनाको महामारी फैलिने उनको चेतावनी छ । ‘ढिलो भयो भने अमेरिकामा र इटलीमा जस्तै ज्यामितीय रुपमा नेपालमा भाइरस फैलिन सक्छ । बेलैमा सरकारको ध्यान जाओस्’ उनले भने ।

चीनको सहयोग स्वीकार गर

सांसदद्वय भुसाल र रावलले चीनले दिने भनेको सहयोग तत्काल स्वीकार गर्न पनि सरकारलाई आग्रह गरे । ‘चीनले दिने भनेको ल्याइहालौं, जनतालाई उपलब्ध गराइहालौं’ सांसद रावलले भने ।

चीनले नेपाललाई कोरोबाटबाट सतर्कता अपनाउन मेडिकल उपकरणदेखि चिकित्सक वा के के चाहिन्छ लिस्ट बनाएर दिन नेपाल सरकारलाई भनेको छ ।

‘छिमेकीले दिन्छु भन्दा लिन हुन्छ । चीनले दिन्छु भनेको ल्याइहाल्न पर्यो’ सांसद भुसालले समिति बैठकमा भनिन् ।

विद्युतको महसुल घटाऊ

नेकपाकी सांसद भुसालले ग्यासको विकल्प विद्युत हुने भन्दै विद्युत प्रयोगमा प्रोत्साहन गर्न माग गरिन् ।

सरकारले विद्युत महसुल घटाएर प्रति युनिट ६÷७ रुपैँयामा झार्नुपर्ने उनको भनाइ छ ।

‘विद्युतमा मिनिमम मुल्य राख्न पर्यो । विद्युत महसुल प्रति युनिट ६/७ रुपैयाँमा झार्न पर्यो । यसो गर्दा ग्यास प्रयोगमा कमी आउँछ र ग्यासकै समस्या भयो भन्न पर्दैन’ भुसालले भनिन् ।

बैठकमा उपस्थित उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले एउटा सिलिण्डर भए पुग्नेले पाँच वटासम्म किनेर राख्दा धेरैले ग्यास पाउन नसकेको बताएका थिए ।

कालोबजारी गर्नेबाट ५७ लाख असुल

मन्त्री भट्टले कोरोनाको त्रासपछि कालोबजारी गर्नेलाई कारबाही गर्दा ५७ लाख रुपैयाँ जरिवाना असुल भएको बताए । कालोबजारी रोक्न गृहमन्त्रालयसँग समन्वय गरेर सादा पोशाकमा प्रहरी परिचालन गरेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment