Comments Add Comment

ओलम्पिकसहित तीन ठूला खेलकुद प्रतियोगिता एक वर्ष पछि सर्‍यो

११ चैत, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक पहिलो पटक तोकिएको मिति भन्दा एक वर्ष पछि सरेको छ ।

विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण यसै वर्ष जुलाई र अगष्टमा जापानमा हुने तय भएको टोकियो ओलम्पिक २०२० एक वर्षको लागि स्थगित भएको हो ।

मंगलबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसी र जापान सरकारले टोकियो ओलम्पिक एक वर्ष सार्न सहमति जनाएका छन् । यसअघि दुवै आयोजकले तोकिएकै समयमा ओलम्पिक आयोजना गर्ने बताउँदै आए पनि कोरोना भाइरसले महामारी रुप लिँदै दैनिक यसको प्रभाव बढ्न थालेपछि ओलम्पिकको भविष्य अनिश्चित बनेको थियो ।

जुलाई-अगष्टमा ओलम्पिक आयोजना भए केही राष्ट्रले खेलाडी नै नपाउने जस्ता धम्की दिन थालेका थिए भने अन्य राष्ट्रले ओलम्पिक सार्न प्रस्ताव गरेको थिए ।

गत डिसेम्बरमा चीनबाट शुरु भएको कोरोनाले अहिले विश्वका करिब १९० देशमा फैलिएको छ भने करिब १४ हजारको यसको संक्रमणबाट मृत्यु भइसकेको छ । टोकियो ओलम्पिकका लागि खेलाडीहरुले तयारीसमेत स्थगित गर्नुपरेको थियो । टोकियो ओलम्पिकसंगै पारा ओलमपिक पनि एक वर्ष पछि सरेको छ ।

मंगलबार जापानी प्रधानमन्त्री सिन्जो अबेले आईओसी अध्यक्ष थोमस बाकसंग टेलिफोन सम्पर्क गरेपछि दुवै पक्ष ओलम्पिक सार्ने सहमतिमा पुगेका हुन् । प्रधानमन्त्री अबेले अब खेलाडीले आफ्नो सुरक्षा र स्वास्थ्यमा ध्यान दिन पाउने र खेलको लागि तयारीको समय पनि मिल्ने बताएका छन् ।

सन् १८९६ मा ग्रिसको एथेन्सबाट शुरु भएको ओलम्पिक प्रत्येक चार चार वर्षको अन्तरमा हुँदै आएको छ । पहिलो पटक ओलम्पिक विजोर वर्षमा हुने भएको छ । यसअघि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्ध भएको थियो । ओलम्पिक स्थगित भएको भने यो पहिलो पटक हो ।

कोरोना भाइरसको संक्रमणका कारण यस वर्ष हुने सबै ठूला खेलकुद प्रतियोगिता अब स्थगित भएका छन् ।

विश्वकप फुटबलपछि ठूलो फुटबल प्रतियोगिता मानिने युरोकप २०२० पनि एक वर्ष पछि सरेको छ । यस्तै दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता कोपा अमेरिका पनि एक वर्ष पछि सरिसकेको छ ।

यसैवर्ष हुने अन्य ठूला खेलकुद गतिविधि तत्कालका लागि स्थगित भएका छन् । केही प्रतियोगिता अनिश्चितकालकै लागि स्थगित भएको छ । युरोपियन फुटबलको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको नकआउट चरणका खेलहरु स्थगित छन् ।

यस्तै च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल पनि तोकिएको मितिमा नहुने गरी स्थगित भएको छ । अब कुन मितिमा हुन्छ भन्ने तय भएको छैन ।

यसैगरी स्पेनको ला लिगा सहित सबैखाले व्यवसायिक फुटबल गतिविधि अनिश्चितकालका लागि स्थगित भएको छ । इंग्ल्याण्डको प्रिमियर लिग अप्रिल अन्तिसम्म स्थगित गरिएको छ । इटलीको सिरी ए अप्रिल ३ सम्म स्थगित छ । यसबाहेक अन्य खेलको प्रतियोगिताहरु कुनै रद्ध नै भएका छन् भने कुनै स्थगित भएका छन् ।

क्रिकेटमा विश्वकै चर्चित धेरैले हेर्ने र ग्लामरस मानिने इन्डियन प्रिमियर लिग आईपीएल पनि तोकिएको समय भन्दा दुई साता पछि सारिएको छ । तर अहिलेकै अवस्थामा आईपीएल पनि हुने नहुने अन्योल छ ।

विश्वभरका स्टार खेलाडीहरु जमघट हुने थलोको रुपमा परिचित आईपीएल अप्रिल १५ बाट शुरु गर्ने गरी सारिएको छ । तर यसको भविष्य के हुने भन्ने अन्योल कायमै छ ।

नेपालमा पनि यही चैतमा हुने तय भएको एभरेष्ट प्रिमियर लिग ईपीएल टी २० क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको छ । जहाँ विश्व क्रिकेटका स्टार क्रिस गेललगायत खेलाडी आउने पक्का भइसकेको थियो । यस्तै विश्वकप छनोट अन्तर्गत एसियाली क्षेत्रका खेलहरु पनि स्थगित भइसकेको छ ।

विश्वभर नै अहिले खेलकुद गतिविधि कोरोना भाइरसकै कारण ठप्प छ । खेलाडीहरु फुर्सदमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment