Comments Add Comment

लक डाउनमा ग्यास सकिए के गर्ने ?

उद्योगी भन्छन् : बजारमा पठाउन सकिँदैन

११ चैत, काठमाडौं । सरकारले सोमबारसम्म भन्दै थियो, ग्यास, खाद्यान्नलगायतका दैनिक उपभोग्य वस्तुहरु धेरै भण्डारण नगरौं, परेका बेला सरकारले हेर्छ ।’

तर सोमबार नेपालमा कोरोना संक्रमणको पुष्टि भएपछि सरकारले मंगलबार विहान ६ बजेदेखि एक हप्तासम्म मुलुक लक डाउन गर्ने निर्णय ग¥यो । सरकारले सबैलाई घरभित्र बस्न आग्रह गरेको छ र पास भएका तथा अत्यावश्यक सेवाबाहेक अरु सवारी साधनमा पनि रोक लगाएको छ ।

त्यसैले अधिकांश पसल बन्द छन् । खाद्यान्न तथा ग्यासका पसलहरु पनि बन्द भएका छन् ।

यस्तो बेला भान्सामा एउटा मात्रै सिलिन्डर राख्नेहरुलाई चिन्ता छ, कतै लक डाउनभित्रै ग्यास सकिने पो हो कि ! कतिपय त ग्यास सकिएर समस्यामा परिसकेका छन् ।

काठमाडौं महानगरपालिका शहरी योजना आयोगमा सञ्चारविज्ञ मोहन बास्तोलालाई मंगलबार विहानै यस्तै संकट आइप¥यो । घरमा खाना पकाउने ग्यास सकियो । डेरानजिकैको ग्यास पसलमा सिलिन्डर र पैसा छाडेको एक हप्ता भइसकेको थियो । त्यो पसल बन्द थियो ।

त्यसपछि ग्यास खोज्दै हिँडे । ६ ठाउँमा सुरक्षाकर्मी चेकजाँच पास गर्दै उनी पेप्सीकोलास्थित एचटीसी ब्रान्डको ग्यासको डिपोमा रित्तो सिलिन्डर बोकेर पुगे ।

तर त्यहाँ पनि डिपो बन्द थियो । पालेले भने–भोलि आउनुस् ।

‘छिमेकीले आफ्नोतिर ल्याएर पकाउँदा हुन्छ भनेपछि विहानको खाँचो टारियो’ उनी भन्छन्, ‘लक डाउनको पूर्ण पालना गर्न तम्तयार छौं । तर अत्यावश्यक वस्तुको सहज उपलब्धताका लागि अलिक निगरानी गर्नु पर्ला कि ?’

सरकारले भने अत्यावश्यकीय सेवा सञ्चालनमा रोक नलगाएको बताएको छ । तै पनि ग्यासका धेरै डिपोहरु बन्द छन् । यसको मार भने सार्वसाधारण उपभोत्तालाई परेको छ ।

तत्काल बजारमा जाँदैन : उद्योगी

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी लक डाउनकै अवस्थामा ग्यास वितरण गर्ने योजना नरहेको बताउँछन् ।

भारतबाट आउने ग्यास बुलेटबाट सिलिन्डरमा भरेर मौज्दातमा राख्ने भन्दै उनले भने, ‘धेरै नै गुनासो आयो भने सरकारसँग समन्वय गरेर डिपोहरु खोल्न सकिन्छ ।’ साथै ग्यास वितरण गर्न सरकारले सहज वातावरण बनाइदिनुपर्ने उनले बताए ।

सरकारले भन्यो–वितरण गर्नू

सरकारले भने ग्यास बोटलिङ उद्योग र त्यससँग सम्बन्धित सेवा बन्द गर्न नपाइने बताएको छ ।

ग्यास ढुवानी गर्ने सवारी साधन नरोक्ने र वितरण पनि जारी राख्ने गरी व्यवस्था मिलाउने निर्णय भएको आपूर्ति मन्त्रालयका प्रवक्ता तथा सहसचि प्रकाश दाहालले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्राहकको भीड नलाग्ने गरी कर्मचरीको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर ग्यासको बोटलिङ, ढुवानी र विक्री वितरण्को प्रवनध मिलाउने निर्णय गरेको उनले जानकारी दिए ।

उनका अनुसार औषधि एवम् जनस्वास्थ्यसँग सम्बन्धित आवश्यक सामग्रीहरु उत्पादन गर्ने उद्योग तथा स्वास्थ्य जीवनसँग सम्बन्धित आवश्यक सामग्री, खाद्य पदार्थ, दुग्धजन्य पदार्थ, पिउने पानीसँग सम्बन्धित उद्योग सञ्चालन गर्न पाइन्छ ।

त्यस्तै अस्पताल तथा चिकित्सा सेवासँग सम्बन्धित उद्योग, इन्टरनेट, सुरक्षा तथा सरसफाइसँग सम्बन्धित उद्योग, पेट्रोलियम पदार्थ तथा ग्याससँग सम्बन्धित उद्योगहरु सुरक्षाका उपायहरू अवलम्वन गरी सञ्चालन गर्न दिने निर्णय नै भएको छ ।

यस्ता उद्योगबाट उत्पादन हुने वस्तु बजारमा लैजान र बिक्री गर्न अवरोध नगर्ने सरकारले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment