Comments Add Comment

कतारबाट आएका युवा धरानमा भेटिए, एकजनालाई टाँडी क्वारेन्टाइनमा पठाइँदै

११ चैत, सुनसरी । चैत ४ गते कतार एयरवेजको विमानबाट काठमाडौं आएका युवा धरान पुगेको थाहा भएपछि नगरबासीमा त्रास उत्पन्न भएको छ । यही विषयलाई लिएर मंगलबार धरान उपमहानगरपालिकाको आकस्मिक बैठक बस्यो ।

कतारमा रोजगारी गरेर फर्केका धरान उपमहानगरपालिका वडा नम्बर ६ निवासी युवकलाई मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनस्थलमा पठाउने निर्णय भएको उपमेयर मञ्जु भण्डारीले बताइन् ।

बाँकी दुई जनासँग भने सम्पर्क गर्ने प्रयास भइरहेको स्रोतले बतायो ।

उनीहरु चैत ४ गते कोरोना भाइरस (कोभिड १९) संक्रमित १९ वर्षीया विद्यार्थी चढेकै विमानबाट आएका हुन् कि हैनन् भन्ने यकिन हुन सकेको छैन । किनभने, अहिलेसम्म स्वास्थ्य मन्त्रालयले युवती सवार विमानको तथ्य लुकाइरहेको । सरकारले सूचना लुकाएकै कारण तीनवटै विमानबाट आएका यात्रुहरु आतंकित भएका छन् ।

चैत ४ गते कतार एयरका तीनवटा फ्लाइट भएका थिए । तीमध्ये एउटामा कोराना संक्रमित युवती चढेकी थिइन्, जो काठमाडौंमा आइसोलेसनमा छिन् ।

वडा नम्बर ६ का व्यक्तिलाई वीपी प्रतिष्ठानमा लगिएको र उनलाई मोरङको टाँडी पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ । तर, वडा नं १६ का एक व्यक्ति कतारबाट आएको खुलेको र उनको खोजी भइरहेको स्रोतले बतायो । त्यस्तै, चैत ४ गते नै कतार एयरवेजको विमानबाट आएका धरान नगरका अर्का व्यक्ति पनि पत्ता लागेको स्रोतले बतायो । उनीहरुलाई पनि क्वारेन्टाइनमा पठाउने तयारी छ ।

यसैबीच धरान उपमहानगरपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले थप सतर्कता अपनाउने निर्णय गरेको छ । बैठकले बुधबारबाट तरकारी बजार समेत बन्द गर्ने र धरानलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको उपमेयर भण्डारीले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment