Comments Add Comment

लकडाउनमा सुनसान चितवन

उल्लंघन गर्ने ७ जनालाई कारबाही

११ चैत, चितवन । कोरोना भाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रण गर्न सरकारले मंगलबारबाट सुरु गरेको एकहप्ते लकडाउनको पहिलो दिन चितवनका सडक र बजार क्षेत्र सुनसान बन्यो ।

पूर्वपश्चिम राजमार्गको मध्यभाग मानिने चितवनको सडकमा मालबाहक सवारी साधान, एम्बुलेन्स र केही मोटरसाइकलहरु चलेका देखिन्थे । मालबाहक सवारी साधानलाई रोकेर कागजपत्र हेरेर मात्रै सडकमा रहेका प्रहरीले छाड्ने गरेका थिए ।

मुख्य बजार क्षेत्र नारायणगढ, चौबीसकोठी, केन्द्रीय बस टर्मिनल, हामिकचोक, पूर्वी चितवनको टाँडी, पर्सा, भण्डारा, मुग्लिन लगायत पश्चिम चितवनका बजार क्षेत्र सुनसान थिए । सडकमा सशस्त्र प्रहरी र जनपथ प्रहरीहरु खटिएका थिए ।

नारायणगढको पुल्चोक स्थित नारायणी नदी पुल नजिक प्रहरीले चेकजाँच गरेर अत्यावश्यक कामका लागि हिँडेकाहरुलाई मात्रै आउजाउ गर्न दिएका थिए । जिल्लाका बजार क्षेत्रका केही औषधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरु खुलेका थिए । कतै कतै किराना पसल पनि खुलेका देखिन्थे ।

पर्यटकीय क्षेत्र सौराहा, पटिहानी, मेघौली लगायतका क्षेत्र सुनसान बने । बिहानपख र साँझपख सडक क्षेत्रतिर भीडभाड नगर्न प्रशासनले अनुरोध गरेको थियो ।

१७ जना पक्राउ, ७ जनालाई कारबाही !

सरकारले आव्हान गरेको लकडाउनको उल्लंघन गर्दै हिँड्ने १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लकडाउनको समयमा सवारी साधन नचलाउने प्रतिबद्धता जनाएका १० जनालाई सचेत गराएर घर पठाइएको छ भने जबरजस्ती गर्न खोज्ने ७ जनालाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

विनाकारण सडकमा निस्किएका उनीहरुलाई स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । सो ऐनमा एक हजार जरिवाना वा एक महिनासम्म कैद उल्लेख छ । तर, आज पहिलो दिन भएकोले जनही एक हजार रुपैयाँ जरीवाना गराएर छाडिएको प्रजिअ भट्टराईले बताए ।

ल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले केही मानिसहरु सडकमा के भइरहेको छ, को-को हिँडेका छन् भनेर हेर्नका लागि निस्कने गरेको बताए । ‘सडकमा आफैं निस्किएर फोटो खिच्ने, अनि उल्लंघन नगरौं भनेर सामाजिक सञ्जालमा म्यासेज राख्ने पनि देखिए,’ डीएसपी कोइरालाले भने, ‘भोलीबाट अझै कम मानिसहरु सडकमा आउँछन् भन्ने विश्वास गरौं ।

यस्तै प्रशासनले जनस्वास्थ्य जस्तो अत्यन्त संवेदनशिल विषयमा सबैलाई एक हप्तासम्म यस्तै संयमता अपनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले साँझ एक सूचना जारी गरी अत्यावश्यक सेवामा प्रयोग गर्ने गरी सवारी पास लिएका सवारी साधान बाहेक अन्य सबैखाले निजी तथा सार्वजनिक सवारी साधान सञ्चालन गर्न रोक लगाइएको जनाएको छ ।

प्रशासकदेखि नेतासम्मको भिडियो सन्देश

लकडाउनको उल्लंघन गर्ने क्रम बढेपछि जिल्लाका राजनीतिक दल, प्रशासक, जनप्रतिनिधीहरुले भिडियो सन्देशमार्फत जिल्लाका बासिन्दालाई घर बाहिर ननिस्कन, सचेत बन्न र नआत्तिन अनुरोध गरेका छन् ।

बिहानपख र साँझपख सर्वसाधारणको भिड सडकमा देखिएपछि सरोकारवालाले भिडियो सन्देश र सन्देशमार्फत घरबाहिर ननिस्कन आह्वान गरेका हुन् ।

चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)चितवनका अध्यक्ष यमबहादुर परियार र नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ लगायतले भिडियो सन्देश प्रवाह गर्दै सरकारले आह्वान गरेको लकडाउनमा सहयोग गरिदिन अनुरोध गरेका छन् ।

उनीहरुले सन्देशमा सरकारको निर्देशनलाई सबैले पालन गरेमा रोग भित्रिनबाट रोक्न सकिने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment