+
+
Shares

बुटवलमा अलपत्र मजदुरलाई प्रभाकरको पहलमा उद्धार

उद्धार गरिदिनुपर्यो भन्दै मलाई पाँच ठाउँबाट फोन आयो : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत ११ गते १४:०५
बुटवलमा अलपत्र रुकुमका मजदुरहरु । तस्वीर : जनार्दन शर्माको फेसबुक

११ चैत, काठमाडौं । निर्माणाधीन फास्ट ट्रयाकमा काम गर्ने रुकुमको सानीभेरी गाउँपालिका वडानम्बर १ का ३६ जनाको टोली टिपर चढेर सोमबार साँझ घरतर्फ हिँड्यो । तर, रुपन्देहीको बुटवल नपुग्दै उज्यालो भयो । मंगलबार बिहान ६ बजेदेखि लकडाउन सुरु भएको भन्दै चालक त्योभन्दा अगाडि बढ्न मानेन् । बीच सडकमै ओरालिदिएपछि ती मजदुरहरु अलपत्र परे ।

यो खबर रुकुम पश्चिमबाट निर्वाचित सांसद जनार्दन शर्मा ‘प्रभाकर’सम्म आइपुग्यो । ललितपुरस्थित घरमा सेल्फ क्वारेन्टाइनमा रहेका शर्माले प्रमुख जिल्ला अधिकारी महादेव पन्थसँग कुरा गरी उद्धारको पहल गरे ।

कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारले सोमबार रातिबाट निर्णय गरेर मंगलबार बिहान ६ बजेखि देशभर लकडाउन गर्दा कतिपय मानिसहरु बीच बाटोमै अलपत्र परेका छन् । त्यसकै एउटा उदाहरण हो रुपन्देहीको यो घटना ।

नेकपा नेता एवम् पूर्वगृहमन्त्री शर्मा भन्छन्, ‘लकडाउनको निर्णय गरेर सरकारले ठीक गर्यो, तर यो निर्णयसँगै यात्रुहरुलाई बीचबाटोमै अलपत्र पार्न पाइँदैन भनेर सरकारले अर्को सूचना पनि जारी नगर्दा अलि समस्या देखियो ।’

यसरी गरियो उद्धार 

टिपरले बीच बाटोमै छाडेपछि रुकुमका ३६ जना मजदुरहरु बुटवलमा अलपत्र परे । उनीहरुबाट कोरोना सर्ने हो कि भनेर स्थानीयबासी पनि डराए । अप्ठ्यारोमा परेको महसुस भएपछि उनीहरुले आफ्नो जिल्लाको नेता जनार्दन शर्मालाई फोन गरेर जानकारी गराए ।

घटनाबारे शर्माले अनलाइनखबरसँग भने, ‘हामी कहाँ छौं भन्ने पनि उनीहरुलाई थाहा थिएन । मैले तिमीहरुको नजिक कोही स्थानीयबासी छ भने फोन देऊ भनें । उनीहरुले एकजना पसल सन्चालक नारायण पन्थीलाई फोन दिए । नारायण जीले उनीहरुसँग भिडियोमा वार्ता गर्ने व्यवस्था मिलाइदिनुभयो । भिडियोमा हेर्दा त उनीहरु रुकुमका, मेरै चिनजानका रहेछन् ।’

शर्माले उद्धार गर्ने आश्वासन दिँदै प्रमुख जिल्ला अधिकारी महादेव पन्थलाई फोन गरे । पन्थले छुट्टै गाडीको व्यवस्था मिलाइदिएर दाङसम्म पुर्याइदिने वचन दिएको शर्माले बताए ।

‘उनीहरुलाई बुटवलबाट दाङको लमहीसम्म पुर्याउने व्यवस्था भइसक्यो । अब लमहीबाट रुकुमसम्म पुर्याउने गाडीको व्यवस्था मिलाउँदै छु,’ शर्माले भने । त्यसका लागि दाङका प्रमुख जिल्ला अधिकारीसँग समन्वयको कोसिस गरिरहेको शर्माको भनाइ छ ।

रुपन्देहीबाट रुकुमेली जनतालाई सम्पर्क गराइदिएर उद्धारको लागि सहयोग गरेको भन्दै शर्माले पसल सन्चालक पन्थीलाई फेसबुकमार्फत् धन्यवाद दिएका छन् ।

लकडाउनका कारण आफूहरु बीचबाटोमै अलपत्र परेको भन्दै उद्धार गरिदिन भनेर आफूलाई पाँच ठाउँबाट फोन आइसकेको शर्माले बताए ।

‘होलटाइमर भन्ने फिल्म सुटिङ गर्न गएको समूह कैलालीको सुख्खडमा अलपत्र परेछ । विद्युतको सर्वेक्षण गर्न किमांथाका गएको प्राविधिक टोली पनि अलपत्र परेछ,’ शर्माले भने, ‘दाङको दमारगाउँबाट र जोमसोममा ट्रेकिङमा गएका एकजना विदेशी पर्यटक पनि अलपत्र परेकाले उद्धार गरिदिन भनेर मलाई फोन आयो, मैले सकेसम्म सबैको उद्धारको कोसिस गर्न सम्बन्धित सीडीओहरुमार्फत् समन्वय गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?